नेपालको ठुला सहरमध्ये एक नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिनासाथ यसलाई नियन्त्रणमा लिन कफ्र्यु जारी गरिएपछि अहिले स्थिति सापपेक्ष शान्त छ । सर्वपक्षीय सद्भाव -यालीबाट पनि शान्ति र सद्भावपूर्ण वातावरण कायम गर्न सहयोग पुगेको छ । नेपालगन्जमा मात्र होइन, योभन्दा केही अघि पूर्वी नेपालमा पनि धार्मिक तथा सामाजिक सद्भाव खलल हुने खालका गतिविधि सतहमा देखापरेका थिए । तर, तिनको पनि संयमित र बुद्धिमत्तापूर्ण किसिमले यथा समयमा समाधान गरिएको थियो । अहिले नेपालगन्जमा र केही दिन पहिले पूर्वी नेपालमा देखिएको यस्तो गडबडीको कारण सामाजिक सञ्जालमा भएका र हुने गरेका केटौले तथा आक्रोशपूर्ण टिप्पणी तथा अभिव्यक्ति नै थिए । सामाजिक सञ्जाल एक मर्यादित र सद्भावपूर्ण सार्वजनिक सूचना पाटी हो । यसमा जे पायो, त्यही र जथाभावी हुने र गरिने टिप्पणीले नेपालको मात्र होइन, अरू देशको सामाजिक अवस्थामा खतरा पैदा गरिरहेको हुन्छ । सामाजिक सञ्जालको प्रयोग सही रूपमा हुन नसक्दा र प्रयोग कर्ताको विवेक र विचारको स्तर पनि सोसरह हुन नसक्दा कच्चा र आक्रोशपूर्ण अभिव्यक्तिले यस्ता सामाजिक समस्या निम्त्याउने गरिरहेका छन् ।
नेपाल आफंैमा शान्त र सद्भावमय सामाजिक वातावरण भएको देश हो । यहाँ धार्मिक, जातीय, क्षेत्रीय वा यस्ता प्रकृतिका मुद्दा अघि सारेर सामाजिक व्यवस्थामा खलल पु¥याउने काम भएका छैनन् । अपवादमा एकाध घटना सतहमा देखिने र तिनको यथासमयमै सद्भावपूर्ण तरिकाबाट हल गरिने विवेक र समझदारी नेपालीमाझ छ । नेपालगन्जमा पनि सामाजिक सञ्जालको दुरुपयोगपछि निर्मित मनोविज्ञानका आधारमा सिर्जना हुँदै गएको तनाव विवेकसम्मत रूपमा सर्वपक्षीय आत्मसातीकरणसहित हल गरिने प्रक्रियामा लगिएको छ । नेपाल आफंैमा विविधतामा एकता भएको देश हो । सामाजिक सद्भावले सबैलाई एकताको सूत्रमा बाँधेको छ । नेपाली आफैंमा शान्तिप्रिय पनि छन् । उठेका समस्याको समाधान शान्तिपूर्ण तवरबाट हल गरिनु नेपाली समाजको विशिष्टता पनि हो । अर्को कुरा, नेपालीबिच भनाभन र तानातान लामो समयसम्म हल गर्न नसकिने दीर्घकालीन समस्या भएर पनि रहने गरेको छैन । सिर्जित समस्या आवेग र बदलाभावबाट प्रेरित भएर लिन थाल्नुभन्दा पनि आफ्ना कमी र कमजोरी के कति छन्, ती महसुस गर्ने र गर्न लगाउने परिपाटी पनि नेपालमा पहिलेदेखि प्रचलनका रूपमा रहिआएको छ ।
नेपाल अहिले आन्तरिक रूपमा आफ्नै खालको समस्यामा पनि अल्झिँदै गइरहेको छ । पहिलेको जस्तो शान्त र संयमतामा कमी देखिन थालेको छ । राज्य र सरकारको अभिभावकत्व र विश्वसनीयतामा पनि कमी आउँदै गएको छ । राजनीतिक दलले पनि जनतामाझ सजीव पकड कायम राख्ने हैसियत गुमाउँदै गइरहेका छन् । जनता अहिले ढुलमुलको अवस्थामा छन् । सामाजिक रूपान्तरणको धार अहिले दिशाविहीन अवस्थामा देखिन थालेको छ । यस्तो बेलामा धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउनेजस्ता गतिविधि बढ्न जाने कुरामा सम्बन्धित सबै सतर्क रहनुपर्छ । यसका लागि समाजमा सामाजिक सद्भाव कायम गर्न विवेक पु¥याउनु नै साम्प्रदायिक समस्याको हल गर्ने सबैभन्दा अचूक उपाय हो ।