काठमाडौं । यतिबेला शाहरुख खानको फिल्म ‘जवान’ले नेपालको बक्स अफिसमा आफ्नो प्रभुत्व जमाईरहेको छ । यही मेसोमा शुक्रबारबाट एकसाथ दुई फिल्म ‘नाँगो गाउँ’ र ‘एक भागवत र एक गीता’ रिलिज हुँदैछन् । सोमबार यो वर्षको हरितालिका तिज रहेको छ । सोही कारण पनि शुक्रबारबाट एक साथ दुई चलचित्र रिलिज हुन लागेका हुन् ।
चलचित्र नाँगो गाउँ राजनीतिक विषयबस्तुमा केन्द्रित चलचित्र हो । यो चलचित्रमा गाउँपालिकाको चुनावमा एक नेता र एक शिक्षक बीचको अध्यक्ष बन्ने प्रतिस्पर्धाको कथा प्रस्तुत गरिएको छ ।
यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हिमाल कँडेलले निर्माण गरेको यो चलचित्र मुलुकका ६ दर्जन सिनेमा हलबाट शुक्रबार एकसाथ रिलिज हुने भएको छ ।
यो चलचित्रमा दयाहाङ राई, कार्म शाक्य, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिषिर वाङदेलसहितको मुख्य भूमिका रहेको छ । यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु निकै उत्साहित भएको निर्देशक दीपेन्द्र लामाले बताए ।
यसअघि पनि सामाजिक कथामा नै फिल्म निर्देशन गर्दै आएका लामाले यसपटक जनतालाई सचेत गराउने काम फिल्ममार्फत गरेका छन् । यो फिल्ममा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ ।
यस्तै शुक्रबारबाटै अर्को चलचित्र ‘एक भागवत र एक गीता’ पनि रिलिज हुने भएको छ । यो चलचित्रको नाममा निकै विवाद परेको थियो । अन्तत चलचित्रको नाम परिवर्तन गरेर रिलिज गर्न लागिएको हो । यो चलचित्रमा अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको निर्माता सुनिल कुमार थापाले बताएका छन् ।
चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । जसमा अभिनेता विपिन कार्कीले तेश्रो लिँगी महिलाको भूमिका निर्वाह गरेका छन् । जनकपुरको आसपासमा छायाँकन गरिएको यो चलचित्रमा विपिनसँगै धिरज मगर, सुहाना थापासहितको मुख्य भूमिका रहेको छ । चलचित्र एक भागवत र एक गीताले मुलुकका ७ दर्जन भन्दा बढी सिनेमा हल पाएको यसका निर्माता थापाले बताएका छन् ।






