
इलाम । ज्ञान दिल दास इलाममा जन्मिएका भए पनि उनको चर्चा बढी दार्जेलिङ र सिक्कममा छ । जिल्लाको फाकफोकथुम गाउपालिका ३ आमचोकको जोरधारामा जन्मिएका उनी धार्मिक प्रचारका क्रममा दार्जेलिङ र सिक्कममा रहेको हुँदा उनको चर्चा उता भएको हो । भारतमा निकै चर्चामा रहेका उनको जन्मस्थललाई धार्मिक स्थलको रुपमा विकास गर्न गाउँपालिकाले काम गरिरहेको छ । इलाममा जन्मिएका ज्ञान दिल दासको जन्मस्थललाई पर्यटकीय स्थल बनाउन पालिकाले काम थालेको हो । जिल्लाको फाकफाकथुम गाउँपालिका ३ आमचोकमा जन्मिएका ज्ञानदिलको जन्मस्थल नेपालमा भएर चर्चा पाउन नसकेको भन्दै पालिकाले प्रचारको काम थालेको हो ।
ज्ञानदिल दासको जन्म स्थललाई धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले त्यस बिषयमा छलफल गर्न पालिका अध्यक्ष सहितको टोलि भारत गएको छ । टोलि ज्ञानदिल दासको समाधी स्थलमा साउन २५ देखि आयोजना गरिएको तिन दिने कार्यक्रममा सहभागि हुन भारत गएको हो । फाकफोकथुम गाउँपालिका वडा–३ मा जन्मिएका पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।
खनालले भारतमा गुरु ज्ञानदिल दासको धेरै चर्चा रहेको भएपनि गुरुको जन्म भुमि आमचोक भने गुमनाम जस्तै रहेकाले यसैको प्रचार गर्ने मुख्य उदेश पालिकाको रहेकोे बताए । उनले यहि कार्यक्रम मार्फत सिक्किम र फाकफोकथुमलाई धार्मिक पर्यटनमा जोड्न पहल समेत गरिने बताएका छन् ।
सिक्किमतिर उनलाई आगोको देवताका रूपमा समेत पूज्ने चलन छ । एक पटक सिक्किममा ठूलो आगलागी हुँदा उनले एक व्यक्तिलाई जल्नबाट बचाएका थिए । उनमा दैवी शक्तिसमेत भएको किंवदन्ती छ । ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

सन् १८२१ मा फाकफोकथुम–३ आमचोकमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्धान थिए । जोसमनी सन्त परम्पराको प्रचार गर्दै उनी भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुगेका हुन् ।
महाँगुरु फाल्गुनन्द फलामसिंह लिम्बू गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोसमनी साधु ज्ञानदिल दासका चेला मधुनन्दसँग सतसंग गरी जोसमनी मतमा दीक्षित भएर गुरुपन्जा पाइ फलामसिङ्हबाट साधु फाल्गुनन्द भएर वि.स. १९७५ मा नेपाल फर्की आए भनिएको छ । यसले के देखाउँछ भने महागुरु फाल्गुनन्दका गुरु मधुनन्दन र मधुनन्दनका पनि गुरु सन्त ज्ञानदिल दास रहेको पुष्टि हुन्छ । बाबुलाई छोराको साथ ः उनका छोरा सन्त रविदिल दास हुन् । ओखलढुंगाको रुम्जाटारमा उनका नाति दिलराम लामिछानेको परिवार छ । आफ्नै बुबाको धर्मप्रचारक सन्त रविदिल दास पनि हुन् । उनले पनि जोसमनी धर्म, आचार, विचार र समाजसेवामा जीवन बिताए । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले रुम्जाटारलाई केही समय मुख्यथलोको रूपमा लिएर धर्म प्रचार समेत गरे ।

उनको उदय लहरी नामक कृति प्रमुख थियो । त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिए । इलामबाट जोसमनी धर्मको प्रचारको सिलसिलामा यिनी दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरी लामो समय बसेक थिए । त्यही क्रममा १८७७ सालतिर उदय लहरीको रचना गरेका थिए । उदयलहरी १०९ पद्यमा लेखिएको कृति हो । यो झ्याउरे लयमा लेखिएको छ । दार्जीलिङमा रहँदा लेख्न सुरू गरेको उदय लहरी यात्राको क्रममा सिक्किम पुगेर पूरा गरेका थिए ।
नेपालबाट दार्जिलिङ पस्नुअघि ज्ञानदिल दासले नेपालका विभिन्न ठाउँमा जोसमनी मतको व्यापक प्रचार–प्रसार गरेका थिए । उनले पूर्व नेपालमा जोसमनी सङ्गठनलाई बलियो बनाउँदै धर्म प्रचार गरेका थिए । ज्ञानदिल दास र उनका छोरा रविदिल दासको ओखलढुंगाको सिद्धिचरण नगरपालिका १३ मा पर्ने रुम्जाटारमा सालिक निर्माण भएको छ । इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।
नेपालमा १९०३ सालमा जङ्गबहादुर राणाले कोतपर्वमार्फत आफ्ना सम्पूर्ण विरोधीलाई समाप्त पारी हैकम चलाए । जङ्गबहादुरको शासनविरूद्ध बोल्नेलाई फाँसीको सजाय सुनाइएको थियो । जङ्गबहादुरलाई उनीविरुद्ध जनचेतना फैलाउन गुप्त सङ्गठनहरू बनाउन सुरू गरिएको आशंका भयो । उनले ज्ञानदिल दासलगायत उनका अनुयायीलाई विभिन्न ठाउँबाट पक्राउ गरी काठमाडौं लगे । यिनको विद्रोह दमन गर्न जङ्गबहादुरका भाइ धीरशमशेरले ठूलो सैनिक कसरत गर्नु परेको थियो । यसरी केन्द्रबाट खटिएर गएको सरकारी फौजले सन्त ज्ञानदिल दास, कालु लम्साल, लखन थापा, अजिर सिंह अछामी मगरलाई पक्राउ गरी बाँसको पिँजडा र खोपीमा थुनेर काठमाडौं लगियो । पछि यिनीहरुलाई पुनः गोर्खा नै पठाइयो । सन्त ज्ञानदिल दास गोर्खाबाटै प्रचारकै क्रममा पक्राउ परेका थिए । उनी साधु भएकाले र कालु लम्साल ब्राह्मण भएकाले मृत्युदण्डबाट बचे भनिएको छ ।

उनीहरुलाई जेलमा बन्दी बनाएरै राखियो, अनि ६ महिनासम्म कैद गरी उनको अध्ययन गरे । तर, यस ६ महिनाको अवधिमा ज्ञानदिल दासको राजकाज र राजनीतिसँग कुनै सरोकार नरहेको र उनी विशुद्ध कवि र धर्मप्रचारक रहेको टुङ्गो लागेपछि स्वयं जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर उनलाई स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिए ।
ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ । पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान् मरे पनि अर्काे विवाह गर्न नपाउने प्रथाको यिनी कट्टरविरोधी थिए । वेद, पुराणको निन्दा पनि गर्दैन थिए तर त्यसको मूलमर्म नबुझीकन् अनेक प्रकारका आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहितप्रति उनको सधैँ विद्रोह भाव थियो । लेखक ज्ञानदिल दास राणाकालमा निकै विद्रोही देखिए । छुवाछुतको विरोध गर्थे । ‘छुवाछूत जातिपाति यहाँको फाँसी, हाम्रो घर अविनाशी ।’ भन्ने उनले नारा नै तय गरेका थिए । ज्ञानदिल दास हिंसाविरोधी र अहिंसाका पुजारी थिए । हिंसा गरी मांसभरण गर्ने मानिसलाई अधर्मी होइन तर अज्ञानी ठान्थे । मानव समाजमा छुवाछुत जस्तो घृणित प्रथा हटाउनुपर्छ, मानवमा जातको होइन कर्मको मात्र मुल्य र महत्व हुन्छ भन्ने कुरामा विश्वास राख्थे ।

सन्त ज्ञानदिलले दिउँसै हातमा विशाल राँंको लिएर शिङ्ला बजारमा जात खोज्दै घुमे । सिक्किममा ब्राह्मणले ब्राह्मणोत्तर साधुहरूको गोडा ढोगेमा त्यस ब्राह्मणलाई जातबाटै हटाउने र जातच्यूत गर्ने शासकीय धम्की दिँदा ज्ञानदिल दासले सिङ्गलाबजारमा मध्येदिनमा सिंगै घना बाँसका भाटाको विशाल राँको बोकेर चेलासहित समर्थकको जुलुस लिएर जात खोज्दै हिँडेका थिए । उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । ज्ञानदिलको प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्र्तिक २५ गतेका दिन निधन भएको थियो ।






