घरजग्गा कारोबारमा आशालाग्दो उन्नति

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएपछि र सरकारले कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार फस्टाउन थालेको छ । कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र घरजग्गा कारोबारमा कडाइ गरेपछि झनै मन्दीमा पुगेको अवस्थामा पुनः घरजग्गाको कारोबार बढेसँगै माथि उकासिने अपेक्षा गर्न थालिएको छ ।

मंसिरमा अझै कारोबार बढ्ने अपेक्षा

विदेशी मुद्राको सञ्चिति बढेसँगै रेमिट्यान्स र राजस्व पनि बढेपछि घरजग्गा व्यवसायीहरू कारोबार बढ्ने आशामा हौसिन थालेका छन् ।

गैरआवासीय नेपाली नागरिकतासमेत वितरण गर्न थालिएपछि घरजग्गा कारोबार मंसिरपछि बढ्ने अपेक्षा गरिएको छ ।

यही सिलसिलाअन्तर्गत गत असोजमा घरजग्गा कारोबार र कित्ताकाट उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवको असोजमा घरजग्गा कारोबार ४६ दशमलव ७६ प्रतिशतले बढेको छ । कारोबार बढेपछि सरकारको राजस्वसमेत ३७ दशमलव १२ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कित्ताकाट पनि अघिल्लो वर्षको असोजको तुलनामा ८१ दशमलव ९७ प्रतिशतले बढेको छ ।

गत वर्षको मंसिरबाट मात्र जग्गा वर्गीकरणका कारण कारोबार शिथिल भएकामा यस वर्षको असोजमा गत वर्षभन्दा बढी कारोबार देखिएको हो । पर्यटन व्यवसायसमेत फस्टाउन थालेको र राजस्व वृद्धिको ‘ट्रेन्ड’ देखापर्दै जान थालेपछि जेठयता लगातार घटेको घरजग्गाको किनबेच पनि असोज महिनामा सुधारतिर गएको देखिएको छ ।

यस वर्ष साउन र भदौमा भएको कारोबारको तुलनामा असोजमा कारोबार बढेपछि उत्साह थपिएको व्यवसायीहरू बताउँछन् । चालू आवको घरजग्गा कारोबार तथा कित्ताकाटले साउनमा २ अर्ब ९१ करोड राजस्व उठेकामा असोजमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व उठाउने प्रावधान रहेको छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट सरकारले राजस्व उठाउने गरेको छ ।

नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मंसिरबाट कारोबार बढ्ने अपेक्षा गरेको र पुसमा अझ व्यवसाय फस्टाउनका लागि रियल एक्स्पो आयोजना गरिएको जानकारी दिए ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकनुसार असोज महिनामा मुलुकभर ३९ हजार ८ सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ । गत वर्षको असोजमा मुलुकभर २५ हजार ७ सय ८९ संख्यामा घरजग्गा किनबेच भएका थिए ।

विभागका अनुसार काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा घरजग्गा कारोबार बढेको छ । असोजमा मात्र उपत्यकाभित्र २ हजार ३ सय १५ घरजग्गाको कारोबार भएको छ । भदौमा १ हजार ९ सय ५० घरजग्गाको कारोबार भएको थियो । घरजग्गा कारोबारमा सुधार देखिएसँगै जग्गा कित्ताकाटमा पनि वृद्धि भएको छ । विभागको तथ्यांकअनुरूप भदौको तुलनामा असोजमा ३५ प्रतिशतले कित्ताकाट वृद्धि भएको देखिएको हो । भदौमा ५ सय ३२ को संख्यामा कित्ताकाट भएको थियो भने असोजमा ७ सय १५ संख्यामा कित्ताकाट भएको छ ।

गत २३ जेठ २०७९ देखि भू–उपयोग नियमावली लागू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो । नियमावलीनुसार सबै स्थानीय तहलाई जग्गा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा वर्गीकरण गर्न भनिएको थियो ।

संशोधित नियमावलीनुसार प्लानिङ अनुमति (परमिट) लिएकाहरूले साढे २ आना क्षेत्रफलमा जग्गा कित्ताकाट गर्न पाउँछन् । त्यसअघि कम्तीमा ४ आना १ दाममा मात्रै जग्गा कित्ताकाट गर्न पाइन्थ्यो । प्लानिङ अनुमति नलिई व्यक्तिगत रूपमा हुने जग्गा कित्ताकाटमा भने अहिले पनि न्यूनतम ४ आना १ दामकै प्रावधान छ ।

मोही, अंशबन्डामा पनि अब साढे दुई आना क्षेत्रफलमै जग्गा कित्ताकाट गर्न पाइने भएको छ । पहिले न्यूनतम ४ आना १ दाम मात्रै कित्ताकाट गर्न पाइन्थ्यो । वर्गीकरण नभएको क्षेत्रमा त्यति पनि कित्ताकाट गर्न पाइँदैनथ्यो । यसले गर्दा अशंबन्डा र मोहियानी हकदाबीमा समस्या भएको थियो ।

बैंकहरूले कर्जाको ब्याजदर घटाएकाले र रेमिट्यान्स पनि बढेकाले घरजग्गाको कारोवार अझै बढ्ने अपेक्षा गरिएको छ । रेमिट्यान्स बढेपछि नेपाली मनस्थितिले घरजग्गामा लगानी गर्ने भएकाले मंसिरबाट अझ कारोबार बढ्ने र सरकारको राजस्व पनि बढ्ने अध्यक्षले लोहनीले बताए ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा रहेका घरपरिवारमध्ये ६८ प्रतिशतले घर वा जग्गा थपेको वा किनेको देखिएको देखाएको थियो ।

कात्तिक महिना चाडपर्व भएकाले र सरकारी कार्यालय पनि त्यति धेरै नखुल्ने हुँदा मंसिरमा भने कारोबार बढ्ने अपेक्षा गरिएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि असोजसम्म निरन्तर घरजग्गाको कारोबार बढेको छ । विगतको तथ्यांकनुसार घरजग्गाको कारोबार साउनदेखि चैतसम्म नै बढ्ने गरेको छ ।

चालू आवको साउनमा ७७ हजार ६८ पटक कित्ताकाट भएको थियो । भदौमा ८० हजार ३ सय १७ पटक जग्गाको कित्ताकाट हुँदा असोजमा बढेर १ लाख ६ हजार ३ सय ४९ पटक पुगेको तथ्यांक छ । समग्रमा हेर्दा साउन, भदौ र असोजमा क्रमशः १ लाख १९ हजार, १ लाख २० हजार र १ लाख ४० हजार घरजग्गा कारोबार भएकोे छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोजमा मुलुकभरका मालपोत कार्यालयबाट ३९ हजार ७ सय ९३ वटा घरजग्गाको लिखत पारित भएको छ । भदौमा मुलुकभरमा ३५ हजार ६ सय ८६ वटा घरजग्गाको किनबेच भएको थियो ।

नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा घरजग्गा कारोबारलाई अझ सुधार गर्नका लागि राज्यले ठेकेदारहरूको दिनुपर्ने पैसा चाँडो बजारमा पठाउनुपर्ने बताउँछन् । त्यो पैसा बजारमा नआउँदा, राष्ट्र बैंकको सहयोग नहुँदा, बैंकहरूलाई बढी कसेर राख्दा र अर्थतन्त्र खुकुलो नहुँदा घरजग्गाको कारोबार अझ रफ्तारमा नभएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल