कुरिनटार । सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा ंसंख्या बढाउँदै लगेको हो ।
सशस्त्र प्रहरीका २५ जना कर्मचारीले यूएनडीपीको सहयोगमा पहिलोपटक ३१ वैशाख २०६९ देखि तीन महिना बंगलादेशबाट गोताखोरको तालिम लिएका थिए । उनीहरूले तालिम लिएपछि बंगलादेशबाट गोताखोर बोलाउनै पर्ने बाध्यता अन्त्य भएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले ९ असोज २०७६ देखि २५ कात्तिकसम्म १९ जना सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमा नै पहिलोपटक गोताखोर तालिम प्रदान गरेको थियो । त्यसपछि पुनः विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २५ वैशाख २०७९ देखि सोही वर्षको २९ जेठसम्म २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई गोताखोर तालिम प्रदान गरेको थियो ।
त्यसपछि थप गोताखोर तालिम प्राप्त जनशक्ति आवश्यक रहेको भन्दै १० वैशाख २०८० देखि १८ जेठसम्म गोताखोर तालिम सञ्चालन गरेको थियो । गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको गोताखोर तालिममा सशस्त्र प्रहरी बल नेपालका १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको सहभागिता रहेको थियो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको हो ।
पाँच साता अवधिको पछिल्लो तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा अभ्यास गराइएको थियो ।
बिहीबार सम्पन्न पछिल्लो गोताखोर तालिममा सशस्त्र प्रहरी जवान गणेशबहादुर थापा प्रथम भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सिस–३ गोताखोर तालिमको बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरेका थिए ।
सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र जोखिमका सन्दर्भमा कसरी उद्धार गर्ने भन्ने’bout तालिम शिक्षालय नै खोलेर सशस्त्र प्रहरीले अगाडि बढाइरहेको काम प्रशंसनीय रहेको बताए । उनले घटना दुर्घटनामा सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जीवनलाई नै खतरा मोलेर गरेको सेवाले आपत्विपद्मा परेकाको जीवन बाँचेको र मृत्यु भएकाको शव निकालिएको काम उदाहरणीय रहेको बताएका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर तालिम गर्नु र गोताखोरी कार्यमा आफूलाई समर्पित गर्नु आफ्नो ज्यान राज्य र नागरिकलाई सुम्पे बराबर रहेको बताएका थिए । उनले सफलता र असफलता गौण कुरा भएको भन्दै पानीको गहिराइमा पुगी कसैको जीवित वा मृत उद्धार गरी पीडितको जहान परिवारलाई सुम्पिन सकियो भने दुवै अवस्थामा उसको परिवार गोताखोर र संगठनप्रति अनुग्रहित हुने उल्लेख गरे ।
‘पानीमा बिलिन भएका तपाईका पसिनाले त्यतिबेला सार्थकता पाउनेछ जतिबेला तपाईले अरु कसैले गर्न नसकेको काम गरी जनताको मुहारमा मुस्कान ल्याउन सक्नुहुन्छ,’ उनले भने ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमोसमेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको र ती घटनामा ३ सय १७ वटा शव निकालिएको जानकारी गराइएको थियो ।






