सुरेशको अधुरो कथालाई संगीतकार शंकरले हे दैवमा उतारे

डब्बु क्षत्री
काठमाडौं । गीत विभिन्न शैलीका हुन्छन् । तर, फरक शैलीको भएकै कारण यतिबेला एउटा गीत ‘हे दैव…’ चर्चामा छ । फगत, गीत मात्र नभएर कसैको वास्तविक जीवनमा आधारित यस गीतमा सांगीतिक चलचित्र नै बनेको छ । यस गीति कथाको भिडियो सार्वजनिक समारोहमा अतिथिदेखि दर्शकसम्मले आँसु थाम्न सकेनन् ।

कथा ती सुरेश केरुङको हो । जो संगीतमै भविष्य बनाउन लागिपरेका थिए । केरुङको दुर्घटनामा परी गत वर्ष अमेरिकामा असामयिक निधन भएको थियो । साथी सुरेशलाई गुमाउँदाको पीडाले एउटा संगीतकारलाई भावुक बनायो । ती संगीतकार हुन्, शंकर थापा स्माइल । उनले सुरेशप्रति श्रद्धासुमन अर्पण गर्दै उनकै जीवनीमा गीतिकथा ‘हे दैव’ तयार पारेका हुन् ।

सामान्यतया एउटा गीतको लम्बाई ३ देखि ५ मिनेट लामो हुने गर्छ तर शंकरले आफ्नो संगीतमा गीति कथा तयार गर्दा ‘हे दैव’ २० मिनेट लामो बन्यो । गीतलाई यति लामो बनाउने चाहना त संगीतकार थापाको थिएन तर यस गीतमा जुन कथा भनिएको छ, त्यसका लागि यो समय पनि अझ कम भएको उनको कथन छ ।

कसैको वास्तविक जीवनका पललाई सांगीतिक रूपमा प्रस्तुत गर्नु चानचुने कुरा छँदै थिएन । त्यसमाथि २० मिनेटसम्म श्रोता तथा दर्शकलाई बाँधी राख्नुपर्ने चुनौती थियो । तर, यस चुनौतीमा संगीतकार थापा खरो उत्रिए । सार्वजनिक भएको तीन दिनमै ‘हे दैव’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्यो । जसमा संगीतकार थापाको कामको पनि यतिबेला प्रशंसा भइरहेको छ ।

सुरेश केरुङको जीवनमा आधारित गीतमा विक्रम साङपाङको शब्द र राजेशपायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । यस्तै, भिडियोमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिसा राई, रजनी गुरुङलगायतको अभिनय रहेको छ ।

राजधानीमा आयोजित ‘हे दैव’को विमोचन समारोहमा भिडियो हेरेपछि यही गीतका गायक राजेशपायल राईले आफूलाई सम्हाल्नै सकेनन् । आफूले ८ हजारभन्दा बढी गीत गाएको भए पनि यो गीत आफ्ना लागि स्मरणयोग्य भएको भन्दै गायक राईले भने, ‘संगीत नै ‘हे दैव’को मेरुदण्ड हो, संगीतकार थापाले पहिलोपटक कम्पोज सुनाउँदा नै मेरा आँखा रसाएका थिए ।’ एउटै गीतमा विभिन्न इमोसन उत्कृष्ट तवरले संयोजन गर्न संगीतकार थापा सफल भएको पनि गायक राईले उल्लेख गरे ।

खासगरी, एउटै गीतभित्र संगीतकार थापाले प्ले गरेका विभिन्न इमोसनलाई धेरैले रुचाएका छन् । २० मिनेट लामो अवधिमा संगीतकै माध्यमबाट हाँसो, खुसी, संघर्ष, सफलता, वियोग, दुःख, पीडाजस्ता भावना प्रतिबिम्बित गर्न संगीतकार थापा सफल भएका छन् । चलचित्रमा पटकथा लेखेर त्यसैका आधारमा छायांकन गरिन्छ । यस सांगीतिक चलचित्रमा भने गीतले अभिव्यक्त गरेको भावनाका आधारमा भिडियो तयार गरिएको हो । संगीतकार थापाले आफूले चुनौती नै मोलेर तयार पारेको यस गीतको सफलताले आत्मसन्तुष्टि मिलेको राजधानीलाई बताएका छन् ।

कार्यक्रमका विशेष अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटाले भिडियो हेरेपछि आँसु रोक्न सकेनन् । उनले संगीतकार थापाको सिर्जनाको खुलेरै तारिफ गर्दै भने, ‘एउटै गीतमा विभिन्न मुड समावेश गर्नु हरेक संगीतकारका लागि चुनौतीपूर्ण हुन्छ, संगीतकार थापा यस चुनौतीमा सशक्त रूपमा प्रस्तुत भएका छन् ।’

यस्तै, भिडियोकी कलाकार वरिष्ठ अभिनेत्री कविता आले निरन्तर रूपमा भावुक देखिइन् । भिडियोमा स्वर्गीय केरुङकी आमाको भूमिकामा देखिएकी उनले गीत सुन्दा नै त्यसमा सिंगो जीवन पाएको बताइन् । कलाकार आलेले संगीतकार शंकरसँगै सो गीति कथाका निर्देशक देवजंग थापाको कामको पनि तारिफ गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित