चापागाउँ (ललितपुर) । गएको २० असोज बिहानी डा. विकास देशारका लागि ‘सुनौलो’ थियो । दसैंछेकमा उदाएको न्यानो घामसँगै सानैदेखि पुजिँदै आएका अग्रज कलाकार मदनकृष्ण श्रेष्ठसँग उनी साक्षात् भइरहेका थिए ।
‘मैले अहिलेसम्ममा थुप्रै पुरस्कार पाइसकें, ती पुरस्कारभन्दा धेरै माथि उहाँसँगको भेट थियो,’ भर्खरै ‘लभ, लाइफ एन्ड ह्याप्पिनेस’ नामक अंग्रेजी पुस्तक सार्वजनिक गरेका डा. देशारले शुक्रबार राजधानीसँग भने, ‘मदन बा’सँगको पहिलो भेट मेरा लागि लाइफटाइम एचिभ्मेन्ट अवार्ड नै भएको छ ।’
त्यो बिहान डा. देशार आफ्नो प्रकाशोन्मुख दोस्रो पुस्तक विमोचनका लागि अग्रज कलाकार श्रेष्ठलाई आग्रह बिसाउन पुगेका थिए । जसको सेतु बनेकी थिइन्, गायिका निशा देशार । ‘मेरो पहिलो पुस्तक रिफ्लेक्सन अफ लाइफ पनि उहाँकै हातबाट विमोचन गर्ने ठूलो अभिलाषा थियो,’ डा. देशारले थपे, ‘तर, त्यसबेला विश्व महामारी कोभिड बाधा बनिदियो ।’

पेशाले ‘डेन्टिस्ट’ देशार अव्यक्त अभिव्यक्ति शब्दमा कुँद्ने सौख पाल्छन् । उनकै शब्दमा ‘माया’ आफैं सीमित राख्नुहुन्न । माया जति बाँड्यो, उति फैलिन्छ । ‘मानिस स्वयंमै सीमित बस्नुहुन्न,’ उनी भन्छन्, ‘परिवार, समाज, देश, विश्व र चराचर जगतको सुक्ष्म तहसम्म मायाको बास हुन्छ । मेरो दोस्रो पुस्तकमा यही आभाष दिलाउने प्रयास गरेको छु ।’
बाल्यकादेखि सुन्दै आएको माया चराचर जगतमा बाँड्नसके, त्यसबाट कैयौैं गुणा बढी माया पाउन सकिन्छ भन्ने अनुभूत गरेरै पुस्तक लेखनीतिर आफू अग्रसर भएको डा. देशार बताउँछन् । ‘अरुलाई माया दिएमा कैयौं गुणा भएर त्यही माया फिर्ता आउँछ,’ उनी थप्छन्, ‘त्यसैबाट प्रभावित भएर ममा किताब लख्ने हुटहुटी जागेको हो ।’ उनकै शब्दमा सुखदुखको बीचको बाटो नै जीवन हो । ‘जीवन आफूकेन्द्रित मात्रै बनाउनुहुन्न,’ देशार निक्र्यौल सुनाउँछन् ।
‘माया नै सबैभन्दा ठूलो विषय हो, मैले जीवनमा धेरै माया गर्ने व्यक्ति पाएको छु, पाइरहेको छु, पुस्तकमा मायालाई जीवनसँग जोडिएको छ, औधी खुसी लाग्यो,’ अग्रज कलाकर्मी श्रेष्ठ भन्छन्, ‘पुस्तकले जीवनमा खुसी मात्रै उदेश्य हुनुपर्ने भाव बोकेको छ । संसारमा अन्य जीवजन्तु नभएको भए सुन्दर हुने नै थिएन । यस्तो विषयलाई बौद्धिक ढंगले पुस्तकमा उतारिएको छ ।’
अंगे्रजी संस्करणको पुस्तकको सार ‘जीवनमा आफूमात्रै खुसी नभई संसारलाई खुसी बनाउँदा जीवन सफल हुन्छ’ भन्ने हो ।
ललितपुर गोदावरी नपा–११ चापागाउँमा आयोजित विमोचन क्रममा अग्रज कलाकार श्रेष्ठ, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, लेखक तथा शिक्षक नारायण देशार, समाजसेवी ब्रम्हानन्द श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोल, कान्तिपुर डेन्टल हस्पिटलका प्रिन्सिपल प्रा.डा. रविन्द्रमान श्रेष्ठ, डा. विष्णुप्रसाद शर्मा, चापागाउँ ११ वडाध्यक्ष निलबहादुर देशार, वडा १३ अध्यक्ष भाष्कर थापालगायत उपस्थित थिए ।






