सकसमा एमाले

काठमाडौं । नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् । नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र पनि एक प्रकारको सुषुप्त प्रसव पीडामा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा त सकसपूर्ण तनाव नै रहेको देखिन्छ ।

नेकपा एमालेमा सदस्यता नवीकरण गर्नेको संख्या ५० प्रतिशतको हाराहारीमा मात्र रहेको देखिँदा तनाव हुनु स्वाभाविक नै हो । नेकपा एमालेलाई आफूप्रति आकर्षण सर्लक्कै घटेको तथ्य सार्वजनिक रूपमा स्विकार्न मुस्किल परेको छ । व्यक्ति केन्द्रित र त्यसमा पनि कुनै खास एक जना व्यक्तिबाहेक अरू कसैको कुनै महत्व नै नभएको समूहमा आबद्ध भइरहनुको कुनै तुक नभएको हुँदा पार्टी कार्यकर्तामा विकर्षण पैदा भएको छ भन्ने तथ्य सार्वजनिक रूपमा स्विकार्न विशेष व्यक्तिको गुणगानबाट नै मात्र जो कसैको अस्तित्व कायम हुने वा व्यक्तित्व विकास हुने समूहलाई गाह्रो पर्ने ने भयो । मुर्दामाथि कात्रो भने झैं पार्टी पंक्तिमाथि लागेको अनगिन्ती भ्रष्टाचारको आरोपका कारण कतिपय कार्यकर्ता बिच्किएका छन् ।

ठुलो संख्यामा कार्यकर्ताको विदेश पलायन अर्को पाटो हो । तत्कालको लाभको हरहिसाब गरेर कुनै व्यक्तित्वको आकर्षणका कारण नौला जमातमा मिस्सिनेको संख्या पनि ठुलै छ । त्यसो त एमाले अध्यक्ष केपी ओली आफ्नो वाक् चातुर्यको प्रयोग गर्दै भन्छन्, ‘नेकपा बन्दा माओवादीले मतदाता नामावलीबाट सर्लक्क सारेर चिन्दै नचिनेका मानिसलाई पानाका पाना सदस्य भनी देखाइदिएका कारण अहिले नवीकरण गर्नेको संख्या ह्वात्तै घटेको हो ।’

एमालेमा समस्याको मूल जड नै यही हो । ओलीले भनिसकेपछि सकियो । कुनै पनि विषयमा ओलीको निक्र्यौल वा बोली भन्दा एक इन्च पनि अगाडि पछाडि जाने छुट कसैलाई पनि छैन । हाल चलिरहेको विभिन्न भ्रष्टाचारको कारबाहीका सम्बन्धमा ओली भन्छ्न्, ‘ज्ञानेन्द्रको शासनकालमा शाही आयोग बनाएर देउवालाई भ्रष्टाचारको अभियोग लगाएर थुनियो । के त्यो भ्रष्टाचारविरुद्धको कारबाही थियो त ?’

अप्रत्यक्ष रूपमा उनी हाल चलिरहेको भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि राजनीतिक प्रतिशोध हो कि भन्ने शंका व्यक्त गर्दछन् । बडो मुस्किलले पुरानै घिसिपिटी संवाद बोल्छन्, ‘कुनै दोषी नछुटून् तर कुनै निर्दोष नफसून् ।’

अहिले भ्रष्टाचारविरुद्ध भइरहेको कारबाहीको समर्थन गर्न उनलाई गाह्रो छ र त्यसैकारण बडो चलाखीपूर्ण ढंगले उहिले ज्ञानेन्द्रले शाही आयोग बनाएर शेरबहादुर देउवालाई थुनेको घटना सम्झाउँछन् । अनि, एक क्विन्टल सुन तस्करीमा चाहिँ झटपट जुलुस निस्किन्छ । यती काण्ड जस्ता फाइल खोलियो भने आफू सिधै नभए पनि आफ्ना निकटतम माथि झुन्डिन सक्ने तरबारको त्रासले उत्तिकै सताएको छ । ओलीको भनाइको अन्तर्यमा जाने हो भने उनको आफ्नो जमात वा समर्थक कसैमाथि पनि बाछिटा आउने कारबाही स्वतः ‘राजनीतिक स्टन्ट’ हुन्छन् । अब विचरा एमालेजनका लागि यहाँ पनि दुर्भेद्य सीमा तोकियो । कसैले पनि भ्रष्टाचारविरुद्धको कारबाही’bout टिप्पणी गर्दा ओलीजीको वाणी सर्लक्क टिप्नुभन्दा अर्को विकल्प छैन । के बोल्न हुने के नहुने ? कुन कारबाही ठिक र कुन गलत ! ओलीजीबाट ‘बक्साएर’ मात्र बोल्नुपर्छ होला !

प्रधानमन्त्री पुष्पकमल दाहालले गेरुबस्त्र लगाएर उज्जैन महाकालेश्वर मन्दिरमा पूजा गरेकोमा ओली राष्ट्रियताको अपमान भएको देख्छन् र मज्जैसँग आलोचना गर्छन् । तर, विद्यमान सरकारको बारम्बारको इन्कारीका बाबजुद चिनियाँ पक्षले पोखरा विमानस्थल निर्माणलाई बिआरआई परियोजनाअन्तर्गत भएको भन्ने दाबी’bout प्रश्न गरिँदा ओलीजीको चतुर जवाफ आउँछ, ‘बिआरआई शब्दसँग केको दुष्मनी ?’ सायद उनको अत्यन्तै प्रखर राष्ट्रवादले चीनको कुनै पनि अर्घेल्याईँविरुद्ध एक शब्द पनि बोल्न अनुमति दिँदैनन् । ओली बिआरआईको अन्तर्यमा जानै चाहँदैनन् । उनलाई थाहा छ, बिआरआईभित्र प्रवेश गरियो भने समर्थन गर्न गाह्रो हुन्छ र आलोचना गर्न उनलाई ‘जात’ले दिँदैन ! कम्युनिस्ट नामकै कारणले मात्र पनि ‘सर्वोच्च चर्च’का विरुद्ध जान त मुस्किलै भो नि ! दोधारे तरबारको चेपमा परेको अवस्था छ । अत्यन्तै चर्को राष्ट्रवादी छविबीच परम्परागत आराध्यको आलोचना गर्नबाट जोगिनुपर्ने । कुनै बेला भगवान् कोही छ भने माक्स मात्रै छन् भन्ने ओलीजी झटपट पशुपतिमा सुनको जलहरी चढाउन पनि पुग्छन् । राष्ट्रवादी बन्न महाकालेश्वरमा प्रचण्डले लगाएको गेरुबस्त्रमाथि व्यंग्य गर्नुपर्ने तर महाकालेश्वर पुजकले पनि सम्मान र श्रद्धाका साथ पुज्ने पशुपतिनाथको पूजा पनि गर्नुपर्ने ! कत्रो दुविधा ! दुष्मनको आलोचना गरेर राष्ट्रवादी बन्नुपर्ने अनि त्यही दुष्मनको अप्रत्यक्ष रातिराति नै भए पनि आराधना पनि गर्नुपर्ने !

ओलीजी आज पनि नेपालको राजनीतिक परिदृष्यमा तुलनात्मक रूपमा सबैभन्दा ‘आकर्षक’ व्यक्ति हुन् ! उनको वाकपटुता र चातुर्य अद्वितीय छ । यो एमालेको सबैभन्दा ठूलो सम्पत्ति हो । तर, यो नै एमालेका लागि सबैभन्दा बोझिलो दायित्व पनि सावित हुँदै छ । ओलीबाहेक अरू कोही पटक्कै बिक्दैनन् र त्यसैकारण एमालेभित्र ओलीको कुर्कुच्चासम्म पुग्ने पनि कोही छैनन् । सम्भाव्य भनिएका कसैले प्रयाससम्म गरेको पनि देखिन्न । सम्भवतः त्यस्तो प्रयासलाई नेतृत्वविरुद्धको बगावत मानिन्छ कि ! आखिर तत्कालै दुई नम्बर हुन खोज्दा पचासौं नम्बरतिर धकेलिने डरले सताउँछ नै । एमालेभित्र ओली पछिका भनिनेहरू प्रायः सबै अत्यन्तै बामपुड्का देखिन्छ्न् । यस्ता बामपुड्काबाट वैचारिक वा व्यावहारिक धारको अपेक्षा गर्ने कुरै भएन, नेतृत्वको त कल्पना नै नगरौं !

कागजमा जेसुकै लेखिए पनि आज एमालेमा सैद्धान्तिक स्पष्टताको अभाव छ र वैचारिक पथ’bout अन्योल छ । यही कारणले अडान र प्रस्तुतिमा पनि असमन्जस्यता छ । अन्तरंग कुराकानीका क्रममा त स्वयं ओलीजी पनि आफू कम्युनिस्ट नभएको मान्छ्न् होला ! तर, कम्युनिस्ट ट्याग छोड्यो भने निक्कै ठुलो नोक्सानीको डर छ । ओली आफूलाई विदेश नीति’bout ‘असंलग्न’ नामको सुगा रटाइले मुलुक र पार्टी दुवैलाई कतै पु¥याउँदैन भन्ने हेक्का हुनुपर्छ । तर, बिगतको झन्डै तीन पुस्तादेखि प्रचलित एक विशेष ध्रुव विरोधी प्रस्तुति छोडियो भने आफ्नो ‘महान राष्ट्रवादी’ छवि धुमिल हुन्छ र आफ्नो उभिने जमिन नै पुरै भासिन्छ भन्ने डरले सताउँछ । ओलीलाई संघीयता वा वर्तमान प्रदेशगत संरचना पटक्कै मन परेको छैन, तर सिधा संघीयता खारेजको प्रस्ताव राख्ने हिम्मत छैन । यस्तै अप्ठ्यारो धर्मनिरपेक्षताका सम्बन्धमा पनि हुन सक्छ । एमाले अरूले अपजस बोकिदिएर संघीयता खारेज होस् भन्ने चाहन्छ । सम्भवतः ओलीजी व्यक्तिगत रूपमा भ्रष्टाचारप्रति निर्मम हुन पनि तयार होलान्, तर कारबाहीका बाछिटा आफ्नो बैठक र कोठासम्म आइपुग्ला भन्ने डर पनि छ ।

एमालेभित्र जताततै अन्योल छ र असहजता छ । निकटतम भविष्यप्रति चिन्ता पनि पक्कै छ । यदि, केही छ भने सर्वपुँजीका रूपमा ओलीजीको बाकपटुता र धुत्र्याइँले भरिएको तत्कालका लागि अत्यन्तै आकर्षक व्यक्तित्व छ । फगत यस्तो व्यक्तित्वले कुनै राजनीतिक दललाई निक्कै लामो बाटो डो¥याउन सक्दैन भन्ने हेक्का पनि त्यहाँ भित्रका पात्रलाई होला । तर विकल्पका रूपमा प्रस्तुत हुन त परै जाओस्, मौन भएर पर्खिने क्षमतासम्म पनि कसैमा देखिँदैन । अत्यन्तै असहज र अस्पष्टताबीच गुज्रिरहेको एमाले दलमा राजनीतिक उत्तराधिकारको झिनो सम्भावनासम्म नदेखिनु चिन्ताको विषय हो ।

एमाले नेपालको प्रमुख प्रतिपक्षी दल मात्र होइन । यो दल कुनै पनि समय सत्ताको केन्द्रबिन्दुमा आउन सक्ने जमात हो । यस्तो महत्वपूर्ण राजनीतिक दलको यो कन्तबिजोग वास्तवमा मुलुक र लोकतन्त्रका लागि नै ठुलो चासोको विषय हो ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै