मर्यादाको ख्याल गर !

आफ्नै लयमा महानगरपालिकाको काम अघि बढाइरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सामाजिक सञ्जालमार्फत भए गरिएका अभिव्यक्तिका कारण विवादमा तानिन पुगेका छन् । उनले निर्माणका काममा देखाएको परिपक्वता भने राजनीतिक अभिव्यक्तिमा हुन सकेको छैन । यही अपरिपक्वताले उनलाई विवादित बनाउँदै लगिरहेको छ । उनी आफैंमा स्वतन्त्र जनप्रतिनिधिका रूपमा निर्वाचित हुन पुगे पनि स्थानीय सत्तामा विराजमान छन् । उनी रहेको महानगरपालिका र प्रादेशिक तथा संघीय सरकारबिच अन्तरविरोध र विमति हुनु स्वभाविकै हो । त्यो अन्तरविरोध वैयक्तिक नभएर सार्वजनिक र जनताका हकहितका कुरालाई लिएर हुने र भए गरेका छन् । यो सामान्य जनताले पनि बुझिसकेका छन् । मेयर बालेन साहलाई आफूले चालेको काममा प्रदेश र संघले सहयोग नगरेको र उल्टै बाधा व्यवधान सिर्जना गर्ने गरेकोमा रोष छ । तर, यो रोष जनतामार्फत अभिव्यक्त गराउन उनी सचेत र चतुर रहनुपर्छ । जनता यो अन्तरविरोध समाधानका लागि आफ्नो हातमा भएको अस्त्र ‘भोटिङ राइट’ प्रयोग गरेर देखाउने दाउ पर्खिरहेका छन् ।

सामाजिक सञ्जालका फेसबुक वाल अहिले सबैका लागि सूचना तथा सञ्चार पाटी बनिसकेका छन् । बदनाम र अमर्यादित पात्रबाट जनताले त्यति ठुलो आशा पनि गरिरहेका छैनन् । तर, जोसँग आशा गरिरहेका छन्, ऊबाट शिष्टता र मर्यादाको अपेक्षा पनि गरिरहेका हुन्छन् । ताकि आफूहरूको रोजाइमा परेको मानिस अरूभन्दा फरक होस् । यति नै बेला मेयर बालेनले आफ्नो जिम्मेवारी र गरिमा बिर्सेर जथाभावी अभिव्यक्ति दिनु जनताका लागि पनि दुःखको कुरा हो । कुरा त यतिसम्म पनि बाहिर आइसकेको छ कि कतै मेयर बालेनले कुर्सीको गरिमा बिर्सेर दैनिक सीमा बाहिरका कुरा त बोल्न थालिरहेका छैनन् । जनताको अपेक्षा र आशा के हो भने महानगरका मेयरले सामाजिक मर्यादा नभुलून् । नेपाली जनता नेताहरूका ‘गाली राजनीति’बाट वाक्कदिक्क भएका छन् । अब गाली र गुलिया तथा फोस्रा नारा दिने नेता र जनप्रतिनिधिभन्दा काम गर्ने मानिस खोजिरहेका छन् । त्यसैले पनि बालेन साहको लोकप्रियतामा बढोत्तरी हुँदै आइरहेको हो । यो कुरा उनले भुले भने सबै जनप्रतिनिधि ‘उही ड्याङ’को वर्गीकरणमा पर्ने देखिन्छ ।

कहिलेकाँही रोष प्रकट हुनु स्वाभाविकै हो । तर, निरन्तर यसो भइराखेका सोच्ने अवस्था सिर्जना हुन पुग्छ । कोही पनि कानुनभन्दा माथि हुँदैन । उनले कसैले कारबाही गरेर देखाओस् भन्ने सोचेका हुन् भने यो ठुलो मूर्खतापूर्ण भुल हुन जानेछ । किनकि, ठुला दल मेयर बालेन अलोकप्रिय होऊन् भन्ने चाहिरहेका छन् । उता जनता भने मेयर बालेन कमीकमजोरीबाट बचून् भन्ने चाहिरहेका छन् । आफूमा रहेको र बेलाबलामा अभिव्यक्त हुने यस्ता भावनात्मक मानवीय कमजोरी सच्याउन उनी समय छँदै सतर्क हुनुपर्छ । सामाजिक मर्यादा र विवेकसँग जोडिएको यो कुरा बालेन भुल्नुहुँदैन । समाज रूपान्तरणको गतिमा छ । यो गतिलाई पछ्याउने जनप्रतिनिधिको खाँचो छ । यस्तो बेलामा ‘ल्याग बिहाइन्ड द सिचुएसन’को सिकार हुनबाट जोगिनैपर्छ । त्यसैले आफ्नो पनि र अरूको पनि मर्यादामा हेक्का राख !

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग