टिकटक नाम गरेको एउटा सामाजिक सञ्जाललाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको यस कदमले एकखाले तरंग पैदा भएको छ । नेपाली बौद्धिकवर्गसमेत लगभग दुई फ्याकमा विभाजित भएको अवस्था छ । केही कानुनविद्हरू त सरकारको यस कदमका विरुद्ध अदालत गुहार्नसमेत पुगेका छन् भने कतिपयले समर्थन पनि गरेका छन् । मूलधारका भनिने राजनीतिक दलहरूचाहिँ मोटामोटी रूपमा प्रतिबन्धको समर्थनमै देखिन्छन् ।
निश्चित रूपमा एउटा कुराचाहिँ सत्य हो, टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालका माध्यमहरूसमेत चरम उच्छृंखलता, अराजकता, छाडापन र अश्लीलताको उदाहरण नै बनेका छन् । कतिपय राजनीतिक व्यक्तित्व र समूहसमेत यस्तै छाडापनका कारण ‘लोकप्रिय’ भएका मात्र होइन स्थापितसमेत भएका छन् । वितृष्णा र असन्तुष्टिका कारण कमजोर मस्तिष्कलाई यस्ता छाडापनले आकर्षित गर्नु स्वाभाविक नै मान्नुपर्ला । लोकतान्त्रिक व्यवस्था आजका मितिमा सर्वोत्कृष्ट मानिए पनि संख्याबल सर्वोपरी हुनेहुँदा भीडले प्रधानता पाउँछ नै । यो वास्तवमा लोकतन्त्रको सबैभन्दा कमजोर पक्ष हो । र, भीड आज छाडापनमा रमाएको अवस्था छ । सामाजिक सञ्जालमार्फत मनपरी द्विअर्थी वाक्य बोलेर वा कसैमाथि अनर्गल तथ्यहीन आरोप लगाएर लोकप्रिय बन्ने कसरत सफल भएको छ । ‘सर्ट निलो तर यो मान्छे कति गिलो’जस्ता अश्लील वाक्यांश बोलेर वा ‘सिंहदरबार जलाइदिन्छु’जस्ता चरम अराजक बोली बकेर पनि व्यक्ति चुलीमा पुगेका छन् । एउटा समुदायलाई मनपरी गाली गरेर र बैंकको ऋण तिर्नुपर्दैन भन्ने लोभ देखाएर पनि व्यक्तित्व स्थापित भएका छन् । सभ्य समाजले कदापि स्वीकार गर्न नसक्ने बोली र वेशभूषाका साथ प्रस्तुत भएर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जालको चरम दुरुपयोग हुँदै गरेको र त्यसैबाट भीड आकर्षित भइरहेको तथ्यलाई स्विकार्नुको विकल्प छैन ।
नकारात्मकता, अराजकता र छाडापन किन मौलायो ? ’cause यस्तो कर्मबाट स्थापित हुन सकिन्छ र लोकप्रिय भइन्छ भन्ने प्रमाणित हुन पुग्यो । दोषी को हो ? आफ्नो व्यक्तिगत वा समूहगत निहित स्वार्थका कारण होस् वा बौद्धिक क्षमताको कमीका कारणले होस् अथवा क्षणिक आवेग, रोमाञ्चकता वा मादकीय प्रभावका कारण होस् अराजक, अश्लील वा छाडापनलाई वाहवाही गरेर प्रश्रय दिएको त समाजले नै हो । त्यस्तो प्रवृत्तिको प्रशंसा नगरेर वा भोट नदिएर बेवास्ता गरिदिएको भए त यिनीहरू झांगिनै पाउने थिएनन् । यसो भनिरहँदा मूलधारका भनिएका राजनीतिक दलहरू वा मिडिया नै पनि दोषमुक्त छन् भन्न पटक्कै खोजिएको होइन । समाजका सोझासाझा व्यक्तिहरू यी ‘मूलधार’को नालायकीपन र भ्रष्ट आचरणका कारण नै वैकल्पिक व्यक्ति र शक्तितर्फ ढल्किन पुगेका हुन् । तर, विचरा जनता ! तावाबाट फुत्केर भुंग्रोमा फस्न पुगेका छन् । यो चेत फिर्न केही समय लाग्नेछ ।
लोकतन्त्रमा जो कसैले जस्तोसुकै विचार राख्न सक्छ, कसैमाथि आस्था अथवा विश्वास वा अनास्था अथवा अविश्वास प्रकट गर्न सक्छ र त्यस्तो आस्था वा विश्वासलाई स्थापित गराउन भरमग्दुर कोसिस गर्न पाउँछ । तर, त्यस्तो कोसिस र कोसिस गरिरहँदाको प्रस्तुतिमा झूठ, फरेव र निहित स्वार्थ लुकेको छ भने त्यो चाहिँ अपराध नै हो । कसैलाई राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने इच्छा जागेको छ भने त्यो पनि छुट छ । व्यवस्था परिवर्तन गर्ने दुई उपाय छन् । निर्वाचन लडेर दुई तिहाइ ल्याएर संविधानका मनलागेको तमाम धारा उपधारा परिवर्तन गर्दा हुन्छ । त्यसो गर्न सकिन्न भने आन्दोलनको भयानक आँधी बेहरी ल्याएर वर्तमान संविधानलाई प्रतिस्थापन गर्ने ताकत हुनुप¥यो ! सयौं साना समूह उपसमूहलाई मनचिन्ते झोला खोलेर आश्वासनका पोका बाँड्ने अनि एकखाले भीड जम्मा गर्ने र अराजकता फैलाउने चाहिँ दुष्कर्म नै हो । यस्तो दुष्कर्म सफल बनाउन सामाजिक सञ्जालको ‘सदुपयोग’ धूर्तता त मानिएला तर यो महाअपराध नै हो ।
तर, के यी सब कारणले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु जायज हो ? सुप्रसिद्ध दार्शनिक भोल्टेयर भन्छन्, ‘म तिमीले भन्न खोजेको कुराप्रति असहमत हुनसक्छु तर तिम्रो आफ्नो कुरा भन्ने हकको रक्षाका लागि मृत्युपर्यन्त लडिरहनेछु ।’ त्यसो हो भने छाडा, अराजक र अश्लील कुराहरूलाई अभिव्यक्तिको स्वतन्त्रताको नाममा खुला छोडिदिने ? अथवा माध्यमलाई नै बन्द गरिदिने ? दुवै तरिका गलत हुन् । विधिको शासन कायम छ भने त विद्यमान विधि र कानुनकै अधीनमा रही यस्ता व्यक्तिलाई तह लगाउन सकिन्छ । समाजको अत्यन्तै तल्लो तहसम्म फैलिसकेको विकृतिका रूपमा विद्यमान अराजक, अश्लील एवं छाडा प्रवृत्तिलाई नियन्त्रण गर्न कठिन अवश्यै छ, असम्भव भने छैन । माध्यम नै बन्द गरिदिने निर्णयलाई चाहिँ कदापि समर्थन गर्न सकिन्न । यहाँनेर बूढी मरी भन्ने होइन, काल पल्कियो कि भन्ने डर हो । अभिव्यक्तिको स्वतन्त्रता वा प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा कुण्ठित गर्न मिल्दैमिल्दैन ।






