इकुडोले केटोको कथा

उमेर १२ वर्षको मात्रै थियो, त्यसैबेलादेखि साहित्यले चटक्क छोइहाल्यो ।

‘वाङ्मय लत’ न हो, मात चढेपछि कसको के लाग्छ ? यी ‘इकुडोले केटो’लाई पनि त्यस्तै भयो । ‘त्यसपछि त लागेको लाग्यै भइयो, अहिले पनि साहित्यले झुम्म पारिरहन्छ,’ हालैको एक भेटमा उनै दक्षिण ललितपुरे केटो भन्दै थिए, ‘अहिले त अझै परिमार्जित भएको छ । उसबेला लेखेको अहिले पढ्दा पो कसोकसो लाग्छ ।’

हो, वैशाख २०४२ मा ललितपुर इकुडोलमा जन्मिएका उनै नवराज सञ्जेलको चर्चा हुँदै छ । बाग्मती गाउँपालिका–५ थातथलो भएका सञ्जेल साहित्यतिर मात्रै हैन, म्युजिक भिडियो निर्देशनतिर पनि चाख मान्छन् । उनकै शब्दमा भन्नुपर्दा ‘पहिचान गीत’मा आफ्नो पहिचान पहिलिँदै छ ।

आफू अत्यन्तै कष्टकर पृष्ठभूमिबाट समाज परिवर्तनमा लागेको बताउने सञ्जेल नवीनत्तम समाज निर्माणका लागि सधैं अभियान चालिरहने प्रतिबद्धता सुनाउ“छन् ।

पछिल्लो समय सार्वजनिक ‘कालेश्वर महादेव भजन’मा उनको कलमसँगै निर्देशकीय कौशलता पनि दौडिएको छ । उनी गायिका निशा देशारसँगको सहकार्यता आफ्ना लागि गौरवको विषय भएको सुनाउन भुल्दैनन् ।

चरसुन्दर महर्जनको परिकल्पना र लगानीमा बनेको भजनलाई पनि ‘पहिचान गीत’ भन्न रुचाउँछन्, सञ्जेल । ‘यो भजन निर्माणले पर्यटन विकाससँगै समाज परिवर्तन गराउन सकिने विश्वास लिएको छु,’ पहिचान गीतस“गै शैक्षिक तथा कृषि गीतमा समेत कलम चलाउँदै आएका सञ्जेल भन्छन्, ‘यो भजनमा कृष्ण दाहालले संगीत दिएका छन् ।’

‘बाग्मती पहिचान गीत’ले आफू हौसिएको बताउने उनले अहिलेसम्म बडीखेल गीत तथा भिडियो, इकुडोल गीत तथा भिडियो पहिचान गीत बनाइसकेका छन् । २०७७ सालमा ‘राष्ट्रिय भर्ना गीत’मा प्रथम सञ्जेल २०७९ सालमा महांकाल खुला गीत प्रतियोगितामा समेत नगद पुरस्कार जित्न सफल भएका थिए ।

‘यस्तै–यस्तै कुराले मलाई बारम्बार हौसला दिइरहेको हुन्छ,’ उतिबेला विद्यालयको भित्ते पत्रिका ‘सौगात’ र वार्षिक मुखपत्र ‘जागृति’मा लेखरचना लेखेर साहित्यिक पाइला चालेका सञ्जेल इकुडोलकै जनजागृतिबाट २०५८ सालको एसएलसी परीक्षामा भेगकै ‘उत्कृष्ट’ भएका थिए । अहिले उनी शिक्षा शास्त्रमा विधावारिधी गर्दै छन् । ‘विद्यार्थीजस्तै शिक्षक पनि अतिरिक्त क्रियाकलापमा लाग्नुपर्छ’ भन्ने मान्यता पाल्ने सञ्जेल गीतका अतिरिक्त कविता तथा गजल विधामा दख्खल राख्छन् ।

विद्यालय शिक्षामा प्रधानाध्यापक, प्रशासन सहायक, इन्चार्ज भइ काम गरेका सञ्जेल स्थानीयदेखि राष्ट्रियस्तरका पुरस्कारको हकदार बनिसकेका छन् । विशेषगरी सार्वजनिक कार्यक्रम उद्घोषणमा उनको ‘हाइहाइ’ हुने गरेको छ ।

रेडियो उद्घोषणमा पनि उत्तिकै सक्रिय उनले हालसम्म ६ प्रधानमन्त्री सहभागी कार्यक्रमसमेत चलाइसकेका छन् । सञ्जेल २०७९ सालको ललितपुर गोदावरी नगरपालिकाकै ‘उत्कृष्ट शिक्षक’ बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?