काठमाडौं । प्रमुख राजनीतिक दल र शीर्ष नेताका साथै अहिलेको व्यवस्थाप्रति उठिरहेको प्रश्नको जवाफ मिलेर दिने शीर्ष नेताहरूले जनाएका छन् । ती प्रश्नलाई आफूहरूले ठूलो चुनौतीका रूपमा नलिएको जनाएका उनीहरूले उठिरहेका ती प्रश्न लोकतन्त्र र जनताको हितमा नभएको दाबी गरेका छन् । प्रमुख राजनीतिक दलहरूले एकैठाउँमा उभिएर परिवर्तनविरोधी प्रवृत्ति निस्तेज पार्ने बताएका हुन् ।
कांग्रेसको चियापान कार्यक्रममा शीर्ष नेताहरू
बडादसैं, तिहार, छठ पर्व, नेपाल संवत्लगायत पर्वको अवसर पारेर नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी शीर्ष नेताहरूले अहिले उठिरहेका सबै प्रश्नको जवाफ आफूहरूले दिने बताएका हुन् ।
प्रायः सधैजसो राजनीतिक घोचपेच र आरोप–प्रत्यारोपमा रमाउने शीर्ष नेताहरूको जमघट शनिबार सानेपामा भएको थियो । उनीहरूले एकअर्कालाई चाडपर्वको अवसरमा शुभकामना साटासाट गरे । प्रमुख राजनीतिक दल र शीर्ष नेताहरूमाथि उठिरहेको प्रश्नको जवाफमा उनीहरूले दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नको जवाफ दिने र प्रश्नहरूबाट आफूहरू नभाग्ने जनाएका छन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकैठाउँमा उभिएर जवाफ दिने बताए । प्रधानमन्त्री प्रचण्डले इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएकाहरूले पुराना पार्टीमाथि प्रश्न उठाएको भन्दै सबै दल एकठाउँमा उभिएर जवाफ दिने दाबी गरेका छन् ।
‘जसले प्रश्न उठाएको छ, जसको इतिहास, विचार, राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ, प्रश्न उठाउने कोसिस भएको छ, त्यो राष्ट्र, जनता, लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ, त्यो अराजकता सृष्टि गर्ने उद्देश्यका साथ उठेको लाग्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने यसबीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकैठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ, समय आएपछि तपाईंहरूले थाहा पाउनुहुन्छ, पुराना दल र नेताले जवाफ दिने समय आउँदै छ ।’
उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा सहमति बनाउने प्रयास गर्दै आएको बताए । ‘हिजो प्रतिपक्ष दलको नेतासँग भएको कुरा पनि त्यसकै प्रयास हो र मलाई लाग्छ, समझदारी बन्दै जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण नेपालको ठूलो कूटनीतिक सफलता भएको बताए । उनले राष्ट्रसंघका महासचिव गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
नेपाली जनताको आवश्यकता सम्बोधन गर्न सो भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने दाबी उनले गरेका छन् । महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्य’bout सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।
‘यसबीचमा मेरो भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
शीर्ष नेताहरू सानेपामा जम्मा हुनुअघि शनिबार बिहान मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा सबै पुराना दललाई बाइबाई गर्ने उद्घोष गरेका थिए । पछिल्लो समय राजावादीहरूले समेत पुराना दल र शीर्ष नेताहरूमाथि प्रश्न उठाउँदै राजसंस्थासहितको राजतन्त्र आवश्यक रहेको आवाज उठाइरहेका छन् ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनुका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् । अहिले नै जवाफ फर्काउने बेला नभएको बताउँदै देउवाले भने, ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक रूपमा लिएको छु, हामीले अझै जनतामाझ लोकप्रिय काम गर्नु आवश्यक छ ।’
सभापति देउवाले प्रश्न गर्नेहरूले समय आएपछि आफैं जवाफ पाउने जिकिर गरे । ‘प्रश्न उठ्दै गर्छन्, प्रश्नहरूबाट भाग्ने कुरा छैन, उचित समयमा जवाफ दिन्छौं,’ देउवाले भने ।
राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । उनले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य भएको बताए । उनले भने, ‘दलभित्रका फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौं ।’
सानेपा पुगेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूहरू माथि प्रश्न नउठेको यद्यपि उठाउने प्रयासचाहिँ भएको बताए । अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गर्दै ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ ।’
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुराना दलहरूका अगाडि संकट सिर्जना भएको भन्दै अहिले टाउको समाएर मात्रै बस्न नहुने बताए ।
‘सबै पार्टीमा विभिन्न व्यक्ति आबद्ध हुनसक्छन्, एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्छन्, प्रतिस्पर्धालाई ध्यानमा राखेर प्रत्येक पार्टीले जनताको विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ,’ अध्यक्ष नेपालले भने ।
उनले अहिले नयाँ दलहरू अग्निपरीक्षामा रहेको उल्लेख गर्दै भने, ‘हामी अग्निपरीक्षामा छौं, हामीले पुनः जाँचिनुपर्छ भने हामी तयार छौं, अहिलेको संकटमा निराश भएर टाउको समाएर मात्रै हुँदैन ।’
जब मूल प्रवाहका राजनीतिक दलहरूले बाटो बिराउन थालेपछि जनताले खबरदारी गरेको पनि उनले उल्लेख गरे । ‘वास्तवमा विगतमा पनि अप्ठेरो बेलामा, संकटका बेलामा, चुनौतीका बेलामा, परिवर्तनको आवश्यकताका बेलामा हातेमालो गर्दै अघि बढिएको छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले नकारात्मक विषयलाई मात्रै नभई सकारात्मक विषयमा पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ ।’
उनले जनताले खबरदारी गर्नु भनेको त्यो जनताको कर्तव्य भएको बताए । नेताले समयमा त्यस खबरदारीलाई सकारात्मक रूपमा लिनुपर्ने उनको जिकिर थियो । उनले भने, ‘हामी विचलित नभई देश र जनतामा आफूलाई समर्पित गर्न सक्नुपर्छ ।’
बीपी कोइरालाले १६ पुस २०३३ मा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान सुरु गरेको हो । २०३८ सालसम्म बीपीले नै त्यसलाई निरन्तरता दिए । त्यसपछि पार्टीका नेता र सभापतिहरूले नै प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको सन्दर्भमा चियापान कार्यक्रम गर्दै आएका छन् । तर, कोरोनाका कारण पछिल्ला तीन वर्ष भने निरन्तर त्यस्तो कार्यक्रम आयोजना गरिएन । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले २०३४ सालदेखि मनाउँदै आएको चियापान कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिइएको बताए ।
चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूका साथै मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुख, कर्मचारीलगायत विभिन्न पार्टीका नेता कार्यकर्तालगायतको सहभागिता थियो ।