राजविराज । गम्भीर बिरामी परेका एक बालकलाई लिन हिँडेको एम्बुलेन्सलाई समेत बीच बाटोबाटै फर्किन बाध्य बनाएपछि समयमै उपचार नपाएर बुधबार एक बालकको ज्यान गएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ औरहीका १४ वर्षीय बालक गौतमकुमार साहको ज्यान गएको हो ।
बुबा रामकृष्णका अनुसार बुधबार बिहान ११ बजेतिर अचानक गौतम बिरामी परेका थिए । अवस्था गम्भीर देखिएपछि उपचारका लागि बाहिर लैजान उनले डाक्नेश्वरी नगरपालिकामा रहेको एम्बुलेन्स बोलाएका थिए ।
चालक रामजतन मुखियाँ तत्कालै बिरामी बालक लिन एम्बुलेन्स लिएर त्यसतर्फं हिडे । तर, नगरपालिका कार्यालयबाट २ सय मिटर दुरीमा मात्र पुग्दा अचानक गाउँकै पोखरीको ठेक्का विवादलाई लिएर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले एम्बुलेन्सलाई रोके ।
‘बिरामी लिन हिँडेको भनेर जति सम्झाउँदा बुझाउँदा पनि प्रदर्शनकारीले मानेनन्,’ चालक मुखियाले भने, ‘उल्टै ममाथि हातपात गर्दै एम्बुलेन्स नै तोडफोड गर्न थालेपछि बीच बाटोबाटै फर्किन बाध्य भएँ ।’
उनले सय डेढसयको संख्यामा रहेका प्रदर्शनकारीले बाटो नै जाम गरिदिएको र कुनै पनि हालतमा जान नदिने अडान राख्दै आक्रमणमा उत्रेपछि आफू फर्किन बाध्य भएको सुनाए ।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले प्रदर्शनकारी अराजक तथा अमानवीय शैलीमा प्रस्तुत हुँदा समयमै उपचार नपाई एक बालकको ज्यान गएको बताए । उनले नगरकै एक पोखरी ठेक्कासम्बन्धी विवादमा एक पक्षले अराजकता मच्याउँदै नगरपालिकाको कार्यालय भवनमा समेत ढुंगामुढा गरेको बताए ।
समयमै उपचार नपाई मृत्यु भएका बालकको शव स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता प्रदर्शनकारीले एम्बुलेन्सलाई समेत रोकेर गम्भीर अपराध गरेको भन्दै स्थानीयले प्रदर्शनकारीको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् ।






