रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुरु गरेको मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ मा पार्टी प्रवेशको लहर चलेको छ । चारदिनमा नौ जिल्लाका १८ ठाउँमा साना ठुला सभा, कोणसभा गरेको एकीकृत समाजवादीले सो क्रममा २८ सय भन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।
मेची–महाकाली समाजवादी जागरण अभियान
झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान बुधबार रौतहट आईपुगेको छ । चारदिन अघि झापाबाट सुरु भएको सो अभियान मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही हुदै बुधबार रौतहट पुगेको छ । यि जिल्लाहरुमा चार दिनमा १८ सभाहरु भएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले अभियानका क्रममा पार्टी प्रवेशको संख्या दिनदिनै बढदै गएको बताए । समाजवादी जागरण अभियानका क्रममा पार्टीमा प्रवेश गर्नेको संख्या २८ सय भन्दा बढी पुगेको उनले बताए ।
‘हामीले झापाबाट सुरु गरेको अभियान बुधबार रौतहट आईपुगेको छ । यस क्रममा हामीले साना–ठुला गरी १८ सभाहरु गरेका छौं । हाम्रो अभियान पश्चिम सम्म पुग्नेछ’ प्रवक्ता खतिवडाले भने, ‘हाम्रो अभियानमा सोचेभन्दा बढी जनसहभागिताका साथै पार्टी प्रवेशको संख्या बढदै गएको देखिएको छ ।’

एकीकृत समाजवादी प्रचार विभागका सचिव प्रकाश खतिवडाले धनुषाको यदुकुहामा १ हजार, सप्तरीको छिन्नमस्तामा ३ सय ५०, सिरहाको भगवानपुरमा ३ सय, सिरहा बजारमा ३ सय ५०, सर्लाहीको लालबन्दी ३ सय जना सहित २८ सय भन्दा बढीले पार्टी प्रवेश गरेको बताए । १४ असोजबाट सुरु भएको ‘समाजवादी जागरण अभियान’ २८ असोजमा समापन हुदैछ ।
अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नका लागि मुख मिठ्याउन आवश्यक नभएको बताएका छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सहयोग गरेर जाने सहमती गठबन्धनभित्र भएको उनले बताए ।
‘अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ, तर त्यो पर्याप्त हो । त्यसका निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उत्प्रेरित पनि गर्नुपर्छ । यसका निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भूमिका खेल्न या आवश्यक प्रभावकारी भूमिका खेल्न तयार छ’ नेपालले भने ।

अध्यक्ष नेपालले अहिलेकै सरकारलाई अगाडि बढाउने बताए । साथै त्यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुराकानी भएको बताए । ‘देउवा पनि यो सरकारलाई अगाडि बढाउने पक्षमा हुनुहुन्छ’ उनले भने, ‘हामी पनि यो सरकारलाई अगाडि बढाउने पक्षमा छौं । हामी कसैले पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं, सरकारको खुट्टा तान्न चाहँदैनौं । सरकारलाई असहयोग गर्न चाहँदैनौं ।’
वर्तमान सत्ता गठबन्धनमा भएको भनिएको सहमतिमा प्रचण्डपछि नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने पालो छ । नेताहरूले सहमतिको चर्चा गर्ने गरेको भएता पनि त्यस’bout कुनै विस्तृत विवरण सार्वजनिक भएको छैन ।
अध्यक्ष नेपालले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर हैन, जुटेर अघि बढ्नुपर्ने बताउँदै भने, ‘समाजवादको बाटोमा कम्युनिस्टहरूबीच एकता आवश्यक छ त्यसैकारण चार कम्युनिस्टबीच मोर्चाबन्दी भएको हो ।’
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दलाल पूँजीवादी शासन व्यवस्थाले देशकब्जा गरेको भन्दै कम्युनिस्ट सरकारले समेत अहिलेसम्म जनताको गाँस, बास र कपासको व्यवस्था गर्न नसक्नु दुखद भएको बताएका छन् ।
पूँजीवादी व्यवस्थाको विकृति र विसंगतिलाई निर्मूल पार्न समाजवादको विकल्प नरहेको खनालले बताउँदै भने, ‘जबसम्म देशमा समाजवाद आउँदैन तबसम्म जनताले सुख पाउँदैनन्’

यसैबीच एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले संसारको जहाँसुकै देशको विकास पनि कृषिमा सुधार, कृषिको क्रान्ति, त्यसमार्फत् उद्योगको आधार तयार गर्ने र सेवा क्षेत्र विकास गर्ने बाटोबाट मात्रै हुने बताएका छन् ।
समाजवादी जागरण अभियानको क्रममा बुधबार सर्लाहीको लालबन्दीमा सम्बोधन गर्दै उनले विकासको बाटो त्यही भएको बताए । नेपालमा भने राजनीतिक नेतृत्वले पानीजहाज र रेलको कुरा गरेर कृषिमा हस्तक्षेप गर्ने कुरा बिर्सिएको उनको भनाइ छ ।
‘हामीले कहिले भ्युटावरको कुरा गरेर, कहिले प्रशान्त महासागरमा पानीजहाज चलाउने कुरा गरेर, कहिले अन्तरदेशीय चुच्चे रेल चलाउने कुरा गरेर कृषिमा हस्तक्षेप गर्ने कुरा बिर्सियौँ । हाम्रो राजनीतिक नेतृत्वले बिर्सियो । हामी पपुलिस्ट भयौँ, आफैं पपुलिस्ट भयौँ’ महासचिव भुसालले भने ।

भूसालले आफूहरूका एक बेलाको नेतृत्व आफैं पपुलिस्ट भएको हुनाले आज स्वतन्त्रका नाममा पपुलिस्टहरू निस्किएको बताए । ‘आज निस्किएका पपुलिस्टहरू हिजोको हाम्रै राजनीतिक नेतृत्वका पपुलिजमको मानसपुत्रका रुपमा आएका छन् भन्ने मलाई लागेको छ’ उनले भने ।
भूसालले अहिलेको प्रमुख काम कृषिमै हस्तक्षेप नै भएको दोहोर्याउँदै भने, ‘कुनै पनि कृषकले कृषिमा काम गरेर त्यसबापत लगानी समेत प्राप्त गरेर केही न केही बचत गर्छ भन्ने कुराको राज्यले ग्यारेन्टी गरिदिनुपर्छ । त्यो गर्न सकिने कुरा हो । असम्भव कुरा होइन ।’
अभियानका क्रममा एकीकृत समाजवादीका उपाध्यक्षत्रय धर्मनाथ साह, राजेन्द्र पाण्डे, जयन्ती राई, उपमहासचिवद्धय जगन्नाथ खतिवडा, डा. बिजय पौडेल, सचिवद्धय रामकुमारी झाक्री, नागेन्द्र चौधरी, स्थायी कमिटीका सदस्यहरु बलदेव चौधरी, रामचन्द्र यादव, श्रीप्रसाद साह लगायतका नेताहरुले बिभिन्न ठाउँमा सम्बोधन गर्दै समाजवादी जागरण अभियान सहित समसामयिक बिषयमा सम्बोधन गरेका छन् ।






