धनगढी । ‘हरियाली धनगढी’ अभियानमा जनसहभागिता बढ्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको हरियाली प्रवद्र्धन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको दिन प्रतिदिन सहभागिता बढ्दै गएको हो ।
उपमहानगरपालिकाले हरियाली धनगढी अभियान अन्तरगत धनगढीको त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमासम्म पर्ने छ लेन सडकको दाँयावाँया बृक्षारोपणमा जनसहभागिताका लागि सामाजिक सञ्जाल मार्फत आब्हान गरेको थियो । उपमहानगरको आब्हान पछि स्वदेश तथा विदेशमा बस्ने नेपालीका साथै विभिन्न संघसंस्था, ब्यापारी, कर्मचारीहरुले सो अभियानमा सहभागिता जनाई रहेको धनगढी उपमहानगरले जनाएको छ ।
उपमहानगरले दोस्रो चरण अन्तरगत ‘हरियाली धनगढी’ अभियान सञ्चालन गरेको हो । यो अभियान अन्तरगत उपमहानगरले छ लेन सडकको दाँयावाँया फुटपाथमा विभिन्न जातका फूल फूल्ने २ हजार बोटविरुवा रोपिने छ । त्यसको सुरक्षाको लागि टी गार्ड समेत राखिएको छ ।
उपमहानगरले बृक्षारोपण गरेको भएपनि त्यसको स्वामित्व लिन सार्वजनिक आब्हान गरेपछि उत्साहपूर्णरुपमा जनसहभागिता बढिरहेको धनगढी नगरप्रमुख गोपाल हमालले बताए । उनले बोटको स्वामित्व लिन पाँच हजार शुल्क तोकिएको बताए । सो शुल्क उपमहानगरमै आएर बुझाउन वा उपमहानगरको राष्ट्रिय वाणिज्य बैंक धनगढी शाखामा रहेको खाता नम्बर ४१७०१००३०५०१००२ जम्मा गर्न सकिने जनाइएको छ ।
शुल्क तिरिसकेपछि बृक्षारोपण गरेको बोटको टी गार्डमा दिबंगत आफन्तजनको सम्झनामा नाम अथवा ब्यापारीक विज्ञापन तथा आफूले चाहिएको कुरा लेख्न पाउने प्रावधान रहेको नगरप्रमुख हमालले बताए ।
पैसा तिरेर बोटको स्वामित्व अरुले लिएपनि सो बोटमा सिचाइँ गर्ने, गोडमेल गर्ने लगायत सम्पूर्ण रेखदेख उपमहानगरले गर्ने भएकोले बोट मर्छ कि वा अरु कुनै समस्या हुने हो कि भनेर हरियाली धनगढी अभियानमा सहभागिले कुनै चिन्ता लिनु पर्दैन । त्यो जिम्मा हाम्रो हो नगरप्रमुख हमालले भने ।
‘हरियाली धनगढी अभियानले एकातिर वातावरण जोगिने अर्कोतिर जनसहभागिताले गर्दा सुन्दर हरियाली धनगढी बनाउन ठूलो टेवा पुगेको छ,’ नगरप्रमुख हमाले भने, ‘यो अभियान हरेक वर्ष सञ्चालन हुनेछ ।’
धनगढी उपमहानगरले हरियाली धनगढी बनाउन जनअभियान सञ्चालन गरी राम्रो गरेको छ । आफूले पनि आफ्ना दिबंगत आमाबुबाको नाममा एक बोटको पैंसा तिरेर सो अभियानमा सहभागि भएको पत्रकार दिलबहादुर छत्यालले बताए । उनले सुन्दर, स्वच्छ, हराभरा धनगढीका लागि अभियान एकदम राम्रो र फदायी रहेको बताए ।
उपमहानगरवासीसँगै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले पनि यस अभियानमा आफ्नो उपस्थित देखाउन प्रतिस्पर्धा नै चलेको छ । ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानकै एक अंश हो हरियाली धनगढी । यस अभियानमा विभिन्न व्यक्ति एवं संघसंस्थाले समर्थन जनाउँदै धनगढीलाई पर्यावरणमैत्री बनाउने कार्यमा ठूलो मदत मिलेको नगरप्रमुख हमालले बताए ।
हरियाली प्रबद्र्धन गरेर धनगढीलाई पर्यावरणमैत्री सहरको रुपमा स्थापित गर्न सुरु गरिएको यो अभियानमा एक हप्तामै पाँच दिनमा ४७८ बोटका लागि २३ लाख ९५ हजार ७०१रुपैयाँ सहयोग प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।






