आमाबुबाका गुरुमा

सरिता दाहाल

बालबालिकाका पहिलो गुरु अभिभावकलाई मानिन्छ । समय यस्तो पनि आउँदोरहेछ, आफ्नो सन्तान नै ‘गुरुआमा’ बन्ने । उदाहरण हुन्, मकवानपुर मनहरी गाउँपालिका–४ ट्वाङ्ग्राकी सन्तोषी बनकरीया । २०५२ सालमा जन्मेकी उनी आमा माया वनकरीया र बुबा सानु वनकरीयाको पाँचमध्ये माइली सन्तान हुन् । बाल्यकाल अभाव र फोहोरमैलोमै बित्यो । बुझ्ने भएदेखि आफ्नो समुदायको दुःख र संघर्ष मात्रै देखेकी सन्तोषी अब यो समुदायलाई अन्य समुदायस्तरमा ल्याउने सपना साकार पार्न लागिपरेकी छन् । हर बिहान उनको एकै प्रार्थना हुन्छ, ‘मेरो समुदायको आमाबुबाहरूलाई साक्षर तथा भाइबैनीहरूलाई देशको अब्बल नागरिक बनाउन सकुँ ।’

आफ्नो समुदायको भाइबहिनी स्कुलमा अरुसामु अब्बल बनुन् भनेर हर बिहान अतिरिक्त कक्षा सञ्चालन गर्छिन, उनी । बिहानी कक्षा सकेर भाइबहिनी स्कुल दौडन्छन् । अनि सन्तोषि थोरै समय आफ्नो लागि खर्चिन्छिन् । यो समय उनको प्राथमिकतामा पर्छ, कृषि कर्म । उनी वनकरीया समुदायको पहिलो कृषि जेटीए हुन् ।

अथाह इच्छा र सपना सजाएर जेटीए पढेकी उनी अवसर आउँदासमेत वनकरीया बस्ती छाडेर अन्यत्र जान चाहँदिनन् । दिउँसोको समय कृषि कर्म सकेपछि उनी केही बेर कम्प्युटर सीप र अंग्रेजी भाषा शिक्षा सिक्न सदरमुकाम हेटौंडा आइपुग्छिन् । साँझ हतारहतार लाग्छिन्, अभिभावक कक्षातिर । बिहानी २६ भाइबहिनीलाई अतिरिक्त कक्षामा पढाउने सन्तोषीले साँझ पनि २६ आमाबुबालाई कखरा सिकाउँछिन् ।

‘मैले उहाँ (अभिभावक)हरूबाट धेरै सिकें, म सिर्फ उहाँहरूलाई अक्षर सिकाउँदै छु,’ सन्तोषी भन्छिन्, ‘जीवन सिकाइ र संघर्ष हो, उहाँहरूले नजानेर गर्नु भएको गल्ती सच्याउने ठुलो धोको छ ।’ उनले भन्न भन्न खोजेको ‘गल्ती’, वनकरीया वस्ती बासस्थान’bout हो ।

अघिल्लो पुस्ताले अक्षर नचिनेकै कारण अहिलेको पुस्ता बेघरबार हुने अवस्थामा पुगेपछि सन्तोषीको अभियान अक्षर चिनाउनेतर्फ सोझिएको हो । आफ्नो समुदायका आमाबुबाहरूलाई प्रौढ शिक्षा पढाउन उनले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चबाट सहयोग मागिन् र अहिले सोही निकायको आर्थिक सहयोगमा बालबालिका र अभिभावकलाई नियमित पढाउँछिन् । बुबाआमालाई कम्तीमा नेपाली अक्षर सरर पढ्न÷बुझ्न र हस्ताक्षर गर्न सक्ने बनाउने ठुलो धोको छ, उनको । ‘मेरो सबै समय रुटिङमा चल्छ, बिहान बालकक्षा, दिउँसो कृषि कर्म, कम्प्युटर र भाषा कक्षा, साँझ प्रौढ कक्षा, अनि राति आफ्नो अध्ययन,’ उनी भन्छिन् ।

मकवानपुर मनहरी ट्वाङ्ग्राका वनकरीया महिला तथा पुरुष पर्सा वन्यजन्तु आरक्षमा झाडु, कुचो, निहुरो खोजेर संकलन गरेर बेच्छन् र यसैबाट दैनिकी गुजारा चलाउँछन् । आरक्षले पनि बेलाबेला दुःख दिन्छ, परपर पुग्दा जनावरको पनि भय हुन्छ । डरैडर र कष्टकर जीवन बिताउन बाध्य वनकरीया समुदायलाई अभावको दलदलबाट उठाउने सन्तोषीको रहर छ । दीगो आम्दानीको स्रोत र वासस्थानका लागि उनको लडाइँ वर्षौंदेखि जारी छ । जब उनले थाहा पाइन कि वनकरीया बस्दै आएको हालको वस्ती २०६२ सालमा कबुलियती वन क्षेत्रमा २० वर्षका लागि मात्रै बस्ने इजाजत दिइएको रहेछ । त्यसपछि उनको लडाईं समुदायको दीगो वासस्थान दिलाउनतर्फ मोडियो । कक्षा ९ मा पढ्दै गर्दा आफूहरू बसेको वस्ती ‘केही समयपछि सरकारको हुन्छ’ भन्ने थाहा पाइन् । त्यसपछि उनको जीवनको एउटै उद्देश्य रह्यो, आफ्नो अभिभावकबाट अञ्जानमा भएको गल्ती सच्याएर भावी पुस्ताका लागि स्थायी थलो बनाउने ।

‘प्राविधिक शिक्षा लिएको छु, अवसरहरू आएका थिए, तर वस्ती छोडेर व्यक्तिगत विकासतर्फ मन मोडिएन,’ उनले भनिन्, ‘मैले कृषि जेटीए पढें, अहिले आफैंले बीउ ल्याएर बिरुवा उत्पादन गर्छु, यहाँका आमाबुबाले बजारबाट बिरुवा किनेर महँगो मूल्य तिर्नुपरेको छैन ।’

वनकरीया समुदायनको नेतृत्व गरेकै कारण उनी विभिन्न सामाजिक संस्थाबाट सम्मानित भइसकेकी छन् । ‘जीवन यात्रा रहेछ, जति हिँड्न खोज्यो उति लडिनेरहेछ, तर हार्नु हुँदैन भन्ने सिकाइ पाएकी छु,’ सन्तोषी भन्छिन् । यात्राका अप्ठ्यारा राम्रोसँग चिनेको बताउँछिन्, उनी ।

‘हाम्रो समुदायमा आउने विदेशी पाहुनासँग कुराकानी गर्न समस्या भएकै कारण अहिले अग्रेजी भाषा सिक्दै छु, एकपटक विदेश जाने रहर पनि मनभरी छ । तर यो वस्तीको टुंगो नलागुञ्जेल कहीँ पनि जादिनँ,’ उनको अठोट छ ।

‘हामीले बस्दै आएको स्थान २० वर्षका लागि मात्रै दिइएको रहेछ, कबुलियती वन २० वर्षपछि छोड्ने छौं भनेर हाम्रा बा, हजुरबाहरूले ल्याप्चे लगाउनुभएको रहेछ, अब हामी चाँडै बेघरबार हुनेवाला छौं, यही सम्झेर निद्रा लाग्दैन,’ उनले भनिन्, ‘उहाँहरूले पढ्नु भएको भए, त्यस्तो सर्तमा ल्याप्चे त पक्कै लगाउनु हुन्नथ्यो होला नि ! कहाँ जाने, के खाने भन्ने नहोस् र जहाँ बसे पनि वनकरीयाको एउटै वस्ती होस् भन्ने इच्छा छ । अहिले हाम्रो वस्तीमा ८९ जनसंख्या छ । महिला ४६ जना छन् । हाम्रो, भाषा, संस्कृति र पहिचान बचाइराख्न पनि सबैको एकै वस्ती हुनु जरुरी छ ।’

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ