खोटाङ । उपचारका लागि अस्पताल गएकी खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी तारा खत्री खड्का सम्पर्क विहिन बनेकी छन् । उपचारका लागि गत जेठ १९ गते नोबेल अस्पताल बिराटनगर गएकी खड्का असार १२ गतेदेखि सम्पर्कविहिन बनेकी हुन् । बिराटनगर पुग्दासम्म सम्पर्कमा रहेकी श्रीमतीले जेठ २० गतेदेखि सम्पर्क टुटाएको श्रीमान केशव खड्काले बताए । जेठ २५ गते आफन्तको सम्पर्कमा आएकी खड्काले मोबाईल हराएकाले सम्पर्क विहिन बनेको बताएकी थिईन् ।
अचानक असार १२ गते फोन सम्पर्क हुँदा ताराले भारतको एउटा साबुन उद्योगमा काम गर्न थालेको र नेपाल निस्कने काम परेकाले मात्र फोन लागेको बताएर फोन कटाएकी थिईन् । ताराले झापा चारआलीका हरिराम राजबंशीको नाममा निकालिएको दुई वटा नम्बरबाट पनि आफन्तलाई फोन गरेकी थिईन् ।
उपचारमा जाने सल्लाह भएपछि केशवले तारालाई रोक्सिङभञ्ज्याङ पुराएर गाडी चढाएर पठाएका थिए । तारा सम्पर्कबिहिन बनेपछि दुई छोरी र एक छोराको रुवाबासी भएको छ । हाल ताराले चलाउने सबै नम्बर अफ छ । उनको खोजीका लागि परिवारकातर्फबाट जेठ २५ गते प्रहरी चौकी वाप्लुखामा हुलिया दिइएको छ ।
तारामाथि तीन तोला सुन र १० तोला चाँदी बेपत्ता बनाएको, गाउँमा चार लाख ऋणमा पारेको र काष्ठ व्यवसायबाट कमाएर पठाएको तीन लाख हिनामिना गरेको श्रीमान केशवको आरोप छ । तारा बेपत्ता नभै दोश्रो विवाह गरेर बसेको कतिपयको अनुमान छ । तर अहिलेसम्म यकिन नभएको वाप्लुखाका वडाध्यक्ष पारस राईले बताए ।






