धनगढी । कैलाली गौरीगंगा नगरपालिका–४ राजीपुरका शंकर आर्चायको समूह मिलेर २०७२ सालमा नमुना ज्योति कृषि सहकारी स्थापना गरे । आचार्य अध्यक्ष रहेको सहकारीमा ३६ जनाले १० हजारका दरले ३ लाख ६० हजार लगानी गरे ।
१२ महिनासम्म उनीहरूले मासिक पाँच सयका दरले २ लाख १६ हजार रकम सहकारीमा जम्मा गरे । तर, अहिले सहकारीको रकम हिनामिना भएको छ ।
शेयर सदस्य देवीप्रसाद गौतमले तीन वर्षदेखि सहकारीले मासिक रकमसमेत उठाउन छाडेको बताए । उनका अनुसार सहकारीको झण्डै १० लाख रकम हिनामिना भएको हो । ‘वार्षिक साधारणसभा एकपटक पनि भएको छैन,’ उनले भने, ‘त्यो रकमको हिसाब कताब छैन । तीन वर्षदेखि लेबि पनि उठाएका छैनन् ।’
सहकारी स्थापना गर्न १०÷१० हजार लगानी गरेका शेयर सदस्यले पाँच÷पाँच हजार फिर्ता लिएका थिए । उनीहरूले मासिक रूपमा उठाउँदै आएको ५ सयबाट २ सयमा झारे ।
झन्डै पाँच वर्ष सहकारीको अध्यक्ष भएर आचार्यले चलाए । अहिले अर्जुन सापकोटा सहकारीको अध्यक्ष छन् । उनले झन्डै तीन वर्षदेखि सहकारीको मासिक रकमसमेत उठाउन सकेका छैनन् ।
सहकारीले गरेको ऋण लगानी उठ्न नसकेपछि सहरकारीले मासिक रकम उठाउनसमेत बन्द गरेको हो । ‘राजनीतिक दलहरू मिलेर सहकारी खोलेका हुन् । उनीहरूलाई पटकपटक सहकारी चलाउन सक्ने–नसक्ने विषयमा सोधेका छौं,’ गौतमले भने, ‘सकिँदैन भने अर्काे सहकारीमा मर्ज गर्न सकिन्छ । अफिस पनि छैन । पैसा अर्काे व्यक्तिले चलाएको छ ।’
सहकारी सञ्चालन भएको आठ वर्ष भएको छ । कार्यालयसमेत स्थापना भएन । झोलाबाट सञ्चालन हुँदै आएको सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
सेयर सदस्यले नै मासिक रकम उठाउँदै आएकोमा सहकारीमा झन्डै १० लाख संकलन भएको दाबी छ । तर, संकलन भएको पूरै रकम सेयर सदस्यबाटै हिनामिना भएको आरोप लागेको हो । केही सदस्यले भने आफ्नो लगानीसमेत नपाएको गुनासो गरेका छन् ।
सहकारी अध्यक्ष सापकोटाले ऋण लगानी भएको रकम नउठेकाले समस्या भएको बताए । ‘सेयर सदस्यले ऋण लिएका छन् । उनीहरूले फिर्ता गरेका छैनन् । एक भेला राख्ने योजनामा छु,’ उनले भने, ‘भेलाबाट यो टुंगो लगाउँछु । ८÷१० जनाले ऋण लिएका छन् ।’ उनले सहकारीमा जम्मा रहेको रकम’bout जानकारी नभएकोसमेत प्रस्ट पारे ।
सहकारीबाट ऋण लिएका फरार भएका छन् । उनीहरूले रकम फिर्ता नदिएकाले समस्या भएको सहकारीको दाबी छ । कार्यालय स्थापना नगरेरै लामो समयदेखि सञ्चालित सहकारीलाई कहीँकतैबाट नियमन गरिएको छैन । तर, सहकारी अध्यक्ष अर्जुन सापकोटाले निकास निकाल्ने बताएका छन् ।
ऋण लिएका मान्छे बाहिर भएकाले समस्या भएको सापकोटाको दाबी छ । २ देखि ३० हजारसम्म एक जनाले ऋण लिएर फिर्ता नदिएको उनले बताए ।