इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित अरू दुई मन्त्रीले आइतबार शपथग्रहण लिएका छन् । मुख्यमन्त्री कार्कीले अरू दुई मन्त्री नियुक्त गरेसँगै कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
शपथपछि मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री बनाएका छन् । राई कांग्रेस नेता शेखर कोइरालानिकट हुन् । पहिलो चरणको मन्त्रिमण्डल विस्तारमा सत्तारूढ गठबन्धनबाट कोही परेनन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूलाई आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका डा. शेखर कोइराला समूहका कार्कीलाई एमालेका ३९ र कांग्रेसका नौ सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।
मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गर्दा एमालेको समर्थनसहित कांग्रेसका डा. शेखर कोइराला समूहका नौ सांसदको हस्ताक्षरमा केदार कार्कीले दाबी गरेका थिए ।
दुवै आकांक्षीको पक्षमा ४७–४७ भएको भन्दै यसअघि शुक्रबार प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नभएको र कार्कीको पक्षमा बहुमत अर्थात् ४७ सदस्यले हस्ताक्षर गरेपछि कार्कीलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।






