टिकटक प्रतिबन्ध र हाम्रो दरिद्रता

डा. निरज पौड्याल

यो के खालको शीर्षक हो ? के सम्बन्ध छ र विश्वभरि अर्बाैंले चलाउने गरेको सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको पछिल्लो नेपाल शृंखला र हाम्रो दरिद्रताका बीचमा ? संसारमा प्रतिबन्धको लहर चलेको छ, कतै कम कतै बढी । चीनमा गुगल, फेसबुक, ट्वीटर, टिकटक, युट्युब सबै प्रतिबन्धित नै छन् । भारतले पनि टिकटक प्रतिबन्ध गरेको छ । संसारमा धेरै कुरा प्रतिबन्धित गरिएका छन्, अनेक बहानामा । यसको हाम्रो दरिद्रतासँग के सम्बन्ध छ र भनेर लाग्नु स्वाभाविक हो । यसको हाम्रो आर्थिक अवस्थासँग केकस्तो सम्बन्ध छ त ? सामाजिक सञ्जाल त नयाँ कुरा हो, तर हाम्रो आर्थिक पछौटेपन त निकै पुरानो हो । कसरी हुन सक्छ यहाँ कुनै सम्बन्ध ? फेरि चीन त सवृद्ध नै छ अनेक कुरा प्रतिबन्ध गरेर पनि † यसको विश्लेषण सामाजिक, राजनैतिक, आर्थिक भूराजनीतिक अनेक कोणबाट गर्न सकिन्छ । यही सेरोफेरोमा आज केही विश्लेषण गरौं ।

पहिला कुनै कुरा प्रतिबन्धित किन गरिन्छ भनेर बुझौं । प्रतिबन्ध गर्नेहरूको तर्क सधैं आममानिसको हित, सामाजिक सद्भावको संरक्षण र राष्ट्रिय सुरक्षा जस्ता गम्भीर विषय हुने गर्दछ । यस्तो तर्क दिएपछि आममानिसले विरलै विरोध र प्रतिकार गर्दछन् । अभिव्यक्ति स्वतन्त्रताको चेत हाम्रो समाजमा उसै पनि कम नै छ । कसैलाई लागेको ‘असामाजिक’ र ‘सामाजिक सद्भाव भड्काउने’ खाले सामग्री आयो भनेर नेपाल सरकारले टिकटकमाथि बन्देज लगायो, भलै यो बन्देज पूर्णरूपमा प्रभावकारी हुने सम्भावना झिनो छ । अझ यो निर्णय सर्वोच्च अदालतबाट उल्ट्याइने सम्भावना पनि उत्तिकै छ ।

जहाँ वादविवाद, वाक् र अभिव्यक्ति स्वतन्त्रता हुँदैन, जहाँ जोखिम नलिएर सुरक्षा मात्र खोजिन्छ, त्यस्तो समाज स्वतन्त्र त हुँदैन नै, दीर्घकालमा सुरक्षित र संवृद्ध पनि हुन सक्दैन । बोल्दा वा अभिव्यक्ति दिँदा असल र खराब दुवै प्रभाव पर्न सक्छ भन्ने जानेर नै अभिव्यक्ति स्वतन्त्रता आवश्यक परेको हो

राम्रो र नराम्रोको कुनै सर्वमान्य परिभाषा हुँदैन । तर ‘कसैलाई वा सबैलाई खराब लागेको कुनै कुरा प्रतिबन्धित गर्दा के नै पो बिग्रिन्छ र ?’ भन्ने तर्क हाम्रो समाजमा व्याप्त छ । खराब कुरा देखाउने टिकटक बन्द किन नगर्ने, मानिसको समय बर्बाद गर्ने टिकटक प्रतिबन्धित किन नगर्ने ? चीनले र भारतले त बन्द गरिसके हामीले किन नगर्ने ? मानिसको बानी बिगार्ने टिकटक किन बन्द नगर्ने ? यस्ता कुरा व्यापक सुनिन्छ स्वयं सामाजिक सञ्जालमा । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने यो तर्क प्रयोग गर्दै जाँदा फेसबुक, गुगल, ट्वीटर, युट्युब केही पनि बाँकी रहँदैनन् । चीनमा त्यही भएको छ । चीन सरकारले चाहेबाहेक कुनै पनि जानकारी आममानिसले खोजेर पढ्न, हेर्न, सिर्जना गर्न सक्दैन । गुगल सर्च गर्दा पनि हिटलर र माओको बर्बरताको कथा र प्रशंसाको कुरा आउन सक्छ । फेसबुकमा पनि ‘हेर्नै नसकिने’ पोस्ट आउने गरेका छन् । कोही त खुलम खुला देश नै टुक्र्याउने, जातीय सद्भाव भड्काउनेसम्मका सामग्री पोस्ट फेसबुकमा गर्छन् । अब फेसबुक किन बन्द नगर्ने त ? यो तर्क त यति खतरनाक छ कि यसले रामायणमा रावणको वर्णन र कथा भएकाले रामायणसमेत प्रतिबन्ध लगाउने कुरा पनि गर्न सकिन्छ । रावणको कुरा समाजले सिक्ला भनेर रामायण पढ्न हुन्न भन्न सक्छ । अथवा रामायणमा रावणको कुरा सबै मेटेर मात्र पढ्नु पर्छ पनि भन्न सकिन्छ ।

हामीले हामीलाई खराब लागेको कुरा प्रतिबन्धित गर्दै जाने हो भने हाम्रो हालत के होला भनेर सोच्न ढिला भइसकेको छ । पहिलो कुरा त असल र खराबको सर्वमान्य परिभाषा सहजै भेटिन्न । दोस्रो कुरा हरेक सामाजिक सञ्जालमा खराब र असल दुवै सामग्री हुन्छन् नै । खराब कुरा पनि हुने भएकाले नै असल कुराको महŒव बुझिने हो र खराब र असलको भेद गर्ने धर्मको हामीमा विकास हुने हो । रावण नभए रामको गुणको के महŒव हुन्छ र ? यो प्रतिबन्धको नीति आममानिस मूर्ख छन्, नादान छन् र राज्य अभिभावक हो भन्ने मानसिकताले ग्रस्त छ । प्रतिबन्धको तर्क हामीले गल्ती नै नगरी सिकोस् भन्ने आशयले ग्रस्त छ । राज्य हामीलाई ‘राम्रो’ कुरा मात्र सिकाउने रोगबाट ग्रस्त छ । न राज्य हाम्रो अभिभावक हो, न हामी गल्ती नगरी राम्रोसँग सिक्न नै सक्छौं । सामाजिक सञ्चजालमा लागेको प्रतिबन्ध पछिल्लो उदाहरण मात्र हो । राणाले पुस्तक र सभामा प्रतिबन्ध लगाए, पञ्चले हाम्रो वाक् र प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाए । लोकतन्त्रवादीले पनि पुस्तक, गीत संगीतमा, वेबसाइट र युट्युबमा प्रतिबन्ध नलगाएका होइनन् । लोकतन्त्रवादीले पनि राज्यको आलोचना गर्नेलाई जेल हाल्ने सक्दो कोसिस पटकपटक नगरेका होइनन् । विद्रोही हुँ भन्नेले पुस्तक जलाए, सामाजिक मर्यादाका नाममा क्रुर र बर्बर आतंक पनि मच्चाए । यसबाट के प्रस्ट हुन्छ भने प्रतिबन्धको मानसिकता हाम्रो आधारभूत सामाजिक मान्यता नै बनेको छ ।

अब यो हाम्रो सामाजिक मान्यता हाम्रो आर्थिक अवस्थासँग कसरी सम्बन्धित छ त ? आर्थिक संवृद्धिको वैचारिक आधारशीला भनेको उद्दमशीलता हो भन्ने कुरामा धेरै विज्ञ सहमत हुन्छन् । उद्दमशीलता भनेको आममानिसले आफ्नो जीवनस्तर सुधार गर्न असफलताको जोखिम लिएर नयाँनयाँ आर्थिक गतिविधिमा पाइला चाल्ने प्रवृत्ति हो । नवप्रवर्तन र प्रयोग उद्दमशीलताको न्यूनतम पूर्वसर्त हो । प्रयोग वा नवप्रवर्तन गर्दा असल र खराब, सफल र असफल सबैखाले नतिजा आउन सक्छ । असफल हुने वा खराब नतिजा आउने डरले प्रयोगमा प्रतिबन्ध लगाउँदा के प्रभाव पर्ला ? बालक लड्ला भनेर हिड्न नदिने, सैनिक घाइते होला भनेर अभ्यास गर्न नदिने, व्यवसाय असफल होला भनेर लगानी गर्न नदिने हो भने कस्तो समाज निर्माण होला ? नवप्रवर्तन र वैज्ञानिक सफलताको पूर्वसर्त चाहिं आलोचनात्मक चेत हो । जहाँ वादविवाद, वाक् र अभिव्यक्ति स्वतन्त्रता हुँदैन, जहाँ जोखिम नलिएर सुरक्षा मात्र खोजिन्छ, त्यस्तो समाज स्वतन्त्र त हुँदैन नै, दीर्घकालमा सुरक्षित र संवृद्ध पनि हुन सक्दैन । बोल्दा वा अभिव्यक्ति दिँदा असल र खराब दुवै प्रभाव पर्न सक्छ भन्ने जानेर नै अभिव्यक्ति स्वतन्त्रता आवश्यक परेको हो ।

खराब असर नहोस् भनेर अभिव्यक्तिमा नै प्रतिबन्ध लगाउँदा असल कुराको सिर्जना पनि हुन सक्दैन । यसले नवप्रवर्तन र प्रयोगशीलतामा गम्भीर धक्का लाग्दछ । अभिव्यक्ति गर्नु वा बोल्नु भनेको विचार गर्नु पनि हो । धेरै मान्छे बोलेर नै सोच्ने पनि गर्दछन्, अभिव्यक्ति दिएर नै सोच्ने गर्दछन् । त्यसैले, अभिव्यक्तिमा प्रतिबन्ध लाग्नु विचार गर्न नै प्रतिबन्ध लगाए सरह हो । अभिव्यक्ति र वाक् स्वतन्त्रतामा लाग्ने प्रतिबन्धभन्दा खतरनाक त टिकटक जस्तो अभिव्यक्तिको माध्यममा लाग्ने प्रतिबन्ध हुन्छ । यो त प्रेसमा नै प्रतिबन्ध लगाए सरह हो । यो त विचार व्यक्त गर्न मात्र नभएर भाषामा नै प्रतिबन्ध लागेसरह हो । विचार नगर्ने समाजमा कस्तो उद्दमशीलता विकास होला, कस्तो वैज्ञानिक प्रगति होला ? हाम्रो समाजमा प्रशस्त लगानी गरेपछि वैज्ञानिक प्रगति र उद्दमशीलता विकास हुन्छ भन्ने भ्रम छ । अझ समाजवादको हावाले गर्दा यस्तो लगानी सरकारले गर्नु पर्छ भन्ने भ्रममाथिको महाभ्रम छ । ठुलाठुला आविष्कार, वैज्ञानिक खोजहरू चरम गरिबीमा रहेकाले गरेको प्रशस्त उदाहरण छन् । अझ अभावले कहिलेकाहीं त नवप्रवर्तनमा सहयोगी भूमिका समेत निभाउँछ । वैचारिक मन्थनले लगानीको चरम अभावलाई चिर्ने क्षमता राख्दछ । लगानी त दोस्रो कुरा हो । पहिलो कुरा त अभिव्यक्तिको स्वतन्त्रता हो । विचार नै बन्द गर्ने, प्रयोग र अभिव्यक्ति नै बन्द गर्ने हो भने जतिसुकै लगानी गरे पनि मानिसमा उद्दशीलता र आलोचनात्मक चेतको विकास हुन सक्दैन ।

प्रविधिले अभिव्यक्ति गर्ने थप उपाय उपलब्ध गराएको छ । अभिव्यक्तिको हकलाई झन् समावेशी बनाएको छ । पढ्नै नजान्ने वा नसक्नेले पनि अभिव्यक्त गर्न सक्ने बनाएको छ । पहिला अभिव्यक्ति दिन नसक्नेहरू पनि अब अभिव्यक्ति दिन र सोच्न सक्ने भएका छन् । यस्तो प्रविधिले पहिला नसोच्नेहरू पनि सोच्ने भएका छन् । यसले उद्दमशीलता र वैज्ञानिक चिन्तनलाई बढावा दिन्छ । राज्यले यस्तो प्रविधिलाई बन्द गर्न खोज्नु भनेको मानिसलाई नसोच, नबोल र कुनै नयाँ काम नगर भन्नु हो । यस्तो समाजमा आर्थिक संवृद्धि होइन केवल दरिद्रता छाउँछ ! उदाउँदो विश्वशक्ति चीनसँग टिकटकलाई प्रतिबन्ध लगाउँदा, उसका आफ्नै रैथाने सामाजिक सञ्जाल छन् । भारत विश्वशक्ति बन्ने तर्खरमा रहेको मुलुक हो । यस्ता देशको हामीले नक्कल गरेर सक्छांै ? टिकटकमा भएका सिर्जनात्मक कामका लागि हामीसँग वैकल्पिक माध्यम छन् ? यस्ता प्रश्नको जवाफ नखोजी सिधै प्रतिबन्धको नीति लिइनु हाम्रो दरिद्रताको थप कारण बन्ने छ ।

राज्यले त सबैखाले माध्ययमलाई खुला राख्ने, नयाँनयाँ माध्ययमलाई प्रोत्साहन गर्ने, सबैलाई आफ्ना राम्रा र नराम्रा सबै अभिव्यक्ति राख्न दिने र आममानिसलाई नै कुन माध्यम टिकाउने र नटिकाउने, कुन सामग्री ग्रहण गर्ने वा नगर्ने भनेर स्वतन्त्रपूर्वक निर्णय गर्न दिने हो । राज्यले राम्रो र नराम्रो सामग्रीको सूची बनाउने होइन । राज्यले आफूभन्दा आममानिस बढी समझदार र विवेकी छ भनेर हिंड्नुपर्छ । बरू राज्यले सामाजिक सञ्चाललाई नियमन गर्न सक्छ, करको दायरामा ल्याउन सक्छ, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रयोग गर्न सक्छ, कुनै आपराधिक क्रियाकलाप भए त्यसलाई कानुनी दायरामा ल्याउन सक्छ । सर्वदलीय त के सर्वजनले सहमति जनाए पनि १ जना मात्रको पनि अभिव्यक्ति वा त्यसका माध्यममा प्रतिबन्ध लग्नु कानुनीराज, नागरिक हक र लोकतन्त्रको घोर अपमान हो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी