काठमाडौं । इजरायल र हमासबीच चालू युद्धले तेश्रो दिन पुग्दा झनझनै उग्र रुप लिँदैछ । हमासका तर्फबाट इजरायलको सिमावर्ती दक्षिण इलाका, तेलअबिब र जेरुसेलमलाई लक्षित गरेर रकेट प्रहार गर्ने क्रम जारी छ ।
सोमबार बिहान तेलअबिबस्थित बेन गुरियन बिमानस्थललाई समेत निशाना बनाएर रकेट प्रहार गरिएको थियो । दक्षिण इजरायलको अस्केलन र स्डेरोट शहरहरू रकेटको निशानामा थियो । तर पछिल्लो समयमा प्रहार गरिएका अधिकांश रकेटलाई इजरायलको सुरक्षा प्रणाली आइरन डोमले आकाशमै रोकेको बताइन्छ ।
यो तीन दिनको अवधिमा हमासका तर्फबाट ५ देखि ७ हजारसम्म रकेट प्रहार भएको अनुमान छ । गत २०२१ मा हमास र इजरायलबीच भएको ११ दिने द्वन्द्वमा हमासका तर्फबाट प्रहार भएको कूल रकेट संख्याभन्दा यो संख्या धेरै हो । हमासको आक्रमणबाट इजरायलतर्फ लगभग ८०० व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये २६० शवहरू त दक्षिण इजरायलको एउटा किबुजमा संगीत महोत्सवमा रमाउँदै गरेका युवायुवतीहरूको भएको बताइएको छ ।
अर्कोतर्फ इजरायलका तर्फबाट गाजा क्षेत्रलाई लक्षित गरेर हवाइजहाजबाट एवं जमिनबाट समेत निरन्तर अन्धाधुन्ध क्षेप्यास्त्र एवं रकेट प्रहार जारी राखेको छ । इजरायली इलाकाभित्र घुसपैठ गरेका हमास लडाकुलाई धकेलेर इजरायललाई हमासमुक्त बनाउने अभियान जारी राखेको इजरायलले बताएको छ ।
सोमबार साँझसम्ममा सम्पूर्ण इजरायली इलाका पुनः आफ्नो नियन्त्रणमा आएको सेनाले दावी गरेको छ । इजरायलको सिमावर्ती दक्षिणी इलाकाका बासिन्दालाई अन्तै सार्ने क्रम जारी छ । सँगसँगै त्यस क्षेत्रमा ठूलो परिमाणमा टैंकलगायत हतियारसहित थल सेना परिचालन भएबाट इजरायलले निकट भविश्यमै गाजा क्षेत्रमा जमिनी कारबाही शुरू गर्ने संकेत देखा परेको छ । इजरायलले आफ्ना ३ लाख जगेडा सैनिकलाई सेवामा बोलाएको छ । इजरायलले गाजा क्षेत्रका आम नागरिकलाई त्यहाँबाट हट्न भनेको छ । इजरायली सरकारले हमासलाई समूल नष्ट गर्ने क्रममा गाजामा निर्मम आक्रमण गर्ने बताएको छ ।
भनिए झैं अहिलेसम्म गाजा क्षेत्रको ५०० भन्दा बढी ठाउँमा इजरायलले प्रहार गरिसकेको छ । गाजा क्षेत्रको बिजुली, पानी, इन्धन र खाद्यान्न आपूर्तिसमेत बन्द गरिएको छ । आक्रमणमा लगभग ६०० प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणका कारण त्यस क्षेत्रका १ लाख २५ हजार मानिस घरबारविहीन भएको खबर छ ।
उता अमेरिकाले ५ हजार सेनासहितको विमान बाहक जहाज इजरायलको समर्थनमा त्यसतर्फ पठाएको छ । उक्त जहाजमा रणनीतिक महत्वको युद्ध सामाग्रीहरू रहेको बताइन्छ । इजरायलको उत्तरतर्फ लेबनानबाट गरिएको हिज्बुल्ला लडाकुको आक्रमण प्रयास पनि बिफल बनाइएको सुरक्षा सेनाले जनाएको छ ।