दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को (२०२३–०२५) का लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका शर्माले ‘सुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जासहित एनआरएनएमा मेरो उम्मेदवारी’ भन्ने नारासहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बागलुङ नगरपालिका–१३ पैयूँपाटामा जन्मिएका शर्मा कतारलाई आफ्नो कर्मथलो बनाइरहँदा गैरआवासीय नेपाली अभियानमा सन् २००३ देखि सक्रिय छन् । उनले कतारको एनसीसीमा सन् २००६ मा कार्यसमितिमा रही संघसंस्था समन्वय समिति, सन् २००९ मा अध्यक्ष पदका उपविजेता, सन् २०११÷१३ मा सल्लाहकार, सन् २०१७÷१९ मा पुनः सल्लाहकार भएर काम गरेका छन् ।
सन् २०१९÷२१ मा आईसीसी सदस्य, सन् २०२१÷२३ सह–कोषाध्यक्ष भएका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै संघको सचिवमा रहेर कार्यसम्पादन गर्ने योजनामा छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक अध्यक्ष रहेका शर्मा गण्डकी प्रदेश समन्वय परिषद् र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका सल्लाहकारसमेत हुन् ।
सामाजिक संस्थामा रहेर लामो समय बिताएका उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोषको सदुपयोग, विदेशमा सिकेको ज्ञान, सीप र आर्जेको धनको स्वदेशमा सदुपयोग, समृद्ध नेपालको परिकल्पना, खस्किएको संघको साखलाई सुधार्दै आमरूपमा दिगो एकतासहितको स्मार्ट एनआरएनएमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रमिकलाई प्रत्यक्ष हित हुनेगरी सहयोग र उद्धार, एनआरएनएको परिभाषाभित्र पर्ने सबै नेपालीलाई निःशुल्क सदस्यता, निःशुल्क डेलिगेट्सलगायतका मुद्दामा घनिभूत काम गर्ने चाहना व्यक्त गर्दै विश्वभरका नेपालीहरूको साथ सहयोग हुन्छ भन्नेमा आफू विश्वस्त रहेको शर्माले बताए ।