घुम्न, नयाँनयाँ ठाउँ हेर्न, नयाँ अनुभव संगाल्न सानैदेखि मन पराउने मान्छे हुँ । यस्ता स्मरण संगाल्न नपाएको लामो समय भएको थियो । विवाहपछि रमाइलोसँग घुम्न व्यावहारिक कारण पाइएको थिएनँ । अझ पारिवारिक घुमघाम त झनै गरिएको थिएन । कामको चाप, ताप, व्यस्तता सबै यसका कारण थिए । कहीँ जाँदा पनि सँगै जाने घुम्ने अवसर मिलेकै थिएन ।
छोरी हुँदा जति घुमेको थिएँ बुहारी भएपछि नयाँ अनुभवसहित सायद घुम्न पाएको थिइन । आमा भएपछि धोको पु¥याएर घुमें छोरीहरूसहित । अचेल विवाहपछि धेरै हनिमुन मनाउन हिड्छन त्यो अनुभव मैले गरिनँ । अहिले पनि लाग्छ ‘त्यो समय कस्तो हुन्छ होला ?’ छोरीहरूसँग कहिलेकाँही माइती मावली गएको अनुभव भए पनि सबै परिवारसँगै घुमेको सायदै छैन ।
नयाँ वर्षको पहिलो दिन हामी पूर्वी नेपालको यात्रामा गयौं । छोरीहरूको अन्तिम परीक्षाको छुट्टी । उनीहरू खुसी थिए । उनीहरूको छुट्टी मनाउने रहर, हाम्रो नयाँ ठाउँ पुग्ने, धार्मिक यात्रा पनि थियो हाम्रो । दुई जना छोरी, दुई जना भान्जीसहित दाजुबहिनीका परिवारको यात्रा स्मरणीय नै रह्यो ।
हाम्रो यात्रा सिन्धुलीमाढीबाट भएको थियो । मदनभण्डारी राजमार्ग हँुदै हामी पूर्वी नेपालको यात्रामा लाग्यौं । काम, तनाव थाँती राखेर थालिएको यात्राका क्रममा उदयपुर र सुनसरीको सिमानामा सप्तकोसीमा पुगियो । सप्तकोसीमा बिहान करिब ९ बजेतिर पुगिएकोे थियो । सप्तकोसीको हावाको वेगसँगै युवराज भाइ, नवराज ज्वाईं, छोरी तितिक्षा, कृतिक्षा, श्रीमान द्वारिकाजीलगायतले फोटो खिच्यौं । अनि त्यहाँबाट यात्रा सुरु गरियो ।
सप्तकोसीको हावाको वेगले विद्युत् उत्पादन हुन सक्ने अनुमानसहित हामी पूर्व लाग्यौं । धरानमा पुग्यौं । नयाँ वर्ष थियो भोक लागेको थियो तर खाना खाने होटलसमेत पाउन सकस थियो । पूरै धरान बजार घुम्यौं नयाँ वर्ष लागेका कारण खाना कतै पनि पाइएन । बसपार्कनजिकै एउटा होटलमा खाना बनाउन लगायौं । खाना खायौं । घण्टाघर नजिकै फोटो खिच्यौं र पूर्व लाग्यौं ।
इटहरी हुँदै हामी झापाको दमकको यात्रा तय ग¥यौं । बहिनी (नन्द) विमला र भान्जीहरू नुना, नेन्जेलिया नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय सम्मेलनमा पहिले नै जानुभएकाले त्यतै हुनुहुन्थ्यो । त्यहाँ पुगेर उहाँहरूलाई लिएर हामी इलामतर्फको यात्रा सुरु ग¥यौं ।
छोरी हुँदा जति घुमेको थिएँ बुहारी भएपछि नयाँ अनुभवसहित सायद घुम्न पाएको थिइनँ । आमा भएपछि धोको पु¥याएर घुमें छोरीसहित ।
दमकदेखि पूर्व लागेपछि साँच्चिकै त्यताका नागरिक निकै जाँगरिला लाग्यो । उत्पादनसँग जोडिएका देख्यौं । झापामा देखिएका चियाबगान, सुपारी खेती देख्दा साँच्चिकै गौरव लाग्ने थियो । जुन निर्यातमुखी व्यवसाय थियो । आर्थिक समृद्धिको यात्रा तय गर्न यस्तै उद्यमीको आवश्यकता छ भन्ने महसुस हुन्थ्यो । हामी गाडीबाटै हेर्दै यात्रा गरिरहेका थियौं । जब इलामको यात्रा सुरु भयो ।
बाइक गाडीहरू लस्कर लाएर आउँदै थिए । साँघुरो साँघुरो सडक भए पनि सबै पिच (कालोपत्रे) थियो । इलामको चिया बगान कन्याम पुग्दासम्म त्यो लस्कर थियो । नयाँ वर्ष मनाउन कन्याम पुगेर फर्कनेको लस्कर साँच्चिकै लोभलाग्दो थियो । अझ कन्याम पुगेपछि त गाडी राख्ने र हेर्ने ठाउँको समेत अभाव देखियो । भिडभाडका कारण खासै घुम्ने ठाउँ भएन । एकाध फोटो खिचेर हामी पाँचथरका लागि हिड्यौं ।
पाँचथर जाँदा इलामका धेरै ठाउँको अवलोकन गर्दै गयौं । चिया, पूmलका नर्सरी, दूधबाट बनेका छुर्पीलगायतका उत्पादन बाटैभरि देखिए ।
मनै लोभ्याउने फूलैफूल
जब हामी झापाबाट उत्तरतर्फ लागेका थियौं । त्यसपछि प्रायः घरमा फूल फूलेका थिए । इलाममा पुगेपछि त झनै त्यो मात्रा बढ्यो । सानादेखि ठूला थरीथरीका फूल नहुने घरै नहुने । कतिपय फूलका जात त हामीले देखेकै रहेनछौं । फूलको सोख मलाई पनि भएकाले होला मेरो नजर त्यतै थियो । हरेक घरमा पसौं र बसौं लाग्ने । कतिपय घरहरू झुपडी नै भए पनि सुन्दर देखिने । फूलका लागि गमला नै चाहिन्छ भन्ने पनि छैन, ठूला र महँगा घर चाहिन्छ भन्ने पनि छैन । इलाम, पाँचथर र ताप्लेजुङको फुङलिङसम्मै फूलका दृश्यमा रमाउँदै गयौं ।
नानीहरूका जिज्ञासु प्रश्नको सकेसम्मको जवाफ दिँदै हामी राति करिब ५ सय किलोमिटर लामो यात्रा सकेर पाँचथरको फिदिममा पुग्यौं । पत्रकार लवदेव ढुंगानाले होटल बुक गर्नुभएको थियो । बाटिका होटलमा पुगेर राति बास बस्यौं । भोलिपल्ट बिहान ६ बजे त्यहाँबाट पुनः ताप्लेजुङको यात्रा तय भयो । बिहानको खाजा हामीले पाँचथरको जोर पोखरीमा गएर खायौं । जोर पोखरीमा खाजासँगै फोटो खिच्यौं र लाग्यौं फुङलिङतर्फ ।
हामी सबैका लागि (ड्राइभरसमेत)का लागि पाँचथर ताप्लेजुङको यात्रा नयाँ थियो । यो यात्रामा सहज बनाउने काम पत्रकार साथीहरूको थियो । उहाँहरूसँगको समन्वयमा हामी अगाडि बढेका थियौं । ताप्लेजुङ पत्रकार महासंघका अध्यक्ष आनन्द गौतम, प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य खगेन्द्र अधिकारी र राजधानी दैनिकका सहकर्मी मित्र सुवास आचार्यको सहयोग हाम्रा लागि महत्वपूर्ण थियो ।
ताप्लेजुङको फुङलिङको होटलमा हामीले खाना खायौं । साथीहरूसँग भेटघाट ग¥यौं । त्यहाँबाट सहजै पाथीभरा कसरी पुग्न सकिन्छ भनी सल्लाह लियौं । सामूहिक फोटो खिच्यौं । नानीहरूलाई गाडी लागेको थियो । उनीहरूलाई स्वास्थ्यमा सामान्य समस्या आएको थियो । तातोपानी, कागती खुवायौं, खाना खुवायौं र केही औषधि किनेर अगाडि बढ्यौं ।
अविस्मरणीय पेसागत माया
पेसागत हिसाबले हामी दुवै (श्रीमान, श्रीमती) जना पत्रकार । हाम्रो पेसामा एकले अर्कालाई सहयोग गर्ने, सम्मान गर्ने परम्परा छ । त्यो परम्परा पछिल्लो समय राजनीतिक उतारचढावले केही विकृत बनेको छ । कुन राजनीतिक आस्था नजिकको हो सोहीअनुसार सहयोग असहयोग गर्ने चलन पनि बढ्न थालेको छ । पेसागत मर्यादा र सद्भाव बिर्सेर पेसागत मुद्दामै विभाजित भएका केही उदाहरण पनि केन्द्रदेखि नै अगाडि आएका छन् तर ताप्लेजुङ र पाँचथरमा त्यस्तो पाइएन । पेसागत सम्बन्धका आधारमा उहाँहरूले हामीलाई भरपुर सहयोग गर्नुभयो ।
हाम्रो यात्रालाई गाइड गर्नुभयो । त्यतिबेला साँच्चिकै आफ्नो पेसाप्रति गर्व महसुस भयो । हामी अगाडि बढ्दा पत्रकार साथीहरूको सल्लाहमा हामी अगाडि बढ्यौं । सुकेटार बजार पुग्यौं । सुकेटार बजारबाट काफ्लेपाटीसम्म हाम्रो गाडी जान नसक्ने भयो । हामीले पुनः नेपाल पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमसँग समन्वय ग¥यौं । त्यहाँबाट गाडी खोज्न सहयोग पायौं । काफ्लेपाटीसम्मको १२ किलोमिटर धुले सडकमा हामी जिपमा गयौं । त्यो बाटो पनि पिचका लागि टेन्डर भइसकेको र काम सुरु भएको रहेछ । अब हाम्रो अप्ठ्यारो भूगोलको यात्रा सुरु भएको थियो ।
काफ्लेपाटी (सानो फेदी)मा हामीले पाथीभरा मन्दिरमा पूजा गर्न केही प्रसादी तथा पूजा सामग्री किन्यौं । त्यही पसलमा हामीलाई टेक्ने लठ्ठी दिइएको थियो । झोला बोकेर, लठ्ठी टेकेर पाथीभरा जाने उकालोको पदयात्रा सुरु गरियो । हामी १० जना थियौं ।
जन्मँदै, हुर्कंदै उकालो ओरालो गरेका, भारी बोकेका हामीलाई पनि यो यात्रा अलिक नौलो लागेको थियो । नानीहरूलाई त झनै नौलो लाग्ने नै भयो । केही उत्साह, केही लेक लाग्ने डरसँगै झोला बोकेर उकालो पदयात्रा सुरु भयो । झन्डै ३ किलोमिटर उकालो चढ्यौं । लालीगुराँस, पहाड हेर्दै, पाथीभराबाट फर्केका तीर्थालुहरूसँग कुराकानी गर्दै हामी अगाडि बढेका थियौं । कोही सजिलै पुगिन्छ भन्दै थिए, कोही सचेतता अपनाउन भन्थे, कोही निक्कै गाह्रो भएको अनुभव बाँड्दै थिए ।
पत्रकार साथीहरूको सल्लाह नै हाम्रा लागि विश्वासयोग्य लागिरहेको थियो । उहाँहरूले नै ठूलोफेंदीमा पुगेर बस्न सल्लाह दिनुभएको थियो । बासका लागि होटलसँग समन्वय गर्दै फोटो खिच्दै रमाउँदै उकालो यात्रा ग¥यौं । दुई अढाइ घण्टा लाग्यो होला हामी मुना होटलमा पुग्यौं । त्यहाँ त होटलका पनि नम्बर हुने रैछन् । मुना होटलकी सञ्चालक मुनाको फलोअप, माया, सद्भाव र सहयोगको मिठासले हाम्रा खुट्टा दुख्न कम भएका थिए, थकाइ कम भएको थियो ।
पत्रकार आनन्दजी हाम्रो स्वास्थ्य, दुःख सुखमा फलोअप गरिरहनुभएको थियो । खान, बस्न, हिँड्न साह्रो गाह्रो भयो कि भनेर । साँझ भेडीगोठ हेर्न गयौं । भेडीगोठमा ताल्चा लगाइएको थियो । भेडा थिएनन् । डाँडापट्टि गएर फोटो खिच्यौं र होटलमा फर्केर खाना खाएर सुत्यौं । भोलि बिहान ३ बजे नै उठ्यौं । होटलवालाले पानी तताइदिएर केहीले नुहायौं, केहीले हातगोडा धोएर कपडा फेरेर ५ बजे पाथीभराको यात्रा तय गरियो ।
सन्तानको माया
उकालो लाग्ना साथ कान्छी मन्दिरमा पूजा आराधना गरियो । पूजा गरेपछि उकालो के लागेका थियौं । ठूली छोरी तितिक्षा, भान्जी नुना बिरामी परे । रिंगटा लाग्ने, बान्ता गर्ने भयो । त्यो सँगै मैले पनि बान्ता गरें, रिंगटा लाग्यो । सानी छोरी खुट्टा दुख्यो भनेर उकालो नचढ्ने भइन् । बोकौं बोक्न सक्ने अवस्था छैन । छोडेर आफंै मात्र जान मनै लागेको छैन ।
नानीहरूलाई द्वारिका जी, विमला बहिनी र ज्वाइँले होटलमा लिएर आउनुभयो । म पछिपछि सानी छोरी कृतिक्षालाई बोकेर ओरालो झरें । त्यतिबेला लाग्दै थियो कि सन्तान पहिला कि आपूm ? न सन्तान छोड्न सकिने, न बोक्न सकिने । अब सास फेर्ने अन्तिम नै हो कि जस्तो भयो । मुटु फुट्ला जस्तो भयो । खुट्टा नै लागेन तै पनि सन्तानको मायाले होटलसम्म ल्यायो । होटलमा झरेपछि सानीलाई लिएर उकालो चढ्ने मलाई आँटै आएन ।
नानीहरूलाई सँगै लिएर जान थप बिरामी पर्लान् कि भनेर मनले मानेन । बिरामी नानीलाई आगोमा सेकायौं । तातोपानी खुवायौं । केही आराम महसुस गरेपछि तीन जना नानीलाई होटलमै छोडेर फेरि उकालो लाग्यौं । उकालो लाग्नुअघि मैले तातोपानी खाएँ । त्यतिञ्जेल म अलिक ठीक भइसकेकी थिएँ । लठ्ठी टेक्दै विस्तारै उकालो लागें ।
उकालो चढ्न सकस थियो । चढ्नुपूर्व ठूलो फेदीमा लेक लाग्दा के गर्ने ? कसरी सुरक्षित यात्रा गर्ने भन्ने’bout बोर्ड पढेको थिएँ । सोहीअनुसार विस्तारै उकालो लागें । सचेतता अपनाउँदै विस्तारै अगाडि बढियो । अरू अलिक स्वस्थ भएकाले अलि छिटो हिडे म विस्तारै । जति उकालो चढ्दै थियौं उत्ति नै गाह्रो महसुस भएको थियो । मन्दिर पुग्न करिब १ किलोमिटर जति बाँकी थियो होला ठाडो उकालोमा आफ्नै मुटु फुट्लाजस्तो सकस भयो ।
यति सकस कि पाइला अगाडि नै बढेन । रोकिँदै, रोकिदै दुई पाइला अगाडि, एक पाइला पछाडि गर्दै उकालो चढें । भुटेको मकै, अदुवा खाँदै अगाडि बढियो । जब ५ सय मिटरनजिक पुगेका थियौं अत्यधिक सकस भयो । मलाई कुर्दै कुर्दै हाम्रो टिम अगाडि बढिरहेको थियो । मन्दिरको गेटनजिक पुगेपछि प्रतीक्षालयमा आराम गरिरहेका थियौं । बहिनी (नन्द) बिरामी हुनुभयो ।
मन्दिर पुगेपछि स्वर्ग नै पुगेको अनुभूति भइरहेको थियो । माथि पुग्दा नानीहरूलाई लान नसक्दाको पछुतो भइरहेको थियो । मन्दिरमा पुगेर पूजाआजा ग¥यौं । त्यहाँको अर्को विशेषता मन्दिरमा जुत्ता लगाएरै पूजा गर्न मिल्ने रैछ । पुजारी समेतले जुत्ता लगाएको देख्यौं । सायद हिमाल, हिउँ परिरहने ठाउँ भएर होला ? हामीले जुत्ता खोलेर पूजा ग¥यौं ।
पुजारीको आशिष लियौं । त्यहाँको प्रसाद मनलाग्दी लिन पाइने रहेछ । हामीले केही सिक्का, अक्षता, फूलपाती र माला, चुरापोते प्रसादका रूपमा लियौं । त्योभन्दा माथिल्लो डाँडामा पुग्यौं । त्यहाँ अर्को मन्दिर रहेछ । त्यहाँ लिम्बुहरूले पूजा गर्दा रहेछन । जनजाति पुजारी थिए । उनले अनुहार हेरेकै भरमा हाम्रो ’boutमा पहिचान गरे ।
हामी फोटो सेसन सकेर फर्कियौं । बीच बाटोमा आइपुग्दा नानीहरू उक्लदै थिए तर फर्केर नानीहरूलाई मन्दिर लाने आँट हामीसँग आएन र तलै झ¥यौं । खुट्टा ननुध्ने ओरालो लठ्ठीकै भरमा फर्कियौं ।
किलोमा मान्छेको मूल्य र ट्याक्सी
त्यहाँको नयाँ लागेको चिज भनेको ट्याक्सी हो । मान्छे बोक्ने मान्छेलाई त्यहाँ ट्याक्सीभन्दा रहेछन् । बोकिनेलाई यात्रु । ट्याक्सीले प्रतिकिलो १ सय रुपैयाँको दरले मान्छेलाई बोक्दो रहेछन् । दुईतर्फी नै बोक्नुपरेमा २ सय रुपैयाँ किलो । उनीहरू बिरामी परेका मान्छेको उद्धार पनि गर्दा रहेछन् । ठूलो फेंदीमा प्राथमिक स्वास्थ्य केन्द्र पनि राखिएको थियो । प्रायः समय त्यो केन्द्र खुला रहने रहेछ । सुरक्षाकर्मीहरूको पनि व्यवस्था देखियो ।
मन्दिर व्यवस्थापन समितिले ४ सय जना त्यस्ता ट्याक्सीको व्यवस्था गरेको रहेछ । उनीहरूलाई परिचयपत्र समेतको व्यवस्था गरेको देखियो । उनीहरू मान्छे बोकेर फटाफट हिँडेको पाइयो । सायद त्यहाँको हाई अल्टिच्युट पचाइसकेका थिए ।
हामी फर्केर मुना होटलमा आएर खाना खायौं र ठूलो फेंदी छोड्यौं । विस्तारै काफ्लेपाटी आयौं र सार्वजनिक गाडीमा सुकेटार फर्कियौं । गाडीमा चढ्यौं । बाटोमा आउँदा आउँदै ड्राइभर बिरामी परे । उनलाई औषधि खुवाउँदै पुनः पाँचथरको फिदिममा आएर पहिलेकै होटल बाटिकामा बास बस्यौं ।
अर्को दिन बिहान ६ बजे त्यहाँबाट यात्रा तय भयो । इलामको कन्याममा कल्चरल ड्«ेसमा फोटो खिच्ने नानीहरूको रहर पूरा गर्दै घर फर्कियौं । यो यात्रा हाम्रा लागि अति नै महत्वपूर्ण र अविस्मरणीय रह्यो ।






