काठमाडौं । नेपाली चलचित्रका अहिलेका व्यस्त अभिनेताको सूचीमा दयाहाङ राई पहिलो नम्बारमा छन् । दुई नयाँ चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ भने अहिले उनी ‘दिमाग खराब’को छायांकनमा व्यस्त छन् ।
‘नीरफूल’ शुक्रबारबाट रिलिज भएको छ भने उनी यसपछि लगत्तै नयाँ फिल्म ‘हात्तिछाप’को छायांकनमा जोडिनेछन् । त्यसपछिका लागि पनि दयाहाङ नयाँ चलचित्रमा जोडिएका छन् । पछिल्लो समय याम शेर्पाको ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।
याम शेर्पाको लेखन तथा निर्देशन रहने चलचित्र सामाजिक कथामा बन्ने भएको छ । यो शेर्पाको डेब्यु निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका छन् । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् ।
९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने चलचित्रका निर्देशक यामले बताएका छन् । फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै सार्वजनिक गरिने पनि उनले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ,’ शेर्पाले भने ।






