काठमाडौं । यही २४ कात्तिकबाट रिलिज हुने निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’को दोश्रो गीत ‘हितैको माया…’को भिडियो रिलिज गरिएको छ । पहिलो गीत झम्के झमाझम…लाई प्रसस्त बुष्ट गर्दा पनि श्रोता दर्शकले नरुचाएपछि यो चलचित्रको दोश्रो गीत यतिबेला रिलिज गरिएको छ । पहिलो गीतको तुलनामा यो गीतले राम्रो प्रतिक्रिया पाएको छ ।
तथापि निश्चलका बिगतका चलचित्रलाई काली प्रसाद बासकोटाले जुन सफलता दिलाएका थिए, यसपटक कालीप्रसादलाई छाडेर अन्य संगीतकारलाई लिँदा त्यो उचाई प्राप्त हुने सम्भावना देखिएको छैन ।
तथापि दिमाग खराबको यो दोश्रो गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत रहेको छ । गीतमा सुगम पोखरेल र इन्दकला राईको स्वर छ । फिल्मको कथा अनुसार यो गीत बनाईएकोले गीतको भावले दर्शकलाई स्तव्ध तुल्याउँछ । गीतको भिडियोमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र रमा थपलियाले अभिनय गरेका छन् । आफ्नो अगलागी भएको घरबाट जलेका सामान उठाएर नयाँ सँसार बसाउन उनीहरुको गरेको सँघर्षको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।
निश्चलले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् । ‘लुट’पछि उनका फिल्मप्रति दर्शकहरुमा ठूलो अपेक्षा रहने गरेको छ । ‘दिमाग खराब’ चलचित्र प्रति दर्शकको अपेक्षा भए पनि यो फिल्मले यसपटक तिहारमा बालिउड अभिनेता सलमान खानको टाईगर ३ सँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा दयाहाङ राई, अपर्ण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट आदिको पनि अभिनय छ । फिल्ममा निर्देशक बस्नेतको समेत विशेष भूमिका छ । यो चलचित्रममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन् ।






