समदुरीलाई ख्याल गर

पछिल्लो समय दुई छिमेकी देश भारत र चीनका शीर्ष नेताको नेपाल भ्रमण बाक्लो हुँदै जान थालेको छ । छिमेकीसँगको सम्बन्धमा गाढापन आउनु र भेटघाट बाक्लो हुँदै जानु राम्रो कुरा हो । यसले मित्रता प्रगाढ बनाउँछ भने भएगरेका कमीकमजोरी समयमै सच्याउने तथा अघि बढ्ने मौका र अवसर पनि प्रदान गर्दछ । भेटघाटका क्रममा नेताले आपसीसम्बन्ध विस्तार नै भएको कुरामा जोड दिएका छन् । त्यसो त नेपालका नेतातथा सरकार प्रमुख पनि दुवै छिमेकी देशसँगको भेटघाटमा व्यस्त नै छन् । भेटघाट एकपछि अर्को गरी लगालग भइरहेको देखिन्छ ।

छिमेकी देशको नेपालसँगको सम्बन्ध बहुआयामिक छ । नेपाल पनि भूरणनीतिक महŒवको स्थानमा अवस्थित छ । त्यसमाथि उत्तर तथा दक्षिणका दुवै छिमेकी देश विश्वका महाशक्तिका दावेदारको हैसियत बनाउँदै अघि बढिरहेकाले पनि नेपालसँगको सम्बन्धमा केही नवीनतम् कडीहरू जोड्न आवश्यक भइरहेको देखिन्छ । समय बदलिँदो छ । पछिल्लो समयमा त विश्वमा अनिश्चितता पो आउने हो कि भन्ने भयले पनि केही बढी काम गरिरहेको छ ।

अनिश्चितताको भयले पनि छिमेकी सम्बन्धमा केही थप सुधार र परिमार्जनका कुरा अघि ल्याउन बाध्य बनाएको छ । साथै, महाशक्ति राष्ट्रका आआफ्ना इच्छा र चासोले पनि स्वाभाविक रूपमा काम गरिरहेका छन् । विश्व अहिले सिंगो वैश्विक सञ्जालमा जोडिइसकेको छ । कोही पनि इच्छा वा चाहनाले अलग हुन सक्ने अवस्था छैन । एक अर्काका स्वार्थ एकापसमा बाझिइरहेका पनि छन्, सहयोगी सिद्ध पनि भइरहेका छन् । यसले पनि नेपालको सन्दर्भमा छिमेकी तथा अन्य मित्र राष्ट्रका चलखेल र दौडधुपमा केही बढी तीव्रता नै ल्याएको छ ।

दैनिकजसो भारतीय नेता आए, चिनियाँ नेता आए, नेपाली नेता विदेश भ्रमणमा गएजस्ता कुराहरू सुनिइरहन्छन् र देखिइरहन्छन् पनि । यो आजको आवश्यकताले सिर्जना गरेको वस्तुगत परिस्थिति हो । संसारमा र नेपालका सन्दर्भमा पनि सिर्जित नयाँ वस्तुगत परिस्थितिले नयाँ खालको आत्मगत परिस्थितिको माग गर्दछ । त्यो अमूर्तरूपमा छलफल, विचार, विमर्श र कूटनीतिक सम्बन्धमा अभिव्यक्त होला । तर, व्यवहारमा भने यसले मूर्तताको माग गर्दछ । परिणामतः दुई देश, त्रिदेश वा बहुदेशीय सम्बन्धमा यसले ठोस निर्णय र त्यसको कार्यान्वयनको माग गर्दछ ।

एक देशले अर्को देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने भएकाले स्वरूपमा यी भेटघाट शिष्टाचार भेटघाट भए पनि बदलिएको परिस्थितिअनुसार आफू र आफ्ना छिमेकीको आत्मगत अवस्थामा परिवर्तन ल्याउन यी भेटघाट पेचिला नै साबित हुने गरिरहेका छन् । नेपाल अहिले विश्व महाशक्ति राष्ट्रको प्राथमिकतामा छ ।

नेपालमा छिमेकी देशका अतिरिक्त मित्र राष्ट्र अमेरिकाको पनि प्राथमिकतामा छ । नेपाल सरकारले दक्षिणी छिमेकी भारतसँग विप्पालगायतका सम्झौता गरिसकेको छ । उत्तरी छिमेकी चीनको ओबिओआरमा पनि साथ दिइरहेको छ । साथै, मित्र राष्ट्र अमेरिकाको एमसिसी पनि सार्वभौम संसदबाट पारित गरिसकेको छ । यी सबैले सहमति र सम्झौताको कार्यान्वयनका लागि नेपाल सरकारसँग जोडदार माग र पहल गरिरहेका छन् । यसले पनि नेपालमा विदेशी नेताको भेटघाटमा तिव्रता आएको हो । यी सबैको केन्द्रमा नेपालले आफ्नो सार्वभौम स्वार्थ र त्यसको रक्षामा ध्यान दिनुपर्छ । सबैैसँग मित्रवत् र समदुरीको व्यवहारमा अडिग रहनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी