शवको सम्मान

सरोज मिश्र

काठमाडौं । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् नयाँ संविधान जारी भयो । २०४८ सालको वैशाख महिनाको पहिलो साता आमनिर्वाचन हुन लागेको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए र नेपाली कांग्रेसको सभापति पनि । निर्वाचन प्रचार प्रसार उत्कर्षमा थियो । किसुनजीका सहोदर दाजु गोपालप्रसाद भट्टराईको निधन भयो । गोपालजी नेपाली कांग्रेसको संस्थापकमध्येका थिए । राणाविरुद्धको संघर्ष र त्यसपछि निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा उनको योगदान उल्लेखनीय थियो । त्रिविवि शिक्षण अस्पतालमा भाइ किसुनजीको आगमन स्वाभाविक थियो । त्यो विशुद्ध पारिवारिक मामिला थियो । गोपालजीको शव तल ओरालिएपश्चात् नेपाली कांग्रेसका उल्लेखनीय एक जना व्यक्ति मात्र देखा परे । ती व्यक्ति थिए, महेन्द्रनारायण निधी । सम्भवतः उनी त्यहाँ व्यक्तिगत हैसियतमा आएका थिए, कांग्रेसी नेताका हैसियतमा होइनन् । निधी शवमा फूल अर्पण गरेर फिर्ता भए ।

अन्त्येष्टिका लागि आर्यघाटमा प्रक्रिया सुरु भयो । ब्रम्हनालको प्रक्रियापछि शवलाई चितामा चढाइनुअघि उपस्थित व्यक्तिबाट श्रद्धाञ्जली दिइँदै गर्दा सँगै रहेका स्वर्गीय बासु रिसालसँग यो पंक्तिकारले सोधेको थियो, ‘नेपाली कांग्रेसको झन्डा ओढाइनुपर्ने होइन ? यो उहाँको हक होइन र ?’ बासु दाइले मलिन स्वरमा भने, ‘खोइ, के भन्ने ?’ हेक्का रहोस्, बासु रिसाल पार्टी सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका निकटस्थमध्येका एक थिए ।

गोपालजीको अन्त्येष्टिका बेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बाग्मतीभित्रै छिरेर डुबुल्की लगाउँदै स्नान गरेका थिए र त्यहीँ जल्दै गरेको चिताको नजिक बसेर कपाल खौरेका थिए । नेपाल टेलिभिजनसँग यी दृश्य अझै सुरक्षित होलान् । नभए, छायाकार जयसिंह शाहको व्यक्तिगत संग्रहमा त अवश्यै होला ।

भाइ कृष्णप्रसाद भट्टराईले आफ्नो कर्तव्य पूरा गरे । तर, पार्टी सभापति कृष्णप्रसाद भट्टराई चाहिँ चुप रहे । प्रधानमन्त्रीका रूपमा किसुनजी चुप रहनु त ठीकै थियो होला । तर, पार्टी सभापतिका रूपमा संस्थापक गोपालप्रसाद भट्टराईलाई यथोचित सम्मान दिनु किसुनजीको दायित्व थिएन र ? सम्भवतः पञ्चायतकालमा गोरखापत्रको सम्पादक बन्नु नै गोपालजीको ‘अपराध’ थियो ।

यहाँनेर एक अर्का पात्रको उल्लेख गर्नु सान्दर्भिक होला । ती पात्र हुन्, सूर्यप्रसाद उपाध्याय । सूर्याबाबुका रूपमा चिनिने सूर्यप्रसाद उपाध्याय नेपाली कांग्रेसको बीपी कोइराला, गणेशमान सिंह र शुवर्णशम्शेर जबरासँगै लिइने नाम थियो । स्वयं कृष्णप्रसाद भट्टराईले सूर्याबाबुलाई ‘चार महान्’ मध्येका एक भन्ने संज्ञा दिएका थिए । सूर्याबाबुको योगदान’bout राम्रै चर्चा हुन सक्छ । अहिलेलाई यति मात्र भनौं, उनी सबैको ‘आश्रय स्थल’ थिए । उहाँबाट ‘भिक्षा र दीक्षा’ (अर्जुन नरसिंह केसीको शब्द सापटी लिइँंदै छ) प्राप्त नगर्ने कांग्रेसी बिरलै थिए र छन् । इहलोक प्राप्त भइसकेका र जीवित ठूलाठूला नाम सूर्याबाबुको ‘कृपा’ पाउनेमा पर्छन् ।

तत्कालीन राजा र प्रतिपक्ष (मूलतः कांग्रेस र कांग्रेसी) दुवैलाई सूर्याबाबु नभई नहुने तर औपचारिक रूपमा स्वीकार्न नसकिने व्यक्तित्व बन्न पुगेका थिए । कालान्तरमा उनी कांग्रेसभित्र अटेनन् । जनमत संग्रहको घोषणापश्चात् उनलाई कांग्रेसमा पुनस्र्थापित गर्ने प्रयास नभएको होइन । तर, कांग्रेसभित्रको व्यक्ति पूजा प्रवृत्तिले होस् वा कुनै गुट उपगुटको निहित स्वार्थले होस्, त्यस्तो सम्भव भएन ।

जीवनको उतराद्र्धमा सूर्याबाबु कांग्रेसी थिएनन् । उनको निधन १५ साउन २०४१ का दिन नयाँ दिल्लीमा भएको थियो भने शव काठमाडौं ल्याएर आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । सायद उनले पहिल्यै आफ्नो शव चारतारा ओढाइयोस् भन्ने चाहना व्यक्त गरेका थिए । पञ्चायत कालरात्रिको निष्पट अँध्यारो रातमा चारतारा झन्डा प्रदर्शन गर्नु सजिलो थिएन । स्वर्गीय मंगलादेवी सिंहले कतै लुकाएर राखेको एउटा चारतारा झन्डा उपलब्ध भएछ । आर्यघाटमा चितामा सुताइनुअघि जमिनमा श्रद्धाञ्जलीका लागि शव राखिएको थियो । त्यस्तैमा पीएल सिंहले अत्यन्तै नाटकीय ढंगले आफ्नो झोलाबाट एउटा चारतारा झन्डा फुत्त निकालेर शवलाई ओढाइदिए र नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सायद पीएल सिंहले नै शव उठाएर चितासम्म पु¥याए । त्यो त्यसबेलाको प्रतिबन्धित नेपाली कांग्रेसले दिन सक्ने सर्वोच्च सम्मान थियो ।

अनौठो कुरो चाहिँ आजसम्म पनि सूर्यप्रसाद उपाध्यायलाई कांग्रेसले स्वीकार्न सकेको छैन । ‘चार महान्’मध्येका एक सूर्याबाबुको एउटा फोटोसम्म पनि कांग्रेस कार्यालयमा छैन । पार्टी सभापति शेरबहादुर देउवाको सार्वजनिक प्रतिबद्धताका बाबजुद सूर्याबाबु कांग्रेसमा अझै स्वीकार्य भएका छैनन् ।

स्वयं बीपी कोइरालाकै कुरो गरौं । उनको निधन हुँदा तत्कालीन पञ्चायती राज्यसत्ताले ‘पूर्र्वप्रधानमन्त्री’सम्मको पनि मान्यता दिएन । निधनको कैयन घण्टासम्म त सरकारी सञ्चारमाध्यमले त्यो खबर थाहै पाएन । तत्कालीन राजा वीरेन्द्रको ‘जुनसुकै नेपालीको निधन हुँदा पनि हामीलाई दुःख लाग्छ’ भन्ने कन्ज्युस्याईँ र छुद्रताले भरिएको वक्तव्यपश्चात् मात्र सरकारी सञ्चारमाध्यमले ‘राजनीतिज्ञ’ बीपी कोइरालाको निधनको सानो समाचार दियो । कुनै सरकारी सम्मानको त सम्भावना नै थिएन । तर, त्यस्तो कठोर एवं तानाशाही दिनमा पनि जनताको तहबाट भने अभूतपूर्व सम्मान दिइयो । सरकारका बहालवाला कर्मचारीसम्म पनि सरकारी उर्दी र धम्कीका बाबजुद शवयात्रामा सामेल भए । बीपीको शवको शीरमाथि ट्रकको भित्तामा चारतारा टाँगिएको थियो । त्यो प्रतिबन्धित झन्डा हटाउने ताकत र हुत्ती कुनै तानाशाहका प्रशासन वा सुरक्षा अंगसँग थिएन । युवापुस्ताले त चारतारा झन्डाको सार्वजनिक पहिलो दर्शन नै त्यसबेला पाएका थिए । बीपीको शव वास्तवमै कुनै सरकारी सम्मानको मोहताज थिएन । उनी सर्वसाधारण जलाइने आर्यघाटको भष्मेश्वरतर्फ जले । कुनै सेना वा प्रहरीको बिगुल बजेन, राष्ट्रिय झन्डा ओढाइएन र सलामी दिइएन । तर, उनको शवले पाएको सम्मान यी सबभन्दा निकै माथिको थियो ।

स्वर्गीय पुष्पलालको त शवसम्म पनि नेपाल ल्याउन सम्भव भएन । तत्कालीन ‘अराष्ट्रिय तत्व’को शव नेपाल ल्याउन त सम्भवै थिएन । निकै चलाखीपूर्ण ढंगले उनको खरानी ल्याइएको थियो र त्यो अद्र्धशेषलाई परम्परागत नेवारी प्रचलन अनुसार ‘टुं छ्यां .. टुं छ्यां’ बाजाको धुनबीच सहर परिक्रमापछि विष्णुमतीमा सेलाइएको थियो । पुष्पलालको त्यो ‘शवयात्रा’मा सामेल वा सडकमा उभिएका आमजनताबीच त्रास र कौतुहल त थियो नै, पुष्पलालप्रति असीम श्रद्धा र तत्कालीन सत्ताप्रति घोर घृणाको भाव थियो । पुष्पलालको शवको खरानीले पनि पाएको त्यो सम्मान संख्यात्मक दृष्टिले सानो थियो होला तर गुणात्मक दृष्टिले कुनै ‘सर्वोच्च राजकीय सम्मान’भन्दा कम थिएन ।

अनायासै यो पंक्तिकारले प्रत्यक्ष देखेको एउटा दृश्य उल्लेख गरौं । तत्कालीन अधिराजकुमार वसुन्धराको निधन भयो । उनी स्वर्गीय राजा महेन्द्रका कान्छा भाइ र गद्दिनसिन राजा वीरेन्द्रका कान्छा काका थिए । त्यसैकारण उनी ‘श्री ५ अधिराजकुमार’ थिए । वीर अस्पतालको दक्षिण लङबाट उनको शव निकालिनुअघि नै प्रधानमन्त्री तुलसी गिरीलगायत सर्वोच्च संवैधानिक अंगका प्रमुख र सम्पूर्ण मन्त्री महाबौद्ध जाने सडकमा लामबद्ध भइसकेका थिए । पूर्ण राजकीय सम्मानका साथ शवयात्रा चलाइयो । ती सर्वोच्च पदाधिकारी शवको पछाडि लुरुलुरु हिँडे । सडक खाली गराइयो, छेकिएका जनता लामबद्ध भए । तोपसहितको सलामी पनि दिइयो र आमजनताले ‘भावविह्वल भएर मौसुफमा श्रद्धाञ्जली पनि टक्र््याए ।’ त्यसबेलाका मुर्धन्य पत्रकार स्वर्गीय चन्द्रलाल झाले नेपाल टाइम्स दैनिकमा वसुन्धरामाथि लेखेको सम्पादकीयको एउटा अंश यस्तो थियो, ‘श्री ५ अधिराजकुमार वसुन्धरा सरकारको असामयिक निधनबाट तमाम नेपाली जनता मर्माहत भएका छन् । उनीहरू यस समय मौसुफ सरकारको राष्ट्रभक्ति तथा राष्ट्रिय सम्पदाप्रतिको मोह सम्झेर दुःखित छन् । मौसुफ सरकार आफू विदेश सवारी भएको समयमा समेत राष्ट्रिय धरोहरप्रतिको मोहबाट मुक्त हुन नसकी आफ्नै साथमा धरोहर र सम्पदा लिएर गइबक्सन्थ्यो ।’

वसुन्धरा शाह नेपालका प्राचीन मूर्ति बेच्ने धन्दा गर्थे भन्ने आमधारणा थियो र जनताको त्यही मौनवाणी ‘श्रद्धाञ्जली’का रूपमा सम्पादकीयमा व्यक्त भएको थियो । वसुन्धराको ‘राजकीय सम्मान’को स्तर’bout धेरै बताइरहन नपर्ला ।

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् गणेशमान सिंह र मदन भण्डारीले पनि अत्यधिक सम्मान पाए । निधनका बेला गणेशमान पदीय दृष्टिले फगत पूर्वमन्त्री थिए भने मदन भण्डारी त एक सांसद मात्रै । तर, यी दुवैले उच्चतम् सरकारी सम्मान पाए । पार्टीका तर्फबाट र जनस्तरबाट त कुरै भएन । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले राजकीय सम्मान पाए । उनीहरू त पूर्वप्रधानमन्त्री नै भए र त्यसमाथि पनि पञ्चायतविरुद्धको संघर्षका नायक थिए । मातृकाप्रसाद कोइराला, डा. केआई सिंह र सूर्यबहादुर थापाले मात्र होइन डा. तुलसी गिरीले पनि यथोचित सरकारी सम्मान पाएका हुन् । सरकारी सम्मानकै कुरा गर्ने हो भने कुनै पदमा नभएका वामपन्थी नेता निर्मल लामा र गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले पनि पाएका हुन् ।

दुई पूर्वप्रधानमन्त्री मरिचमान सिंह र कीर्तिनिधि विष्टलाई ‘नदिइएको’ सम्मान’bout गुनासा सुन्न पाइन्छ । कीर्तिबाबुले त कुनैखाले औपचारिक सम्मान आफंैले नचाहेको तथ्य सार्वजनिक भइसकेको छ । उनको परिवारले उनको इच्छाको सम्मान ग¥यो र सरकारले पनि हस्तक्षेप गर्न चाहेनभन्दा ठीक होला । मरिचमानजीको सन्दर्भमा सरकारले आफ्नो विवेकले भ्याएको सम्मान दिन खोजेको थियो र दिएको थियो । सरकारका तर्फबाट सलामी दिन प्रहरीको टुकडी आर्यघाट पुगेको पनि थियो । तर, मरिचमानका शुभेच्छुक ‘वारेस’हरूले त्यो सम्मान लिन इन्कार ग¥यो । सायद उनीहरूलाई सम्मानको स्तर चित्त बुझेन । प्रहरीको सलामी बन्द गरेर उनीहरू स्वयंले ‘श्रीमान् गम्भीर’ गाउँदै मरिचमानजीलाई ‘सलामी’ दिएका थिए । त्यो सर्वथा उचित नै थियो कि ? मरिचमानको जीवनभरिको राजनीति नै गद्दिनसिन राजाको भक्ति नै थियो र ‘श्रीमान् गम्भीर’ भनेको पूरै व्यक्तिको भक्तिगान नै थियो ।

यहाँनेर सरकारी सम्मानको स्तरको ’boutमा थोरै उल्लेख गर्नु ठीक होला । सैनिक सम्मान, सरकारी सम्मान, राष्ट्रिय सम्मान र राजकीय सम्मान फरकफरक कुरा हुन् । गणेशमान, किसुनजी वा मनमोहनले राजकीय सम्मान पाएका हुन् । हालै सीता दाहालले पाएकी र वर्षौंअघि स्वर्गीय नारायणगोपालले पाएको चाहिँ राष्ट्रिय झन्डासहितको राष्ट्रिय सम्मान हो । निर्मल लामा र रामराजाप्रसाद सिंहले पाएको चाहिँ सम्भवतः सरकारी सम्मान हो । सैनिक सम्मान त सेनाका अधिकृतका मातापिताले पनि पाउँछन् । सायद पूर्वअधिराजकुमारी हेलेन शाह (वसुन्धराकी श्रीमती) र राजा त्रिभुवनकी भित्रिनी रानी शरला शाहले पनि सैनिक सम्मान पाएकी थिइन् । यी दुवै महिलाको निधन गणतन्त्र आइसकेपछि भएको थियो । तत्कालीन शाहज्यादी जयन्ती शाहले त राष्ट्रिय सम्मान नै पो पाएकी थिइन् कि ?

शव भइसकेपछि त्यो शरीर शिवसरह हुन्छ । शिव मानसम्मानजस्ता लौकिक कुराभन्दा पर छन् । सुख दुःख र मानसम्मानजस्ता विषयसँग निरपेक्ष शिवलाई यी सब कुरासँग के मतलब ? यी सब त जीवित व्यक्तिको विवेकमा भरपर्ने कुरा हो । व्यक्तिको विवेक भनिसकेपछि त्यहाँ आग्रह, पूर्वाग्रह, दूराग्रह, सत्ताको र शक्तिको उपयोग वा दुरुपयोग सबथोक देखापर्नु स्वाभाविक हो । माथि उल्लेखित सबैजसो घटना वा तथ्यमा पनि यस्तैयस्तै निश्चित रूपमा भएका छन् । जेसुकै होस् र जस्तोसुकै किन नहोस् शव सधंै सम्मानयोग्य हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 551 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?