बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रूपमा रहेको ‘लोक देउडा’ जगेर्ना गर्न गौरा पर्वको अवसर पारेर देउडा प्रतियोगिता गरिँदै आएको छ ।
्गौरा पर्व चलिरहेका बेला र गौरा पर्व सकिएको केही दिनसम्म विभिन्न ठाउँमा देउडा प्रतियोगिता राख्ने गरिएको छ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पे बजारमा हरेक वर्ष देउडा प्रतियोगिता राख्ने गरिन्छ । देउडा प्रतियोगितामा विभिन्न ठाउँका देउडिया कलाकारले आफ्नो कला प्रस्तुत गर्ने गरेका छन् । यस वर्ष खोड्पेमा आयोजना गरिएको प्रतियोगितामा दर्जन बढी देउडियाहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
देउडा प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ नगदसहित पुरस्कार दिइने आयोजक समिति सदस्य मोहनसिंह बिष्ट बताउँछन् ।
खोड्पेमा पाटन नगरपालिका–८ को कार्यालय, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।
देउडा प्रतियोगितामा महिला÷पुरुषबीच वा पुरुष÷पुरुष वा महिला ÷ महिलाबीच हात जोडी गीतहरूको प्रतिस्पर्धा हुने गर्छ ।
देउडामा परापूर्वकालका शासक तथा वीर वीरंगनाका कथामा आधारित कुरादेखि वर्तमान राजनीति र फेसन तथा आधुनिक प्रचलनका कुराहरू समेटिन्छन् । कतिपय देउडियाहरूले देउडा खेलमै राजनीतिक बहससमेत गर्ने गरेका छन् । यसका साथै सामाजिक विकृतिहरू र समाजमा व्याप्त हानिकारक प्रचलनका विषयमा जनचेतना अभिवृद्धि गर्नसमेत देउडा गीतलाई माध्यम बनाएको पाइन्छ ।
पछिल्लो समय कतिपय देउडा खेलहरूमा देउडियाहरूले फरकफरक राजनीतिक दलको समर्थन गर्दै प्रस्तुत भएका पाइन्छ । तर, कतिपय प्रतियोगिताहरूमा भने राजनीतिक कुरा गर्न बन्देज लगाइएको हुन्छ । यसरी देउडा प्रतियोगिताको आयोजना हुँदा लोक संस्कृतिको जगेर्नाका साथै देउडिया कलाकारहरूलाई समेत प्रतिभा प्रस्तुत गर्ने मौका प्राप्त भएको अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन् । देउडा संस्कृतिले केही समयका लागि भए पनि सबै दुःख पीडा भुलाउने गरेको उनको भनाइ छ । पछिल्लो समय आयोजना हुने देउडा प्रतियोगिताहरूले लोक संस्कृति जगेर्नाका साथै संस्कृतिको पुस्तान्तरणमा सहयोग गरेको उनले बताए ।
देउडा खेलमा सहभागीहरू हातमा हात मिलाएर चारैतिर परिक्रमा गर्छन् । खेलको बीचमा र बाहिरपट्टि गीत सुन्न तथा हुटिङ गर्न मानिसहरूको भीड लाग्ने गर्छ ।






