सरकारले सुर्तीजन्य पदार्थमा घुमाउरो शैलीमा कर घटाउने भएको छ । क्यान्सर जस्तो जघन्य रोगको कारक मानिने सुर्तीजन्य पदार्थमा विगत केही वर्षदेखि कर बढाउँदै आए पनि यसपालि सरकारले घुमाउरो शैलीमा घटाउने योजना बनाएको छ । समग्र बजेटमा २ देखि ४ प्रतिशत कर बढाए जस्तो देखिए पनि सुर्तीजन्य पदार्थमा ५ प्रतिशत कर घट्ने भएको छ । सुर्ती उद्योगीको दबाब र प्रभावमा परेर सरकारले कर घटाउने योजना बनाएपछि सर्वसाधारण समेत चिन्तित छन् । एक त यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । अर्को सुर्तीजन्य पदार्थमा कर घट्ने बित्तिकै खाद्यान्न महँगो हुन्छ ।
विश्वस्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्ने सुझाव दिँदै आएको छ । नेपालमा अहिले पनि वार्षिक २७ हजार बढीको सुर्तीसेवनकै कारण मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ आफैंमा घातक भएकाले पनि यसको नियन्त्रणका लागि सरकारले कर बढाउनुका साथै बिक्रीमा समेत निश्चित नियम बनाउनैपर्छ । नियम त काठमाडौंलगायत कतिपय सहरका सार्वजनिक स्थानमा सुर्तीजन्य सामग्री सेवन गर्न पाइँदैन । आफैंले बनाएको नियम कार्यान्वयनतर्फ भने सरकारले पहल गरेको पाइँदैन ।
जनगुनासोपछि रेस्टुरेन्टलगायत केही स्थानमा ‘स्मोकिङ जोन’ भनेर सुर्ती सेवनका लागि ठाउँ छुट्याए पनि बिक्री वितरणमा भने सरकारले अझै व्यावहारिक नीति बनाउन सकेको छैन । विद्यालय परिसर, अस्पतालहाता ’round सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने नियम भए पनि नेपालका सबै सरकारी र अस्पतालको गेटमै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने गरेको पाइन्छ । अर्को दुःखद कुरा नेपालमा जुनसुकै उमेर समूहका व्यक्तिले पनि निर्धक्क सुर्तीजन्य पदार्थ खरिद गर्ने गरेका छन् । अब यी विषयमा पनि संवेदनशील हुन जरुरी छ ।
सुर्तीजन्य पदार्थको सेवन कुनै पनि दृष्टिले हितकर छैन भन्ने जान्दाजान्दै पनि सेवन गर्नेहरूको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो समय युवापुस्तामा सुर्तीसेवनको लत डरलाग्दो गरी बढेको छ । देखासेकी, साथीभाइको संगतलागयतका कारण सुर्ती सेवन गर्नेहरू बढ्दै गएको जगजाहेरै छ । सुर्ती सेवन घातक हो भनेर सर्वसाधरणलाई जानकारी गराउन ढिला भइसकेको छ ।
विद्यालय तहमा अध्ययनरत बालबालिकालाई बेलैमा सचेत गराउन सकियो भने उनीहरूलाई सुर्ती सेवनबाट बचाउन सकिन्छ । यसका लागि सचेतनासँगै निर्देशनात्मक गतिविधि पनि जरुरी छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने थुपै्र सरकारी गैरसरकारी संघसंस्था छन् । अब तिनको भूमिका मानव स्वास्थ्य जोगाउन केन्द्रित हुनु जरुरी छ । सुर्तीसेवन घटाउनु भनेको मानव स्वास्थ्य जोगिनु पनि हो भन्नेमा सचेत गराउन जरुरी छ ।






