पोखरा । अष्ट्रेलियामा निकै चर्चित अष्टे«लियन रुल्स् फुटबल नेपालमै पहिलो पल्ट पोखरामा शनिबार खेलिएको छ ।
नेपालका लागि अष्टेलियन राजदूत फेलिसिटी भोल्कको उपस्थिति कोमागाने पार्क खेल मैदानमा तालवाराही स्कुल र लेकसाइड लायन्सबीच यो खेलमा तालावाराही विजयी भयो । राजदूत भोल्कले टुर्नामेन्ट डाइरेक्टर राजन पौडेललाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।
नेपाल अष्टे«लिया अल्मुनाई संघ (आना) को आयोजना तथा द हिमालयन लेपर्डको सहयोगमा भएको मैत्रीपूर्ण उक्त प्रतियोगितामा लेकसाइड लायन्सलाई ६४–११ पोइन्टले पराजित गर्दै तालवाराही विजयी भएको द हिमालयन लेपर्डका संस्थापक सदस्य नारायण पहारीले बताए ।
एउटा टिममा १८ जनाले भाग लिने प्रतियोगिता ८० मिनेटको हुन्छ । तर पोखरामा भने एउटा टिममा ८ जनामा राखेर २७ मिनेटसम्म खेलाइएको थियो । द हिमालयन लेपर्ड अष्ट्रेलियन फुटी क्लबसँग आबद्ध भएको नेपालको एकमात्र क्लब भएको संस्थापक सदस्य एवं पर्यटन व्यवसायी नारायण पहारीले बताए । यो सन् २०१७ मा स्थापित क्लब हो ।
‘यो खेलले पोखराको खेल पर्यटनमा टेवा मिल्ने विश्वास लिएको छु,’ प्रतियोगिता उद्घाटन अवसरमा बोल्दै पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले भने । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता नेपालमै पहिलो पल्ट आफ्नै वडामा गर्न पाउँदा खुसी व्यक्त गरे ।
असी रुल्स फुटबल पनि भनिने यो खेलका अष्टे«लियाका चर्चित खेलाडी एलेक्स नै टिम लिएर पोखरा आउने कार्यक्रम विगतमा कोभिडका कारण रोकिएको थियो । अष्ट्रेलियामा राष्ट्रियस्तरको यो प्रतियोगिता हुँदा रंगशालामा खेल हेर्न ६०-७० हजार दर्शक पुग्ने नेपाल अष्टे«लिया अल्मुनाई संघ (आना) का अध्यक्ष अनन्त पौडेलले बताए । उनले पछिल्लो समय नेपालीहरुको लागि अष्ट्रेलिया रोजाइको मुलुक बन्दै गएको र त्यहाँको चर्चित खेल अष्टे«लियन रुल्स् फुटबललाई नेपालीले पनि अत्यधिक मन पराउँदै गएको बताए ।