राजविराज । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा अदातलतले एक युवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
पाँच वर्षअघि भएको सो घटनाको आरोपमा पक्राउ परी पुर्पक्षका लागि राजविराज कारागारमा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।
बलात्कार घटनामा मण्डललाई दोषी ठहर गर्दै न्यायाधीश हेमन्त रावलको इजलाशले मंगलबार ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए ।
५ साउन २०७५ मा बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरी मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि १ चैत २०७९ मा स्वयं अदालतमा उपस्थित भएपछि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
पीडितको उजुरीका आधारमा बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएपछि प्रहरीले उनीमाथि जबरजस्ती करणी मुद्दा चलाएको थियो ।






