कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ ।वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख केशब कुमार श्रेष्ठले बताए ।
श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले नगरपालिकाले सोमबारदेखि काम सुरु गरेको उनले जानकारी दिए ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक रविन चौधरीले बताए ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो । ‘प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ’ संयोजक चौधरीले भने, ‘आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाइनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने व्यवस्था छ ।’
श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइएकाले सहज भएको वडा नं १ का रवि जिसीले बताए ।
वैदेशिक रोजगारीका लागि दुवई जान लागेका उनले नगरपालिकाबाट पुनः श्रम स्वीकृति लिने उनी पहिलो व्यक्ति हुन् ।






