संकटमा छ मुलुक

मुलुक संकटापन्न अवस्थामा छ । नेतृत्व लिनेहरूको धोती फुस्किसकेको छ । साढे तीन दशकदेखिको नेतृत्व सत्ता लिप्सा र सत्ताकै स्वादमा छ । भरखरै राजधानी काठमाडौंमा उदाएका एक्लो बालेनले काठमाडौंको मुहार फेर्ने प्रयास गर्दै छन् । बिहानीले दिनको संकेत दिनुपर्ने हो । कोशी प्रदेशमा सत्ताको अर्को जाल थापिएको छ । राजनीति यति निकृष्ट होला भन्ने अनुमानसम्म कसैले गरेका थिएनन्, पहिले । बाँदरको हातको लड्डु भएको छ, मुलुकको लोकतन्त्र । लोकतन्त्र बाँच्ने भनेको राज्यका प्रमुख तीन अंग शक्ति पृथक्कीकरणको सिद्धान्तमा हो । तर, हाम्रो सन्दर्भ फरक छ, सबै शक्ति कार्यकारिणीमै केन्द्रित छ । कार्यकारी, विधायिका र स्वतन्त्र न्यायपालिका सबै दलको छायामा परेको छ ।

महाभारतमा दुर्योधनको भूmठको पाशा र दुशासनले द्रौपदीको चीरहरण गरेको भन्दा कम छैन, मुलुकको राजनीति । भ्रष्टीकरणलाई सौन्दर्यीकरण सम्झने मुलुकको राजनीतिले ३ करोड नेपालीमा आधालाई विदेश बेचिसकेको छ । बिक्रीको विप्रेषणमा रमाएको पनि छ र बाँकी आधा पटमूर्खजस्तै ‘एस म्यान’ भएर कर तिरेर बसेका छन् भने बाँकी सबैलाई दलको हाइहाई छ, हालिमुहाली छ । समानुपातिक प्रणालीले कहिल्यै बहुमतको सरकार देख्न पाइने छाँट छैन भने दुई तिहाइको बहुमत नपचेर आपसी झगडाले गल्र्यागुर्लुम्म ढलेको छ । संसद् कोमामा जाँदै फर्कंदै गरेको छ ।

नेपालीका थाप्लोमा ऋण र कर बढाएर संघीयता त्यो पनि एक–डेढ करोड जनसंख्यालाई शासन गर्न ७ प्रदेश, सबैलाई धेरै सुविधा, आवास, सवारी, उपचार, चन्दा, पुरस्कार र पछिल्लो आममाफीले केका लागि मुलुकमा राजनीतिक ठूलो परिवर्तन भएको रहेछ, स्पष्ट भएको छ । काखा र पाखा, सुशासनको ढर्रा, पारदर्शिता र जवाफदेहिता, अनुशासनको नाटक मञ्चन नेपालीहरू असह्य भएर हेर्दै छन् । आप्mनो उत्पादन गर्ने श्रम शक्तिलाई खाडीमा धकेल्ने, बाँकीलाई झोला भिराउने, गाउँमा जन्ती र मलामी नपाइने, पूरै बस्ती उजाड भइसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य सबैतिर व्यापार, कतै सुनकाण्ड, कतै ललितानिवास काण्ड, वाइड बडी, जलहरी, यती, ओम्नी, नक्कली शरणार्थी काण्ड, दर्जनौं काण्ड, बेरुजुको चाङमा सत्ता मडारिएर बसेको छ ।

जनतालाई महँगीको उपहार, वैदेशिक सन्तुलनको अभाव, धर्म, संस्कृति, संस्कारमा स्खलन, कूटनीतिक मर्यादामा विचलन, बिचौलियाहरूबाट भूमिमाथिको अतिक्रमण, रोग, शोक र भय अनि त्रासका कारण सामाजिक एकता पनि खलबलिएको छ । गति छोडेरै मानिसहरू सडकमा ओर्लिएका छन्, निषेधाज्ञा तोड्दै । चिकित्सक कुटिने, दिनदहाडै बलात्कार, हत्या, हिंसा, धर्म र संस्कारप्रतिको बेवास्ता छ । तमाम सरकारी मेसिनरीहरू खिया लागेका छन् । प्रदेश भनिए पनि राणाशैलीको केन्द्रीय हुकुमी आदेशले चलेको छ, मुलुक । पहिले केन्द्रबाट परकम्पन सुरु हुन्थ्यो, अब कोशीबाट परकम्पन सुरु हुने अवस्था छ ।

मुलुकको अर्थतन्त्र ओरालो लागिसकेको छ । आर्थिक स्थिति असाधारण अवस्थाबाट गुज्रिँदै छ । ऋण बढेको छ, एक नेपाली जन्मदै ८० हजारको ऋणमा पर्ने भएका छन् । कर्मचारीको तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता समयमा बाँड्न सकिएको छैन । यूएस डलरमा नेपाली मुद्रा अवमूल्यन छ । ऋणको सावाँ, ब्याज भुक्तानीमा समस्या छ । बैंकहरूले ब्याजदर घटाइरहेका छन् । अन्तर्राष्ट्रिय सहयोग, अनुदान घटेकोे छ । वैदेशिक लगानी विश्वस्त छैन । भएको लगानीमा लाभांश भन्दै फिर्ता जान लागेको छ । मुलुकबाट पुँजी पलायन भइरहेको छ । विप्रेषणबाट प्राप्त रकम पनि अनुत्पादक क्षेत्रमा खर्चिएको छ । युवा स्वदेशमा छैनन्, दैनिक बिदेसिने र लास आउनेको संख्या बढ्दै छ । अपराध शृंखला बढेको, असह्य पीडाबाट मानिसहरू आत्मग्लानी, आत्महत्याको बाटो रोज्दै छन् ।

भ्रष्टीकरणलाई सौन्दर्यीकरण सम्झने मुलुकको राजनीतिले ३ करोड नेपालीमध्ये आधालाई विदेश बेचिसकेको छ

कुकर्म र अपराध गर्नेहरू सत्ताको संरक्षणमा हुर्किएका छन् । आरक्षण सिटहरू शक्तिशालीको कब्जामा छ । व्यापारी घरानीया भनिने पनि सत्तातिरै लोभिएका छन्, पद र संरक्षण खोज्दै । आर्थिक वर्ष २०७९÷०८० को पहिलो तीन महिनामा सेयर बजारबाट सरकारले ११ अर्ब ५० करोड राजस्व उठाएको थियो । अहिले आव २०८०÷०८१ को यस समयमा ८ अर्बले कमी भएको छ । गत एक–डेढ वर्षमा सेयरधनीको सम्पत्ति मूल्य करिब १६ खर्बले घटेको छ । सेयर मूल्य बढ्दा कुल बजारको पुँजीकरण बढ्ने हो, घट्दा घट्ने हो । सेयर बजार ओरालो लाग्दा कुल बजार पुँजीकरण पनि ओरालो लागेको छ । सेयर लगानीकर्ताहरूले सेयर बेचेर लगानीलाई स्थानान्तरण गर्दै छन् । तरलताको अभाव नभए पनि अभाव देखाई बैंकहरूले कर्जा लगानी घटाएका छन् । समग्रमा नेप्से सूचक र कारोबार रकममा निरन्तर ओरालो लागेको छ, जसबाट राजस्व असुलीमा कमी भएको छ ।

सरकारले पुँजीगत खर्च गर्नसकेको छैन, चालू खर्च अप्रत्याशित रूपमा बढेको छ । मुलुकमा रहेका व्यवसायीहरूलाई पनि राजनीतिमै लाग्न प्रेरित गरिएको छ । सेवामा लागेका भनिएका स्थानीय तहका मान्छेहरू पनि धमाधम अख्तियारको पञ्जामा पुगेका छन् । मुलुक थप संकटमा छ । सेयर बजारबाटै सरकारले विगत तीन महिनामा केवल ३ अर्ब ३७ करोड मात्रै राजस्व उठाएको छ ।

राजनीति केबल भागबन्डाका लागि भएको छ । तीन नेताले गठबन्धन दरिलो पार्ने भन्दै खाली कागजमा दस्तखत गरेका छन् । दलहरूले निष्ठा, आदर्श, सिद्धान्त, मर्यादा, आचरणको छनकसम्म दिनसकेका छैनन् । सत्ता संघर्ष, आपसी खिचातानी, वाक्युद्ध, सत्तोसरापले मुलुक आक्रान्त, भयभीत छ र काँपेको छ । निर्वाचन भएको एक वर्ष नपुग्दै ५ वर्षपछि आउने निर्वाचनको तयारी, आफूनै सत्तामा जाने बाटो मिसन २०८४ भन्दै नेपालीहरूलाई गिज्याउन लागिएको छ । आपूmले कबुल गरेका चुनावी घोषणापत्रहरू अहिलेसम्म कुनै पूरा गरेका छैनन्, नेताहरूले । रासायनिक मल कारखाना, मेलम्ची ३० वर्षअघिको नारा हो । जनता खर्चिलो निर्वाचनको एक दिन शासक बन्ने बाँकी सबै दिन श्री ३ हरूकै शासनमा पिल्सिने अवस्थामा छन् ।

जग्गाको अंशबन्डा, केही कित्ताकाट गरी नामसारी गर्र्दा ३० लाख खर्च लागेको भन्दै छन् । गुण्डाराज, बिचौलियाहरूको दबदबा, विचार शून्यको अवस्था, असह्य महँगीको पीडा, पैसा तिरेर किनेर खान्छु भन्दा पनि भनेको सामान नपाइने कस्तो अभिभावकीय सरकार छ, हाम्रो मुलुकमा ? सुपथ मूल्य खुलेकै दिन सामान पाइएन । यस वर्ष मात्रै होइन विगतको पनि अनुभव यही हो । असारे, डोजरे, माटो छोपेर टल्काउने, भोलिपल्टै बिग्रने विकास, जताततै जग्गाको प्लटिङ, उब्जा शून्य, अत्यावश्यक वस्तु पनि आयात गर्नुपर्ने अवस्था, आयातीत सामानमा अचाक्ली कर र भन्सार, परल मोलको दोब्बर मूल्यमा पेट्रोलियम पदार्थको सरकारी बिक्री, कहीँ नभएको भान्साका ग्याँसलगायतका वस्तुमा भन्सार कर, भ्याट जताततैबाट पैसा असुलेर महँगो गणतन्त्र र संघीयता पाल्नुपर्ने किन ?

पूर्वपदाधिकारीहरूलाई सबै किसिमको सुविधा दिइनुपर्ने किन ? मानौं लोकतन्त्रको नाममा सावाँ, ब्याज पुस्तौंसम्मका लागि उनीहरूलाई नै । यतिले पनि नपुगेर ललितपुरको भैंसेपाटीमा आलिशान महल किन ? जनताका लागि स्वास्थ्य, सडक, शिक्षा, खानेपानी, आवास, सरसफाइमा ध्यान नदिने, सुशासनको सुगा रटाइ मात्र अनि विदेशीको बुइ चढ्ने र जनतालाई कुनै मलमपट्टी नगर्ने यो असह्य नै भयो । रोजगारी, उद्यमशीलताको अभाव, कल कारखाना, लगानीमैत्री वातावरणको अभाव जहिले पनि ।

नेतृत्वले केवल संरचना परिवर्तन गरेको छ, भएका संरचनाहरू ध्वस्त छन्, प्रशासन पंगु भएको छ । मुलुकलाई विदेशीहरूले क्रीडास्थल बनाएका छन्, होनाहार युवाहरू पलायन छन् । संस्कृति, संस्कार र धर्ममा प्रहार भएको छ । नैतिक समाज अब बाँकी छैन । सबैले व्यापारिक कर्म मात्रै गर्ने भएका छन् । सुख, दुःख बाँड्ने, भारो, पर्म एक अर्कामा सरसापटी विश्वास सबै हराइसकेको छ । आप्mनो पार्टी फुटाएर घर जलाउने अनि जलेको खरानीको टीका लगाउँदै अर्काको दलसँग गाँसिने परम्परा बसेको छ । मानवीयताको पक्षलाई दानवीय पक्षले निलेको छ । राजनीतिमा स्वस्थ प्रतिस्पर्धा भएन । नैतिकता र इमानदारिताको अभाव भएको छ । स्रोत, मुहानमै विकृति आएपछि बाँकीको आशा के गर्ने ?

एक–डेढ करोड मान्छेमाथि शासन गर्नेहरूको यति ठूलो लर्को रहेसम्म मुलुकको विकराल अवस्थामा सुधार हुने संकेत देखिँदैन

नागरिकता विधेयकमा त्यही भयो । आममाफी प्रकरण त्यस्तै देखियो । कुकर्म गर्नेहरूलाई पूmलमालाले स्वागत गरियो । यसले सुकर्म चाहनेहरूको मनोबल ह्वात्तै गिरेको छ । नाम र संरचना बदलियो काम र संस्कारमा परिवर्तन भएन । मौलिक मूल्य र मान्यता विस्थापित भए । आयातीत असह्य र अचाक्ली खर्चिलो प्रणाली स्थापित भयो । अनेकौं कारणले नेपालीहरू सडकमा ओइरिएका छन् । कुनै पेसाकर्मीहरू सन्तुष्ट छैनन् । आसेपासेहरूले मात्र गुणगान गरेर जनविश्वास गुमाएपछि सत्ता लामो समय टिकाउन गाह्रो हुन्छ । श्रीलंकनहरूले नेताहरूको घर घेरे, लखेटे, मर्नै परेपछि मान्छेले खुट्टा तानेरै बाँकी सबै बिर्सनसक्छ । अति भएपछि कसैले वेद पढिरहँदैन ।

अघिल्लो निर्वाचनले धेरै सिकाइसक्दा पनि नेताहरूको होस खुलेन । आफै स्वनामधन्य बन्ने, आप्mनो सत्ता टिकाउन परदेशी गुहार्ने, तिनकै पाउ मोल्ने काम राम्रो भएन । परिबारवाद नै हावी भयो । जनताले सुखको सास फेर्न पाएनन् । दसैं, तिहारजस्तो चाडबाडमा पनि जनताको मुहारमा चमक छैन । राजनीतिको जाल फिँजाइयो, जनउत्तरदायी हुन सकेन । करको नंग्राले जनता चिथोरिए, सिंहदरबार गाउँ गएन, बरू सिंह मात्रै गयो चुसक बनेर । दरबार यतै बस्यो बालुवाटार, भैंसेपाटी, खुमलटार, शीतल निवासतिर ।

आमनेपालीले पाल्नसक्ने अवस्था पटक्कै छैन, यस्ता दरबारहरूलाई । व्यापारघाटा ऋण, आफन्तको वियोग कति छन् कति ? नेपालीहरूका पीडा अभिभावक भनिएको सरकारले तिनको आँसु पुछ्नै सकेन र आमनेपालीहरूको एउटै भनाइ छ, जुन जोगी आए पनि कानै चिरिएका । कसैले शान्तिको सन्देश दिन सकेनन् । यसैको फलस्वरूप दसैं, तिहारपछि त घरघरैबाट आन्दोलनको आँधीबेहरी ल्याउने आवाजहरू पनि सुन्न थालिएको छ । विदेशमा कतै प्रधानमन्त्री साइकलमा यात्रा गर्छन्, कतैका भूपु राष्ट्रपतिहरू सन्तान पढाउन निजी कम्पनीमा जागिर खान्छन् । यहाँकालाई अति भएन र ?

नेतृत्वले नसिकाएको भए हाम्रो समाज किन पथभ्रष्ट भइरहेको छ ? निष्ठा र आदर्शलाई किन कुल्चँदै छ ? दैनिक जीवन किन बढी कष्टकर भइरहेछ ? मौलिक मान्यताहरू किन धराशायी भए ? परराष्ट्र नीति किन असन्तुलित भएको छ ? विदेशीहरूले किन क्रीडास्थल वा आफ्नो पूmलबारी बनाउँदै छन् ? कागजी नक्सा कता पुग्यो ? त्यसैले मुलुकले हारेको छ अहिले । हार्नुलाई कुनै सशस्त्र युद्ध नै हुनुपर्दैन त्यहाँको आप्mनो कला, संस्कृति, धर्म, संस्कार, भाषा, वेशभूषा, रोजगारी सिध्याए पुग्छ । एक–डेढ करोड मान्छेमाथि शासन गर्नेहरूको यति ठूलो लर्को रहेसम्म मुलुकको विकराल अवस्थामा सुधारको संकेत देखिँदैन, बरू थप क्षति भने सुनिश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुँदै