आत्महत्याको अन्तर्य

सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो लागेर मानिसले आत्महत्या गर्छन् । तर, यस किसिमको पीडा नहुँदा पनि कतिपय मानिसले रिसको आवेगमा आएर आत्महत्या गरेको पनि देखिन्छ । कतिपय मुलुकमा आत्महत्या तथा यसको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस पसधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर, मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक समस्या हो । यो समस्या पछिल्ला ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । त्यसैले, हिजोआज आत्महत्या मृत्युको एक प्रमुख कारण बनेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातांै स्थानमा पर्छ । नेपालमा पनि पुरूषको तुलनामा आत्माहत्या गर्ने महिलाहरूको संख्या निकै धेरै छ । आत्महत्या गर्ने महिलाहरूलाई मात्र हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । एक अध्ययनका अनुसार नेपालमा बर्सेनि औसत ८ हजार ६ सय ४० जना मानिसले आत्माहत्या गर्ने गरेका पाइएको छ । तर, यो संख्या अझ बढी हुनेसक्ने कतिपय मानसिक रोग विशेषज्ञहरूको दाबी छ । किन हुन्छ आत्महत्या ? कसरी गर्न सकिन्छ आत्महत्याको रोकथाम ? यी गम्भीर प्रश्न हुन् ।

महान् सामाजशास्त्री दुर्खाइमले आत्महत्याको समाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त निकै चर्चित छ । यसैगरी, अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका ’boutमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर, यहाँ उल्लेखनीय कुरा के भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारण हुनसक्छन् । तर, आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित भएका हुन्छन् । तर, सबै मानसिक रोगीहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन । १५ देखि २० प्रतिशत डिप्रेसनपीडितहरूले आत्महत्याको प्रयास गर्छन् । मानिसले डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनियाजस्ता मानसिक समस्याहरूका कारणले पनि आत्महत्या गर्छन् ।

प्रायः मानिसलाई डिप्रेस्ड बनाउने गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि तथा व्यक्तिगत, पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक कारणहरू जस्तैः परीक्षामा असफलता, प्रेममा बिछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ, व्यापार–व्यावसायमा घाटा तथा क्षति, धेरै ऋण । सामाजिक अपमान तथा बहिष्कार, आत्मसम्मानमा ठेस (जस्तैः झुटो आरोप, उपेक्षा, लांक्षना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती आदि), प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तद्र्वन्द्व, मद्यपान तथा दुव्र्यसन, पारपाचुके तथा आपसी सम्बन्धमा तनाब तथा कटुता, यौन समस्या, दाइजोसम्बन्धी समस्या । घरेलु हिंसा तथा पारिवारिक कलह, बेरोजगारी तथा आर्थिक समस्या, बलत्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास आदि कारणहरूले मानिसले आत्महत्या गर्नसक्छन् ।

मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक समस्या हो

जैविक दृष्टिमा हेर्ने हो भने आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचरण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसको मनमा प्रायः नकारात्मक विचारहरू पैदा हुने गर्छन् । यो जीवन के हो र ? केही पनि होइन । खाली दुःख पीडाको भवसागर हो । यस्ता दुःख पीडा सहेर बाँच्नुभन्दा त मर्नु नै वेश छ । मेरो भविष्य अँध्यारो छ । अब केही हुनेवाला छैन । म किन बाँचिरहेको छु । मेरो जीवन केही कामको छैन । म बाँच्नुको कुनै अर्थ छैन । धरतीको बोझ बनेर बाँच्नुभन्दा मर्नु निको छ । मेरो समस्या अब म मरे मात्र समाधान हुन्छ । यस संसारमा मेरो आफ्नो भन्ने कोही रहेनछ । अब म बाँच्नु र मर्नुमा के फरक रह्यो र ? यस्तो तिरस्कार तथा अपहेलना सहेर बाँच्नुभन्दा त मर्नु नै वेश छ । यो गधाको जस्तो जिन्दगी जिउनुभन्दा त मर्नु नै ठीक छ । जति मेहनत गर्दा पनि जीवनमा केही गर्न सकिनँ । मेरो कर्म नै फुटेको रहेछ । यस्तो फुटेको कर्म लिएर बाँच्नुभन्दा त मर्नु नै निको । मेरो यो रोग अब ठीक हँुदैन । मैले गर्दा सबैलाई दुःख भएको छ । अब म मर्नु नै ठीक छ ।

यदि, व्यक्तिको मनमा यस्ता प्रकृतिका विचारहरू लगातार आउँछन् र यस्ता व्यक्तिले आत्महत्या गर्ने योजना (प्लानिङ) पनि बनाउने गर्छन् भने यस्ता व्यक्तिले कुनै पनि बेलामा आत्महत्या गर्नसक्छन् ।

मनोवैज्ञानिक परीक्षणबाट आत्महत्याको सम्भावनाको अनुमान गर्न सकिन्छ । खासगरी डिप्रेसन तथा अन्य मानसिक समस्याहरूबाट पीडित व्यक्तिहरू, धेरै संवेदशील तथा बिनासोचविचार निर्णय गर्ने व्यक्तिहरू, मानसिक रूपमा अपरिपक्व तथा कमजोर मानिस, जो जीवनमा आउने सानोतिनो उतारचढावदेखि हायलकायल हुने गर्छन् । पारपाचुके गरेका वा एकल जीवन जिउने मानिस, असामाजिक व्यक्तित्व विकार तथा बर्डरलाइन व्यक्तित्व विकारका मानिस, १५ देखि २४ वर्ष तथा ४५ वर्षमाथिका व्यक्ति, आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको कोसिस गरेका व्यक्ति, अरूको ध्यान आकर्षित गरी चर्चामा आउन तथा आफ्नो कुरा लागू गर्न, आफैंलाई चोट(सेल्फहार्म) पु¥याउने प्रकृतिका मानिसहरूले आत्महत्या गर्ने सम्भावना बढी हुनेगर्छ ।

माथि भनिएझैं आमहत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले आत्महत्याको रोकथाम त्यति सरल छैन । तर, बृहत् प्रयासको थालनी भएको खण्डमा निश्चित रूपमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । त्यसो त विकसित मुलुकहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयास भएका छन्, प्रशस्त संघसंस्थाहरू खोलिएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।

तर, नेपालमा भने यस किसिमका संघसंस्थाहरू छैनन् भने पनि हुन्छ । भएका एकाध यस्ता संस्थाहरू पनि प्रभावकारी हुनसकेका छैनन् । त्यसैले, दिन प्रतिदिन द्रुतगतिमा बढ्दै गएका आत्महत्याका घटनालाई नियन्त्रण गर्नका लागि ठोस कार्यक्रम ल्याउनु आवश्यक छ । आत्महत्यालाई केवल पाप र अपराधको कोटीमा राखेर आत्महत्या न्यूनीकरण हुनसक्दैन । मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो । त्यसैले, मानसिक समस्याको उचित औषधि–उपचारको व्यवस्था तथा मानसिक समस्याग्रस्त व्यक्तिहरूको उचित स्याहारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वतः कम हुन्छ । तर, नेपालमा मानसिक स्वास्थ्य सेवाबाट अधिकांश नागरिक वञ्चित छन् । त्यसैले, मानसिक समाधानको उपचार सर्वसुलभ उपचार उपलब्ध गराउनेतिर राज्यले ध्यान दिनु आवश्यक छ ।

राज्यमा उचित शान्ति सुरक्षाको व्यवस्था, निष्पक्ष न्यायप्रणाली, विभेदपूर्ण शासनको अन्त्य तथा समाजिक न्याय भएको खण्डमा पनि आत्महत्याका घटनाहरूमा कमी आउँछ । तर, शासन सत्तामा बस्नेहरूले ब्रह्मलुट गर्ने अनि किसानले समयमा मलसमेत पाउन नसक्ने, गरिबले बिरामी पर्दा सिटामोलसमेत खान नपाउने स्थिति रह्यो भने आत्महत्याका घटना यसरी नै बढिरहनेछन् ।

आत्महत्यामा सामाजिकका साथै मनोवैज्ञानिक तथा शारीरिक कारणको पनि उत्तिकै भूमिका रहन्छ

तीव्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुखित भएका व्यक्ति आदिलाई तुरून्त उपयुक्त परामर्श तथा सहायताको आवश्यकता पर्छ । त्यसैले, यस्ता व्यक्तिहरूको विशेष रेखदेख गर्नुपर्छ । आत्महत्या गर्दा प्रयोग गरिने सामग्री तथा लागूपदार्थहरूको नियन्त्रण गर्ने हो भने पनि आत्महत्याको रोकथाममा टेवा पुग्छ ।

परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई अभिभावकले राम्रोसँग सम्झाएर–बुझाएर अगाडिको बाटो देखाउन सहयोग गर्नुपर्छ । यस्ता विद्यार्थीलाई अरूसँग तुलना गरेर गाली गर्ने तथा पिट्ने गर्नुहँुदैन । यसप्रति अभिभावक सचेत हुनुपर्छ । यदि, आफ्ना छोरा–छोरी परीक्षामा अनुत्तीर्ण भएर धेरै दिनसम्म उदास एवं निराश भएका छन् भने तुरून्त विशेषज्ञलाई भेट्नु उचित हुन्छ ।

सुरूदेखि नै बालबालिकाको उचित देखभाल गर्ने तथा उनीहरूको आहारबिहार ठीक राख्ने हो भने बालबालिका शारीरिक तथा मानसिक रूपमा स्वस्थ र मजबुत हुन्छन् । यस्ता मानिसहरूमा तनाब थेग्नसक्ने सामथ्र्य पनि बढी हुन्छ, जसले गर्दा यस्ता मानिसहरूले आत्महत्या गर्ने सम्भावना पनि कम हुन्छ ।

आत्महत्याका घटनाहरू रोकथाम तथा न्यूनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठुलो भूमिका हुन्छ । त्यसैले, आत्महत्या न्यूनीकरणका लागि ठाउँठाउँमा आत्महत्या रोकथाम केन्द्रहरूको स्थापना गर्नु आवश्यक छ ।

आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नुभन्दा पहिला प्रत्यक्ष वा परोक्ष रूपमा आत्महत्याका केही पूर्वसंकेतहरू प्रदर्शित गर्छन् । वास्तवमा यस्ता संकेतहरू सहायताका लागि पुकार हुन् । त्यसैले, यस्ता संकेतहरू बुझेर समयमै उसलाई उचित परामर्श तथा सहयोग गरेको खण्डमा निश्चिय पनि उसलाई बचाउन सकिन्छ । मुलुकका ठाउँठाउँमा हेल्पलाइनहरू संचालन गरेको खण्डमा मानसिक समस्या र आत्महत्या न्यूनीकरणमा ठुलो टेवा पुग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल