दार्चुला । दार्चुलामा ट्राफिक प्रहरीले बसका चालकलाई हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नविन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीलाई हातपात गरेका हुन ।
आइतबार बिहान ६ बजेतिर महेन्द्रनगरबाट रात्री बस चलाएर गोकुलेश्वर पुगेका चालक खत्रीलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले खत्रीको कठालो समात्दै कुटेका हुन। आइतबार बिहानै गोकुलेश्वर पुगेका बस चालक खत्रीलाई बजारमा हर्न बजाएको भन्दै ठगुन्नाले कुटेको प्रत्यक्षदर्शीले बताए ।
हर्न बजाएको भन्दै निहुँ खोजेर ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए ।
‘हर्न बजाएको निहुँ खोज्दै बसबाटै कठालो समातेर बाहिर निकाली हातपात गरे,’ उनले भने, ‘विहान ६ बजे महेन्द्रनगरबाट सवारी ल्याएर गोकुलेश्वर पुगे। बजारमा बस, जिपहरुको भिड थियो। बस पार्किङमा राख्दै गर्दा हर्न बजाएको थिए, त्यहीँ निहुँमा मलाई बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै ठगुन्नाले पोष्ट सम्म ल्याए।’
गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । सडकमै सवारी साधन रोकिएका थिए। त्यही भिडको बिचमा खत्रीको पनि बस थियो। उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए ।
बसका चालक खत्रीलाई हर्न बजाएको निहुँ खोज्दै ठगुन्नाले कुटेको भन्दै महाकाली यातायात, पवनदुत यातायातलगायत अन्य यातायात व्यवसायीहरुले बस, जिपहरु बिच सडकमा लगाएर विरोध गरेका थिए ।
उनीहरुले ट्राफिक हवल्दार ठगुन्नालाई कारबाही गर्नु पर्ने र सबैको अगाडी माफी माग्नुपर्ने माग राख्दै विरोध जनाएका थिए । ठगुन्नाले आफूबाट गल्ती भएको भन्दै चालक खत्री र सबै यातायात व्यवसायीहरु समक्ष माफी मागेपछि बस, जिपहरु बिच सडकबाट हटाइएका हुन् ।






