सुन्दरबजारका मासु पसलमा छैन न्यूनतम मापदण्ड

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाअन्तर्गत सञ्चालित मासु पसल तथा अन्य अधिकांश पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । बजार अनुगमनका क्रममा त्यस्तो स्थिति फेला परेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा पर्यटन तथा उद्योग कार्यालय लमजुङले छुट्टाछुट्टै गरेको अनुगमनका क्रममा त्यस्तो स्थिति देखिएको अनुगमन टोलीका सहभागीहरूले बताएका छन् । सो अवसरमा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सुन्दरबजार नगरपालिका भोटेओडारदेखि सुन्दरबजार क्षेत्र, दुराडाँडालगायतका ग्रामीण क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमन गरेको सो विज्ञ केन्द्रका प्रमुख एवं लमजुङ÷मनाङका भेटेरिनरी निरीक्षक डा. रूपेश श्रेष्ठले बताए । उनका अनुसार अनुगमनका क्रममा अधिकांश पसल अव्यवस्थित र दर्ताबिना नै सञ्चालन भइरहेको पाइयो । उनले भने, ‘मासु पसलको अवस्था बुझ्न, अव्यवस्थित मासु पसलमा सुधार ल्याउन र गुणस्तरीय मासु बिक्री गराउने उद्देश्यले मासु पसलको अनुगमन गरिएको हो ।’

ती क्षेत्रमा प्रायः जसो मासु पसलले न्यूनतम मापदण्डसमेत पूरा नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको पशु सेवा विज्ञ केन्द्र लमजुङका सूचना अधिकारी डा. सुनिल न्यौपानेले बताए । उनका अनुसार दर्ताबिना नै मासु पसल सञ्चालनमा रहेको, मापदण्डविपरीत खुला स्थानबाट मासु बिक्री गर्ने गरेको र मासु पसलसँगै अन्य पसल पनि सञ्चालनमा रहेको पाइएको छ । उनले भने, ‘मापदण्ड पूरा नगरेका तथा दर्ताबिना नै सञ्चालनमा रहेका पसललाई प्रक्रियागत रूपमा मापदण्ड पूरा गरी पसल सञ्चालन तथा गुणस्तर सुधार गर्न निर्देशन दिँदै प्रक्रिया पूरा नगरेमा कारबाही गर्ने चेतवानी दिइएको छ ।’

अनुगमनमा डा. रूपेश श्रेष्ठसहित सुन्दरबजार नगरपालिका पशु सेवा शाखाका डा. बुद्धिलाल तामाङ, पशु प्राविधिक भुवन विकलगायतको सहभागिता थियो ।

मासु पसलहरूको अनुगमनसँगै टोलीले सुन्दरबजार नगरपालिकाका ग्रामीण क्षेत्रमा लम्पी स्किनको समस्या देखिएका पशुहरूलाई खोप पनि लगाइएको छ । अनुगमन टालीले घरघरमा गएर लम्पी स्किनको समस्या भएका पशुलाई खोपसँगै पशुपालक किसानलाई रोग फैलन नदिन अपनाउनुपर्ने सावधानी’bout समेत जानकारी गराएको केन्द्रका प्रमुख श्रेष्ठले बताए ।

यसैगरी, पर्यटन तथा उद्योग कार्यालय लमजुङद्वारा सुन्दरबजार नगरपालिका–६ र ७ मा रहेका मुख्य बजार क्षेत्रमा बजार अनुमगन गरिएको छ । सुन्दरबजारको तल्लोबजार, मिलनचोक, खत्रीठाँटी क्षेत्रमा सञ्चालित पसल तथा उद्योगहरूको अनुगमन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा अनुगमन गरिएको हो । खाद्यन्न पसल, गोदाम, किराना स्टोर्स, बेकरी उद्योग, ट्रेडर्स, भाँडा पसल, सपिङ सेन्टरलगायतको पसल तथा उद्योगमा अनुगमन गरिएको थापाको भनाइ छ । अनुगमनका क्रममा दर्ताबिना सञ्चालनमा रहेका तीनवटा तरकारी तथा किराना पसललाई ३ हजार रुपैयाँका दरले जरिमाना गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताए । उनका अनुसार त्यस्ता पसल सञ्चालकलाई दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।

उनले भनिन्, ‘अनुगमन गरिएका अधिकांश पसलमा खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखेर बिक्रीवितरण गरेको पाइएको छ । कतिपय पसलमा फर्म दर्ता गर्ने समयमा देखाएको पुँजीभन्दा लगानी बढी देखिएको हुँदा उनीहरूलाई पुँजी वृद्धि गर्न सुझाव दिइएको छ ।’

बेकरी उद्योगमा उत्पादन मिति र उपभोग्य मिति स्पष्ट लेखेको नपाइएकाले त्यो स्पष्ट देखिने गरी लेवलिङ गर्न सुझाव दिइएको थापाको भनाइ छ । उनका अनुसार मापदण्डविपरीत कार्य गरिरहेको प्रिया बेकरी उद्योगलाई ३ हजार रुपैयाँ जरिमाना गरिएको छ । उनले भनिन्, ‘दर्ता प्रमाणपत्र र साइनबोर्डमा सञ्चालकको नाम फरक पाइएकाले साइनबोर्ड हटाइर दर्ताअनुसार साइनबोर्ड राख्न भनिएको छ ।’ अनुमगनका क्रममा १२ हजार ५ सय ५० रुपैयाँबराबरको म्याद गुज्रेको सामग्री जफत गरिएको अनुगमन टोलीले बताएको छ ।

सो बजार अनुमगनमा जिल्ला प्रशासन कार्यालयका हरिभक्त विक, सुन्दरबजार नगरपालिकाका कृषि अधिकृत रघुनाथ अधिकारी, लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइका अध्यक्ष दण्डबहादुर सुनार, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किसान संगीत नेपाली, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रतिनिधि रामकृष्ण अधिकारीलगायत टोलीमा सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली