चन्द्र शमशेरद्वारा शासित मस्तिष्क

सरोज मिश्र

स्वर्गीय रामराजाप्रसाद सिंह समकालीन राजनीतिक इतिहासमा सुपरिचित नाम हो । उहाँ प्रखर गणतन्त्रवादी क्रान्तिकारीका रूपमा चिनिनुहुन्थ्यो । रामराजा एक जमिन्दार परिवारमा जन्मिनुभएको थियो । तर, उहाँ जमिन्दारी र सामन्ती प्रथाको प्रखर विरोधी हुनुहुन्थ्यो । व्यक्तिगत रूपमा म स्वर्गीय रामराजाप्रसाद सिंहको प्रशंसक हुँ र उहाँको व्यक्तित्व एवं योगदानको उच्च सम्मान गर्न चाहन्छु । यस आलेखको उद्देश्य कहीँ कतै उहाँको अवमूल्यन गर्ने हुँदै होइन । यस घटनाको प्रामाणिक दस्तावेज पनि उपलब्ध छैन । श्रुतीका आधारमा उहाँसँग सम्बन्धित एउटा घटनाको उल्लेख गर्दै नेपाली समाजमा व्याप्त मनस्थितिका ’boutमा थोरै केही उल्लेख गर्नसम्म खोजेको हुँ ।

म रामराजाप्रसाद सिंहको दिमागलाई चन्द्र शमशेर वा त्यस्तै अन्य कसैको रवाफको भूतले गाँजेको थियो भन्ने कुरामा पटक्कै विश्वास गर्दिनँ । उहाँ त त्यस्ता तानाशाहका विरुद्ध चट्टानी अडानका साथ खडा हुनुभएको क्रान्तिकारी विद्रोही हुनुहुन्थ्यो

राजा महेन्द्र आफ्नो शासनकालको सबैभन्दा ‘उच्च’ स्थानमा पुगेका थिए । सबै विरोधीलाई लाखापाखा लगाएर उनी एकछत्र बनेका थिए । पञ्चायती शासन प्रणाली र कथित संविधान लागू थियो । एकतन्त्रीय शासनको विरोध गर्नेहरू ‘अराष्ट्रिय तत्व’ घोषित भएका थिए र ती सबै या जेलमा थिए अथवा निर्बासनमा । महेन्द्रको तत्कालीन पञ्चायती संविधानले राष्ट्रिय पञ्चायत नाम गरेको विधायिकाको व्यवस्था गरेको थियो । सबैजसो राष्ट्रिय पञ्चायत सदस्यहरू अप्रत्यक्ष निर्वाचनबाट चुनिन्थे वा मनोनीत हुन्थे । तर, के सोचेर हो राजा महेन्द्रले राष्ट्रिय पञ्चायतमा चार जना सदस्यहरू मुलुकभरीका स्नातकहरू (ब्याचलर्स उत्तीर्ण)बाट प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रावधान राखेका थिए ।

यस व्यवस्थाअन्तर्गत एक स्नातक निर्वाचनका क्रममा रामराजाप्रसाद सिंह आफैमा एक मिथकीय पात्र बन्न पुग्नुभएको थियो । विद्यार्थी हुँदै राजा महेन्द्रको विरोधमा क्रान्तिकारी लेख लेख्नेदेखि बनारसमा पर्चा बाँड्नेसम्म काम गरेर उहाँ राजनीतिक वृत्तमा चिनिइसक्नुभएको थियो । २०२४ सालमा स्नातकहरूका तर्फबाट उहाँ राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बन्नुभयो । आमस्नातक मतदाताले उहाँलाई चिनेका थिएनन् । एक–दुई पर्चाकै भरमा उहाँ किंवदन्तीजस्तो बन्नुभएको थियो । ‘तासका चार बादशाहबाहेक बेलायतमा एक बादशाह छन् रे ! अरूलाई चिन्दिन !’ भन्ने उहाँको भनाई (पूरै सत्य हो वा होइन राम्ररी थाहै नपाइ) आममतदाता स्नातकबीच फैलिएको थियो । उहाँको भेष बदल्ने र भूमिगत शैली पनि लोकप्रिय बनेको थियो । त्यस निर्वाचनमा प्रयागराज सिंह सुवाल, कृष्णप्रसाद भण्डारी र प्रकाशचन्द्र लोहनीका साथ रामराजा पनि चुनिनुभयो । सो निर्वाचनमा सुवालपछि रामराजाले दोस्रो धेरै भोट पाउनुभएको थियो । प्रकाशचन्द्र लोहनीले मात्र ३ भोटले शंकर घिमिरेलाई (सुप्रभा घिमिरेका श्रीमान् तथा डा. मधु घिमिरेका दाजु) पाँचौं स्थानमा धकेलेर पराजित गरेका थिए । तर, अचम्म भयो ! रामराजाप्रसाद सिंहलाई शपथग्रहणसम्म गर्न दिइएन । उहाँलाई राष्ट्रिय पञ्चायत भवनबाटै गिरफ्तार गरियो । उहाँ कहिल्यै औपचारिक रूपमा ‘माननीय’ बन्न पाउनुभएन ।

केही समयपश्चात् उहाँ कारावासबाट मुक्त हुनुभयो र भारत पुग्नुभयो । उहाँमा छटपटी थियो । स्वभावैले क्रान्तिकारी रामराजाबाबुलाई सशक्त सशस्त्र विद्रोह गर्नुपर्छ र त्यसमा आफ्नो महŒवपूर्ण भूमिका हुन्छ भन्ने लाग्यो । बीपी कोइराला आठ वर्षको कारावासपछि निर्वासनमा हुनुहुन्थ्यो । नेपाली कांग्रेसको सशस्त्र विद्रोह अलमलिएको अवस्था थियो । रामराजाप्रसाद बीपीलाई भेट्न पुग्नुभयो । उहाँले राजाविरुद्ध सशस्त्र क्रान्तिलाई अगाडि बढाउने वातावरण बनाइदिन बीपीसँग आग्रह गर्नुभयो र त्यसको जमिनी जिम्मेवारी आफूले सम्हाल्ने बताउनुभयो । रामराजा बीपीसँग हातहतियारको चाँजोपाँजो मिलाइदिन आग्रह गर्दै हुनुहुन्थ्यो । बीपीले किन हो रामराजासँग लामो कुरा गर्नुभएन । सशस्त्र संघर्षको काम सुवर्ण शमशेरले हेर्दैगरेको बताएर सुवर्णजीसँग भेट्न सुझाउनुभयो । रामराजाप्रसाद सिंह सुवर्ण शमशेरलाई भेट्न कलकत्ता पुग्नुभयो । सुवर्णजीले पनि रामराजाबाबुलाई पन्छाउनुभयो ! सुवर्णजीको भनाइ थियो, ‘हातहतियार र त्यसलाई चाहिने आर्थिक पक्षको जिम्मा हालै कांग्रेस प्रवेश गरेका भरत शमशेरलाई दिइएको छ, एकपटक उहाँसँग भेट्नोस् ।’

भरत शमशेर केही अघि मात्र कांग्रेस प्रवेश गरेका थिए । २०१५ सालको आमनिर्वाचनपछि गठित संसद्मा गोर्खा परिषद्को नेताका रूपमा उनी प्रमुख प्रतिपक्षी दलका नेता थिए । भरत शमशेर कलकत्तामै बस्थे । त्यहाँ उनको ठूलै व्यापार व्यवसाय एवं घर थियो । रामराजाप्रसाद सिंहलाई पहिला त भरत शमशेरसँग सम्पर्क गर्न नै निकै मुश्किल प¥यो । ठूलै जतनप्रश्चात् कुनै सूत्रमार्फत सम्पर्क भयो । भरत शमशेरकहाँबाट भनियो– ‘फलानो दिन बिहान ४ः३० बजे राजाले भेट बक्सिन्छ, ठीक समयमा निवासमा पुग्नुहोला ।’

तोकिएको दिन भरत शमशेरको निवास बिहान ४ः३० मा पुग्न रामराजाबाबुलाई ३ः०० बजे नै उठ्नुप¥यो होला । नित्यकर्म र स्नानादीपश्चात् थोरै सिँगारिनु पनि भयो होला ! कपाल मिलाउने आदि इत्यादि ! उहाँ ठीक नियत समयमा झिसमिसेमै भरत शमशेरको निवासमा पुग्नुभयो । तर, यो के अचम्म ! कम्पाउन्डको ढोका खुल्दैन त ! निकैबेरको कसरतपछि एउटा कामदारले ढोका खोल्छ र सोध्छ, ‘के चाहियो ?’ रामराजा जवाफ दिनुहुन्छ, ‘राजासाहेबलाई भेट्न आएको, समय लिएको छुु ।’ कामदारले अचम्म मान्दै भन्छन्, ‘यति बिहानै कसरी भेट हुन्छ ?’ उनी यति सबेरै ‘राजाले भेट गर्न समय बक्सेको’ पत्याउनै तयार हुँदैनन् । निकै कचमच र जोडबलपछि ती कामदार भवनभित्र जान्छन् र झन्डै १५ मिनेटपछि फर्केर माथि जान अनुमति दिन्छन् । तिनले अलि अचम्म मानेझैं गरेर रामराजालाई माथिको तलाको एउटा कोठाको ढोका खोलेर भित्र जान भन्छन् ।

भित्र छिरिसकेपछि रामराजाबाबुलाई थाहा हुन्छ, त्यो भरत शमशेरको शयन कक्ष रहेछ । ‘राजा’ अझै बिछ्यौनामा थिए ! एउटा नरम देखिने पातलो कम्बलजस्तो कपडाले उनको शरीरको आधा छातीसम्म ढाकेको थियो, माथिको भाग वस्त्रहीन थियो । भरत शमशेरको अवस्था हेर्दा रामराजालाई लाग्यो ( कम्बलभित्र उनी सर्वांग नांगो छन् ! सायद उनको नांगै सुत्ने बानी थियो । अजंगको पलङछेउको टेबुलमा कुनै टिनको क्यान थियो, सम्भवतः कुनै बियर वा मदिराजन्य पेय पदार्थ । अनि महँगो विदेशी चुरोटको डब्बा र लाइटर । भरत शमशेरले रामराजाप्रसाद सिंहलाई नजिकैको कुर्सीमा बस्न इशारा गरे र सँगैको टेबुलमा रहेको चुरोट र पेयपदार्थ पिउने कि भन्ने प्रश्नवाचक इशारा गरे । उनी अझै केही बोलेका थिएनन् ! रामराजाबाबुले नम्र ढंगले इन्कार गर्नुभयो । त्यसपछि एक्कासि भरत शमशेरले सोधे, ‘के कति कामले आउनुभयो ?’

रामराजाप्रसाद सिंहले अत्यन्तै संयमित र शान्त ढंगले आफ्नो संक्षिप्त परिचय दिँदै बीपी कोइराला र सुवर्ण शमशेरसँगको भेटका ’boutमा बताउनुभयो । साथै आफूले क्रान्तिको ज्वाला दन्काउन खोजेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘सशस्त्र संघर्षको आगो बाल्नुपर्छ, म त्यसको फिल्ड नेतृत्व गर्न तत्पर छु, हातहतियारको आवश्यकता छ, त्यसका लागि कांग्रेस पार्टी र हजुरबाट सहयोग खोजेको हुँ ।’ यी कुरा सुनेर भरत शमशेरले अत्यन्तै अनौठो पाराले रामराजाबाबुलाई नियाले ! त्यसपछिको छोटो वार्तालाप र भरत शमशेरको प्रतिक्रिया चाखलाग्दो छ ।

भरत शमशेरले सोधे, ‘आज बिहान कति बजे यहाँ आइपुग्नुभयो ?’ रामराजाको जवाफ थियो– ठीक ४ः३० बजे आइपुगेको हुँ । मलाई यही समय भनिएको थियो । पुनः भरत शमशेर बोले, ‘यति सबेरै यहाँ पुग्न त निकै छिटो उठ्नुप¥यो होला ! नित्यकर्म नुहाइधुवाइ गर्नैप¥यो ! फेरि आउन पनि समय लाग्छ । यति बिहान त रिक्सा पाउन पनि गाह्रो हुन्छ होला । अप्ठ्यारो भएन ?’ रामराजाबाबुको सहज उत्तर थियो, ‘थोरै अप्ठ्यारो भयो । बिहान ३ बजे नै उठेर तयारी गर्नुप¥यो !’ यति सुन्ने बित्तिकै भरत शमशेर जंगिए ! अनायासै ‘तिमी’ भनेर सम्बोधन गर्दै चिच्याएझैं भने, ‘तिमी जस्ताबाट क्रान्ति हुन्न ! मकहाँबाट त्यति बिहानको समय दिइँदा ‘यो त अप्ठ्यारो हुन्छ’ भन्न सकेनौ ? तिमीले बोल्ने आँटै गरेनौ ! किन थाहा छ ? तिम्रो दिमागमा अझै मेरा हजुरबुबा र जिजु हजुरबुबाले शासन गरिरहेका छन् । तिमीजस्ता मनोवृत्ति भएकाबाट क्रान्ति हुँदैन । गैहाल्नु !’ भरत शमशेरका जिजु हजुरबुबा श्री ३ महाराज चन्द्रशमशेर जबरा र हजुरबुबाचाहिँ जनरल बबरशमशेर जबरा हुन् ।

म रामराजाप्रसाद सिंहको दिमागलाई चन्द्र शमशेर वा त्यस्तै अन्य कसैको रवाफको भूतले गाँजेको थियो भन्ने कुरामा पटक्कै विश्वास गर्दिनँ । उहाँ त त्यस्ता तानाशाहका विरुद्ध चट्टानी अडानका साथ खडा हुनुभएको क्रान्तिकारी विद्रोही हुनुहुन्थ्यो । उहाँ त्यस्तो मनस्थितिमा पक्कै हुनुहुन्न थियो । तर, भरत शमशेरले उल्लेख गरेको ‘दिमागमा चन्द्र शमशेरको शासन’चाहिँ हाम्रो समाजमा व्याप्त अनौठो सत्य हो । आज राणा शासन समाप्त भएको ७० वर्ष नाघिसक्यो र राजतन्त्र निर्मूल भएको २० वर्ष पुग्न लागिसकेको छ । तर, आज पनि राणा वा राजालाई ‘स्वतः सर्वोच्च’ मान्नेहरूको ठूलो जमात छ । कतिपयलाई हृदयदेखि नै लाग्दो हो, ‘बरद नेतृत्व’ नभएको हुँदा टुहुरो भइएको छ ! कैयनलाई यस्ता प्रभुुलाई पुनस्र्थापित गराउन सकियो भने आफ्नो अभिजात्यपनका कारण स्वतः आफूले पाउने उपल्लो सामाजिक सम्मान वा लाभको कल्पनाले लोभ्याएको होला भने कोही त हृदयदेखि नै कुनै ‘अवतारी’को नेतृत्वले मुलुकको भलो हुन्छ भनेर सोच्ने पनि होलान् । जेसुकै भए पनि, ‘चन्द्रशमशेरले कब्जा गरेको दिमाग बोकेकाको ठूलो जमात छ ।

उदेक लाग्दो कुरो त के भने यस प्रवृत्तिको अन्त्य गर्न जीवनभर संघर्ष गर्नेहरूसमेत अनौठो मनोरोगबाट ग्रस्त देखिन्छन् । राणातन्त्र, राजतन्त्र हटाउन जीवनभर संघर्ष गरेर सफलता पाएका हाम्रा नेताहरू के गर्दै छन् ? उनीहरूको दिमागलाई पनि चन्द्र शमशेर प्रवृत्तिले गाँजेको देखियो । स्वाभाविक प्रश्न उठ्छ– जसले त्यस प्रवृत्तिविरुद्ध लड्यो, उसैको दिमागलाई त्यसले गाँज्छ र ? यी संघर्षको नेतृत्व गर्नेहरू चन्द्र शमशेरसँग तर्सेका त छैनन्, तर त्यस प्रवृत्तिमाथि विजय प्राप्त गरेपश्चात् स्वयं आफू चन्द्र शमशेरका ठाउँमा पुगेको भ्रम पाल्न थालियो । परिणाम हामी भोग्दै छौं, चरम अराजकता, मनपरीतन्त्र र बेथिति !

तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)

epaper

ताजा समाचार

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ