भारतले गण्डक नहरमा सम्झौता अनुसार दिएन पानी

वीरगन्ज । घडेरीले सताएको यो बर्ष भारतले झन गण्डक नहरमा सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईको पर्सा, बारा र रौतहटका किसान प्रताडित भएका छन् । आकाशे पानी समेत नपरेको यो बर्षात्मा गण्डक नहरमा समेत भारतले सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईका किसान प्रताडित भएका हुन् ।

नेपाली किसान प्रताडित

सम्झौता अनुसार निर्धारित समयभन्दा दुई महिना ढिलो गरी भारतले बल्ल नहरमा पानी छोडे पनि त्यो साढे ४ सय क्यूसेक जति मात्र पानी आउने गरेको खुलेको छ । भारतसँगको सम्झौतामा उसले गण्डक नहरमा साढे ८ सय क्यूसेक पानी छोड्ने उल्लेख छ । तर उसले चालु सिजनमा जम्मा आधा जति मात्र पानी छोडेको गण्डक नरहेको नेपाल तर्फको जिम्मेवार निकाय नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।

बर्षात्को धानबालीका लागि बैशाख २७ गतेबाट कार्तिक ८ (मे १० तारेखदेखि अक्टुवर २५ सम्म) र गहूँ बालीको लागि पुस १० गतेबाट चैत ११ गतेसम्म गण्डक नहरको पानी छोड्ने भारतसँग सम्झौता भएको जनाइएको छ । तर पनि उसले असार १५ गते मात्र पानी छोड्ने गरेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले नै जनाएको छ । यो बर्ष पनि गएको असार १५ गते नै भारतले पानी दिन थालेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर तथा सूचना अधिकारी सुरेश प्रसाद साहले बताए । झण्डै ५० बर्ष पुरानो नहरको कारण आफ्नो तर्फ नहरको मर्मत कार्य गर्नु परेको भन्दै भारतले एक–डेड दशक अगाडीबाट ढिलो गरी अर्थात असार १५ मा मात्र पानी छोड्न थालेको उनको भनाइ छ ।

सम्झौताको आधा जति मात्र पानी नेपाल आउँदै
मध्य तराईमा अझै मुल फुट्ने गरी आकाशे पानी पनि नआएको यो बर्ष पर्सा, बारा र रौतहट तीन जिल्लाको साढे ३७ हजार हेक्टर जग्गा सिञ्चित गर्ने गण्डक नहरमा सोमबार ४ सय ६६ क्यूसेक मात्र पानी आइरहेको नारयाणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका ईन्जिनियर तथा सूचना अधिकारी साहले बताए । सोेमबारको रेकड अनुसार ४ सय ६६ क्यूसेक मात्र पानी छ उनले भने ।

खडेरीले सताएका पर्सा, बारा र रौतहटका किसान हरेक दिन जसो धान रोप्ने पानी नै नभएको भन्दै पानी माग्दै नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जमा पनि आउने गरेको त्यहाँका कर्मचारीले बताए । किसानको माग अन्यथा नभएको ती कर्मचारीको भनाइ छ । हप्तामा चार दिन बारा र रौतहट तथा तीन दिन पर्सामा पालो गरेर पानी वितरण गर्दा पनि किसानको माग अनुसार पानी पु¥याउन नसकिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ । गण्डक नहरबाट तीन जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य नेपाल तर्फको छ । तर वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी छोड्ने गरेको छैन ।

विगतका बर्ष यो अवधिसम्म ७५ प्रतिशत बढि खेतमा धान रोपाईं सकिने गरेको मध्य तराईमा यो बर्ष बाराको ११ नम्बर व्लकसम्म मात्र पानी पु¥याउन सकिएको नारायणी सिंचाइका सूचना अधिकारी साहले राजधानीसँग बताए । अहिले तीनवटै जिल्लामा गरी ६० प्रतिशत जति मात्र धान रोपाई भएको स्थानीय कृषि ज्ञान केन्द्रहरुले जनाए ।

नेपाली टोलीको भेटपछिको प्रयास पनि भएन सार्थक
केही दिन अगाडी कार्यालय प्रमुख सहितको टोली भारतमा नै पुगी त्यहाँका जिम्मेवार कर्मचारीसँग गण्डक नहरको पानी छोड्ने कुरा गर्दा पनि आफ्नो तर्फ नहरको अवस्था ठिक नभएको भनी पूरा पानी दिन नसक्ने उसले जनाएको खुलेको छ । खास गरी भारतले आफूलाई पानी पुग्ने भएपछि वा पुगेपछि मात्र नेपाललाई पानी दिने गरेको रहस्योद्घाटन भएको छ । नेपाल तर्फ आउने नहर तर्फको भाग थोरै अग्लो र भारततर्फ थोरै होचो गरी निर्माण भएको नहर बर्षात्को भेल नआउँदासम्म उसले खासै नेपाल तर्फ नछोड्ने गरेको त्यहाँ गएर प्रत्यक्ष हेरेर एक जानकारले खुलासा गरे । खडेरी परेको बर्ष नेपाल तर्फ पानी पठाउन पनि उनले आनाकानी गर्ने गरेको नौलो कुरा नभएको नारायणी सिंचाई कार्यालयबाट अवकाश प्राप्त एक कर्मचारीले उसको कर्तुत सम्झाउँदै भने । खडेरी लम्बिएको यो बर्ष भारतीय पक्षले उसको क्षेत्रमा नहर मर्मत गर्ने भन्दै झन विलम्ब गरी पानी छोडेको पनि खुलेको छ ।

भारतको झमरी नदी क्षेत्रमा यो बर्ष पनि लिकेज
भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै भारतीय पक्षले यो बर्ष पनि करिब २ साता नहरको मर्मत सम्भारको काम गरेर सम्पन्न गरेको जनाएको सिंचाइ कार्यालयले जनाएको छ । यस वर्ष धान बाली सिजनमा भारतीय भूमिमा २ सय २० आरडीमा नहरको मुख्य संरचनामै लिकेज भएपछि भारतीय पक्षले त्यहाँ नहर मर्मत सम्भारको काम गरेको जनाएको सूचना अधिकारी इन्जिनियर साहले बताए । पाँच दशक अगाडी नै निर्माण भएको नहरको संरचनामा समय–समयमा समस्या आउने गरेको चाही नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले पनि जनाएको छ । तथापि सम्झौता अनुसार साढे ८ सय क्युसेक पानी दिने कुरामा भने भारत जहिले पनि चुकेको छ । यसका लागि कर्मचारी तहबाट मात्र गरेको सम्बादले नहुने र अब सदनमा सांसदहरुले पनि यस ’boutमा कुरा उठाई सम्बन्धित पक्षसँग पनि ठोस सम्वाद गर्न पर्ने नारायणी सिचाइ कार्यालयका कर्मचारीले सुझाव दिए ।

निर्माण र चावी नै भारतको हातमा
सम्झौता अनुसार गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्ने गरेको छ । नहर निर्माण भएदेखि नै भारतीय पक्षले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लाने गरेको जानकार कर्मचारीहरु बताउँछन् । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहरको पानी प्रयोगको सम्झौता गरेको थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर नेपाल तर्फ पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ कि.मि. रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा