भोजपुर । पराम्परागत खुकुरी बनाउने पेसा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण थालेको छ । आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेसा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो ।
दिनानुदिन पेसा छाड्नेको संख्या बढ्न थालेपछि उनीहरूलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । लोपोउन्मुख पेसाको संरक्षणमा जुटेको उनको भनाइ छ । ‘पछिल्लो समय कालीगढहरू पलायन हुँदै गएको अवस्था छ,’ अध्यक्ष राईले भने, ‘अहिले गाउँघरमा व्यावसायिक रूपमा यो पेसा गर्ने मान्छे पाउन नै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ । यो पेसा व्यवसायमा लागेकाको तथ्यांक संकलन गरेर आवश्यक सहयोग गर्दै आएको छौं ।’
खुकुरीले नाम कमाएको जिल्लामा कालिगढ पेसा संकटमा पर्दै गएकाले यसको संरक्षणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष राईको भनाइ छ । ‘जिल्लाभर नै कालीगढ पेसा छोड्ने संख्या बढ्दो छ,’ अध्यक्ष राईले भने, ‘यो पेसाको संरक्षण आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’
पेसा छोड्ने संख्या बढेसँगै गाउँघरमा औजार उपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । पेसामा लागेकाहरूलाई प्रोत्साहन गर्दै आधुनिक उपकरण प्रयोगमा जोड दिएको उनको भनाइ छ । यो पेसामा लागेका दुई परिवारलाई पौवादुङमा १ श्यामशिलाले आवश्यक सहयोग गरेको उनले जानकारी दिए । ‘पराम्परात रूपमा काम गर्दा उनहरूलाई धेरै कठिन छ,’ वडाध्यक्ष तामाङले भने, ‘विद्युतीय औजार उपकरणको प्रयोग गर्दा केही सहज हुने देखेर आवश्यक सहयोग गरेका हौं ।’
खुकुरी बनाउने आरन सञ्चालकलाई ८० हजारबराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पराम्परागत पेसा संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।
सामग्री निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहज रूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा १ श्यामशिलाका कालीगढ कृष्णबहादुर विकले बताए । विभिन्न कारणले संकटमा परेको अवस्थामा स्थानीय सरकारबाट पाएको सहयोगले पेसामा लाग्न थप टेवा मिलेको उनको भनाइ छ ।
राज्यको तर्फबाट आवश्यक सहयोग नभएमा कालीगढ पेसा लोप हुने अवस्था रहेको विकको भनाइ छ । नयाँ पुस्ताको रोजाइमा नपर्दा पेसा संकटमा पर्दै गएको उनको भनाइ छ । ‘अत्यावश्यक औजार उपकरण बनाउने भए पनि यो पेसालाई मान्छेले अझै पनि अपहेलनाका रूपमा लिने चलन छ,’ उहाँले भने, ‘नयाँ पुस्ता यो काम गर्न नै चाहँदैनन् । व्यवसाय सञ्चालन गर्न पनि कोइला, दाप, बिडका लागि काठ पाउन नै मुस्किल छ । विविध कारणले पेसा छाड्नेको संख्या बढेको छ ।’
विभिन्न समस्याको कारण मेहनत गरेअनुसारको प्रतिफल पाउन समस्या रहेको कालीगढ खड्गबहादुर विकले बताए । राज्यले विभिन्न समयमा गर्ने सहयोगले पेसालाई जीवन्त राख्न केही टेवा मिलेको उनको भनाइ छ । राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउने कालीगढ पेसा छोडेर अन्य पेसातिर लाग्ने गरेको उनको भनाइ छ ।
‘सहज काम खोज्ने कारणले धेरैले कालीगढ पेसा छाड्दै गएको अवस्था छ,’ उनले भने, ‘पेसा छोड्दै मानिसहरू अन्य पेसा व्यवसायमा लागेको अवस्था छ । मैले गरेको काम अब मेरो छोरा, नातिले गर्छन् भन्ने आशा छैन ।’
राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ छ ।






