गायक जेबी टुहरेलाई जनगायकको उपाधि

काठमाडौं
‘आमा दिदी बहिनी हो
कती बस्छो दासी भई
सुखको सधैं प्यासी बनेर’
यस चर्चित गीतका गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)लाई हामीले गुमाएको पनि दुई वर्ष भयो । उनको दोस्रो वार्षिक पुण्यतिथि आउँदै गर्दा नेपाल सरकारले उनलाई ‘जनगायक’को उपाधि दिएको छ । सरकारले निकै लामो समयपछि यसरी श्रष्टालाई उपाधि दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले दिवंगत गायक टुहुरेलाई जनगायकको उपाधिको घोषणा गरेको हो । यस उपाधिबाट उनलाई दोस्रो वार्षिक पुण्य तिथिमा सम्मानित गरिने भएको छ ।

नेपाली जनवादी गीतमा जेबी टुहुरेको योगदानको उच्च सम्मान गर्दै उनलाई ‘जनगायक’को उपाधिबाट सम्मानित गरिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।

दिवंगत गायकको योगदानका ’boutमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एउटा फाइल पठाउँदै उनलाई जनगायकका रूपमा सम्मानित गर्नुपर्ने माग रहेको थियो । सो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकार गर्दै टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताएकी छन् ।

उनलाई जनगायकको उपाधि सरकारले प्रदान गरेकामा जेबी टुहुरे फाउन्डेसनले त्यसको स्वागत गरेको छ । उनको दोस्रो वार्षिक पुण्य तिथिको तयारीमा रहेका बेला यो उपाधि पाउनुले टुहुरेको योगदानको सही मूल्यांकन भएको फाउन्डेसनकी अध्यक्ष तथा उनकी छोरी निर्भीकाले बताएकी छन् ।

१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।

२०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेको उनले बताएका थिए । त्यसपछि उनी टुहुरेको नामबाट भूमिगत रूपमा जनगीत गाउँदै अघि बढेका थिए ।

उनको ‘आमा, दिदी, बहिनी….’ सहित आँधी खोलैले, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँमा, छोराहरू हो, के दियौ दाइजो, रातको अनिदो…’ सहित सयभन्दा बढी चर्चित जनवादी गीत छन् ।

स्कुले जीवनबाटै कम्युनिस्ट राजनीतिमा लागेको उनी माले, एमाले हुँदै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा आबद्ध थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकारसमेत थिए । उनको दुई वर्षअघि १० भदौ २०७८ मा पक्षघातका कारण निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा