पोखरा महानगरपालिका स्वयंले फेवाताल किनाराको बसुन्धरा पार्कभित्र रहेको १० रोपनी जग्गा ग्रीन भेन्चर जोन स्थापनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)लाई दिने सहमति गरेपछि सम्बन्धित सरोकारवाला यसको विरोधमा उत्रिएका छन् । सरोकारवालाले महानगरपालिकाले यस्तो काम गर्न नहुने भनी सतर्क गराउनुका साथै आवश्यक सुझाव पनि दिइरहेका छन् । पर्यटकीय नगरी पोखरामा रहेको फेवाताल प्रकृतिको अनुपम उपहार, जलस्रोतको भण्डार र पोखरेली पर्यटनको ढुकढुकी हो । तर, पोखरेली गौरवका रूपमा रहेको ताल यो वा त्यो बहानामा बर्सेनि अतिक्रमणको चपेटामा परिरहेका बेला महानगरको पछिल्लो निर्णयले फेवाताल संरक्षण र पर्यटन प्रवद्र्धनलाई सोचनीय बनाएको छ । सरकारी जग्गा तथा सम्पत्तिका साथै पर्यावरणसमेत संरक्षण गर्ने निकाय महानगरबाटै फेवातालजस्तो अति जोखिममा रहेको पोखरेली पर्यटनको मुटु फेवातालको सिमसार क्षेत्रमाथि अतिक्रमणका लागि सहजीकरण गरिनु ठूलो भूल हुन जानेछ । अर्को कुरा, फेवातालको संरक्षित क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माण र अतिक्रमणका काम आफैंमा निषेधित छन् । एकताका काठमाडौं महानगरपालिकाले खुलामञ्च लिजमा दिएर गरेको गल्तीजस्तै पोखरा महानगरले गल्ती दोह-याउनुहुँदैन ।
फेवातालजस्तो प्राकृतिक ताल पोखरा महानगरपालिकाले कृत्रिम रूपमा निर्माण गर्नसक्थ्यो होला वा सक्दैनथ्यो, यो बहसको विषय बन्न नसक्ला । तर, प्रकृतिले पोखरेली पर्यटनको स्पन्दनका रूपमा उपहार दिएको फेवातालको संरक्षण, यसको ’roundको पर्यावरण संरक्षण र सिमसार क्षेत्रको रक्षाका लागि महानगरपालिकाजस्तो जिम्मेवार सरकारी निकायले हचुवाका भरमा घातक निर्णय लिन र कार्यान्वयन गर्न÷गराउन हुँदैन । माटो, पर्यावरण, जैविक विविधता, पर्यटन, स्रोत तथा सौन्दर्यता र सभ्यता अनि संस्कृतिको रक्षक को हो त ? महानगरपालिका स्थानीय सरकार हो । सहरी सभ्यता निर्माण, संरक्षण र विकासको अभिभावक पनि हो स्थानीय सरकार, महानगर † यसले आफ्नो भूमि र जनताको अभिभाकत्व लिने खैसियत गुमाउनुहुँदैन । सहर भनेको कंक्रिट र पत्थरबाट ठडिएका अग्ला न अग्ला गगनचुम्बी ढुंगे अखडा मात्र होइन । बरू प्रकृति र स्थानीय पर्यावरणसँग मानिसको मैत्रीपूर्ण बसाइ र सजीव हेलमेल हो । आक्रमण, अतिक्रमण, मिच्याइँ, शोषण, दोहन र प्रकृतिको प्राणपखेरू जानेगरी लुछेर, चिथोरेर गरिने उपभोग विकास र सभ्यता होइन । प्रकृति र प्रकृतिप्रदत्त स्रोतहरू रहे मात्र पोखरा महानगर पर्यटकीय अन्तरवस्तु र साजसज्जामा रहनसक्छ ।
हरेक कुराका आआफ्ना सीमा हुन्छन् । हरेक कुराको जीवन र मृत्यु हुन्छ । पोखरास्थित फेवातालको पनि आफ्नो जीवन छ । यसको जीवन निरन्तरताका लागि यसलाई पनि स्रोतको आवश्यकता हुन्छ । तालवरिपरिको सिमसार क्षेत्र कंक्रिटमा परिणत गरिदिने हो भने फेवातालको हत्या गरेको कुकर्म शिवाय अरू केही हुन सक्दैन । त्यसैले पनि प्रकृतिको मरण हुनेगरी दोहनका लागि कोही पनि र कुनै पनि सरकार वा सरकारी निकायलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको छैन । नेपाल आफैंमा एक्लो मुलुक पनि होइन । संयुक्त राष्ट्रसंघको सदस्य हुनुको हैसियतले यसले अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि र महासन्धिमा हस्ताक्षर गरेको छ । सिमसार क्षेत्र, जैविक विविधता, प्राकृतिक स्रोत, सांस्कृतिक क्षेत्र तथा पुरातात्विकका साथै सार्वजनिक महत्वका कुराको संरक्षण अहिले फेवातालसँगै जोडिएर आएको छ । त्यसैले, सम्पदा संरक्षणमा महानगरको गम्भीर ध्यानाकर्षण होस् ।






