पछिल्ला दिनमा नेपालमा भौगर्भिक हलचल बढी हुन थालेको छ । जन्मका हिसाबले नेपाल सबैभन्दा कान्छो मुलुक हो । उत्तरतिर चिनियाँ र दक्षिणमा भारतीय प्लेटको आपसी टक्करका कारण यी दुई ठूला मुलुकको बीचमा रहेको तात्कालीन टेथिस सागरको पिँध माथि उठ्न गई नेपाललगायत सिक्किम, भुटान, पाकिस्तान, अफगानिस्तान आदि रहेको हिमाली भाग बन्न पुगेको हो ।
हाल पनि भारतको आफ्नो प्लेट र उत्तरमा चीन अडिएको तिब्बतीय टेक्टोनिक प्लेटहरू एकआपसमा टकराउने गरिरहन्छन् । यी भीमकाय स्वरूपका प्लेटहरू आपसमा टकराउँदा बीचमा रहेको नेपालको भने आफ्नो सिंगो प्लेट नै छैन । नेपालको भूगर्भमा खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी प्लेटका आधारहरू छन् ।
सिंगो र अखण्ड प्लेट नभएको नेपाल यसरी भारतीय तथा तिब्बतीय प्लेटहरू एक आपसमा जुध्दै जाने कारणले भूगर्भीय हलचलमा परिरहन्छ । भनिन्छ, यसका कारण हिमाल पनि प्रतिवर्ष अझ अग्लिइँदै गइरहेको मानिन्छ । वैज्ञानिकहरूको भारतीय टेक्टिोनिक प्लेट प्रत्येक वर्ष चिनियाँ टेक्टोनिक प्लेटको मुनि धसिँदै गइरहेको निष्कर्ष छ । यसले नेपालमा हरेक वर्ष, हरेक क्षण र हरेक दिन भूकम्पीय जोखिम रहिरहेको स्पष्ट पाठ सिकाइसकेको छ ।
तर, अहिलेसम्म नेपालको कुन क्षेत्रमा कति ठूला भूगर्भीय चट्टान वा प्लेट छन् भनी भौगर्भिक अध्ययन र अनुसन्धान नै हुन सकेको छैन । कम्तीमा पनि प्रादेशिक आकारका प्लेट कहाँ छन् ? कहाँ चट्टान र ठूला ढुंगा मात्र छन् ? तिनको यकिन हुन जरुरी छ । यो कुरा पत्ता लगाएर मात्र त्यस भूगोलमाथि बसोबास गरेका जनतालाई सचेत बनाउन र तदनुरूपको जोखिमबाट बच्न भूकम्पमैत्री आवास निर्माणमा लाग्न÷लगाउन सकिन्छ ।
हामीले १९९० सालको भूकम्पदेखि हालसम्म हजारौं सानाठूला भूकम्पीय कम्पन र पराकम्पन भोगिसकेका छौं । पछिल्लो समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पु-याएको जनधनकोे क्षतिले पनि हामीलाई अबका दिन त्यति सहज र ढुक्क हुने खालका छैनन् भनी सतर्क बनाइसकेको छ ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पले पनि यसअघि नै हामीलाई सतर्क बनाइसकको हो । तर, अहिलेसम्म पनि भूकम्पीय जोखिम र क्षतिबाट बच्नका लागि अति जरुरी नीति, योजना र कार्यक्रम निर्माणसम्म गरिएको छैन । नेपालको भौगर्भिक कमजोरीप्रति आँखा चिम्लने होइन, बरू जानकारीसहित सतर्क रहन जरुरी छ ।