गाजाको अस्पतालमा इजरायली आक्रमणको सर्वत्र निन्दा

गाजा सिटी । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४ सय ७१ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।

गाजास्थित हमासनियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार भनेको छ, ‘अल अहली अरब अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको संख्या ४ सय ७१ पुगेको छ र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३ सय १४ जना घाइते भएका छन् ।’

कम्तीमा ४ सय ७१ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २ सयदेखि ३ सय जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजापट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठह¥याएका छन् ।

सो घटनालाई लिएर अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । सो क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलले सो हमला गरेको आरोप लगाएको छ । इजरायली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ ।

उता, त्यहाँ शरण खोजिरहेका करिब ४ हजार मानिसले आश्रय लिइरहेका थिए । आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ । इजरायल र प्यालेस्टाइनी लडाकु समूहले मंगलबार सो केन्द्रमा भएको आक्रमणका लागि एक अर्कालाई दोषारोपण गर्दै आएका छन् । आक्रमणको चौतर्फी विरोध भइरहेको छ ।

आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा सहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । उनले आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।

‘म स्तब्ध छु, आज राति, सयौं मानिस मारिए, भयानक रूपमा, गाजा सहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र उनीहरूका परिवार पीडित भएका छन्,’ उनले भनेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताएनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो । ‘हामीलाई यो नरसंहारको पूर्ण मात्रामा थाहा छैन तर के स्पष्ट छ भने हिंसा र हत्या पूर्ण रूपमा रोकिनुपर्छ, यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ,’ टर्कले भने,

‘नागरिकलाई सुरक्षित गर्नुपर्छ र मानवीय सहायता प्रदायकलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा हताहती भएको जानकारी दिएको छ । डब्ल्यूएचओले भनेको छ, ‘अस्पताल सञ्चालनमा थियो, बिरामी, स्वास्थ्यकर्मी र आन्तरिक रूपमा विस्थापित मानिस त्यहाँ आश्रय लिएका थिए, यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेको गाजापट्टीको उत्तरमा अवस्थित २० अस्पतालमध्ये एक हो ।’

डब्ल्यूएचओले भनेको नागरिक र स्वास्थ्यकर्मीको तत्काल सक्रिय सुरक्षाको लागि आह्वानसमेत गरेको छ । ‘निकासी आदेश उल्टाउनुपर्छ अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनुहुँदैन,’ डब्लूएचओले भनेको छ । मंगलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभित भएको बताएको छ । अईसीआरसीले भनेको छ, ‘अस्पतालहरू मानवजीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्य हेर्नका लागि होइन ।’

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताए । उनले सो खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहु र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिए ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सीसीले अहली अस्पतालमा इजरायली बमबारीको कडा शब्दमा भत्र्सना गरेका छन् । सो हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयांै निर्दोषको मृत्यु भएको उनले बताए । उनले नियोजित रूपमा भएको बमबारीलाई अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको बताए ।

यस्तै, क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजरायलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको स्पष्ट उल्लंघन भएको बताएको छ ।

जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजरायलले सो हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

युरोपेली युनियनका विदेश मामिला प्रमुख जोसेप बोरेलले सो हमलाको खेद प्रकट गर्दै एकपटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताएका छन् । ‘यस अपराधको जिम्मेवारी स्पष्ट रूपमा स्थापित गर्नुपर्छ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

सो घटनाको विरोधमा इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गरेका थिए । उनले अस्पतालमा भएको हमलाको बदला इजरायल र उसको सहयोगी अमेरिकाविरुद्ध हुने बताए ।

‘गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्,’ राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले भनेको छ ।

घटनाको विरोधमा राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौं प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौं जनता भेला भएका थिए ।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीले एक विज्ञप्तिमा ‘आक्रमण’ अन्त्यका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट ‘तत्काल समाधान’का लागि आह्वान गरेका छन् । इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजरायली आक्रमणको पछिल्लो उदाहरण भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्छु ।’

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्यांक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताएका छन् । ‘गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न,’ म्यांक्रोनले भने ।

इरान समर्थित लेबनानको हेजबोल्लाह मुभमेन्टले मंगलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’का रूपमा आह्वान गरेको छ । उसले सो हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजरायललाई दोषी ठहर गरेको छ ।

‘बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो,’ हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ । सले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिइएको छ ।

प्रदर्शनकारीहरूले ‘इजरायल मुर्दावाद’ र ‘अमेरिका मुर्दावाद’ भन्ने नारा लगाएका थिए ।

यस्तै, अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यस त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताए । ‘हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्दैनन्,’ गेटले चेतावनी दिँदै भने ।

अफ्रिकी युनियनका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजरायलमाथि ‘युद्ध अपराध’को आरोप लगाएका छन् । ‘सयौं मानिस मारिनेगरी गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरा रूपमा शब्द नै छैन,’ इजराइलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै महामतले भने ।

यस्तै, कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र ‘रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध’ भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई ‘अन्तर्राष्ट्रिय कानुनका प्रावधानहरूको गम्भीर उल्लंघन’ र ‘भिडन्तका क्रममा भयानक वृद्धि’ भनेको छ ।

इन्टरनेसनल कमिटी अफ दी रेडक्रस (आईसीआरसी)ले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ ।

मेडिकल च्यारिटी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ)ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । ‘गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभित छौं, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए,’ एमएसएफले भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

epaper

ताजा समाचार

भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा