भूकम्पपीडितका छाना उदांगाको उदांगै

काठमाडौं । जाजरकोटमा भूकम्प गएको एक महिना बित्न लाग्दा पनि पीडित राहतको पर्खाइमा अझै पनि प्रताडित बनेका छन् । पीडितलाई मलमपट्टी लगाउने भनेर जाजरकोट पुगेका राजनीतिक दलका नेताहरू उतै फोटो सेसनमा व्यस्त छन् । टहरा निर्माणमाको संख्या गन्दै सामाजिक सञ्जालमा फोटो कैद गरिरहँदा नजिकै राहत नपाएका पीडितको अवस्था दयनीय बन्दै गएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्र भएर गतकात्तिक १७ गते राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । भूकम्पपछि जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म १५ जना पुगेका छन् ।

– प्रधानमन्त्री राहत कोषमा १७ करोड रुपैयाँ थुप्रियो

– भूकम्पपछि चिसोका कारण १५ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएसँगै चिसोबाट मृत्यु हुनेको संख्या १५ पुगेको हो । जाजरकोटमा अझै पनि त्रिपालमुनिी १ हजार ७६ जना सुत्केरी कष्टकर दैनिकी जीवन बिताउँदै छन् ।

राहतका लागि भूकम्पपीडितको आँगनमा पुगेका राजनीतिक दलले एकातिर भूकम्प प्रभावित क्षेत्रमा सयौं घर टहरा निर्माण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहँदा उता पीडितको भने चिसोका कारण मृत्यु हुने क्रम रोकिएको छैन । भूकम्प प्रभावित क्षेत्रमा यतिखेर नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता पुनर्निर्माणको नाममा टहरा निर्माण गरिरहँदा पीडितको चिसोका कारण मृत्यु भएको खबर आउँदा दलका नेतालाई न पीडाले दुख्छ न पोल्छ नै ।

पीडितको भयावह अवस्थाले गिजाइरहँदा त्यहाँ पुगेका कांग्रेस र एमालेका नेता, कार्यकर्ताको नालायकीपन झल्किरहेछ । सरकार र राजनीतिक दलका नेता अहिले दैनिक जाजरकोटमा चिसोबाट मृत्यु भएकाको संख्या गणना गरेर बसिरहेका छन् । पीडामा यो भन्दा नालायकीपन अरू के हुन सक्छ ?

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केही दिनअघि भूकम्पपीडितका लागि यसो गर्नुपर्छ भनेर सरकारलाई सुझाव त दिए तर, उनी गएकै ठाउँमा पीडित कम्मल नपाएर २५ वर्षिया शर्मिला विक चदराको मृत्युमा समवेदनासम्म दिएनन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आप्mनो भ्रातृसंगठनले जाजरकोटमा भूकम्पपछि पुनर्निर्माणमा गरेको कामको सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक गरे ।

तर, शर्मिला जस्ता १५ जना भूकम्पपीडितले यो चिसोमा कम्मल नपाएर मृत्युवरण गर्दा किन दुख्दैन ? सामाजिक सञ्चालमा कामको प्रचारप्रसार गरे पनि भूकम्पपीडितको दैनिकी कष्टकर भइरहेतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जाजरकोटबाट निर्वाचित भई हाल संघीय सरकारको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पीडितको पीडा भुल्न लागिसकेका छन् । मन्त्री बस्नेत भूकम्प प्रभावित जनताको पीडामा चार दिन जाजरकोट बसेर राजधानी फर्किए त्यसपछि पीडितका लागि के गरे भन्ने विषय पीडितले आवाज उठाइरहेका छन् ।

१७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ६२ हजार घर भत्काएपछि त्यहाँका स्थानीय अझै पनि त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको कठ्याग्रिँदो चिसोमा त्रिपालबाट चुहने शीतले बिरामी र सुत्केरीलाई समस्या हुँदै आएको छ । प्रधानमन्त्री राहतकोषमा १७ करोड रुपैयाँ थुप्रिएर बसेको छ तर, राज्य प्रक्रिया पु¥याउने एकद्वार प्रणाली लागू गर्ने नाममा नागरिकलाई दैनिक मर्न बाध्य बनाइरहेको छ ।

देशमा विपन्नका नाममा धेरै नारा लगाइँदै आएको छ । नाराको कमी छैन, जनताको नाममा ठुला सपना बाँड्ने राजनीतिक दलका नेताले भूकम्पपीडितको ज्यान जोगाउन सकिरहेका छैनन् । नेपाली जनताको गरिबी, अभाव र विपन्नता हटाउने र उनीहरूलाई न्याय र सेवा पु¥याउने काममा राजनीतिक दलको क्षमता र इच्छाशक्तिमा निरन्तर ओरालो लाग्दै गएको छ ।

विपद्का बेला पनि राहत र उद्धारकार्य प्रभावित गर्नेगरी राजनीतिक नेतामा देखिएको ‘प्रकोप पर्यटन’को भोक निकै उराठलाग्दो बनेको छ । सुरुमा प्रधानमन्त्री त्यसपछि राष्ट्रपति र नेताहरू प्रकोप पर्यटनमा व्यस्त भए । अहिले भने भूकम्पपीडितले पर्यटक नेतालाई देख्न पाएका छैनन् न राहत नै पुगेको छ ।

भूकम्प गएको एक महिना बित्न लाग्दासमेत जाजरकोटमा अझै पनि भूकम्पपीडितको विवरण अझै पनि संकलन भइनसकेको खबर छ । मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण संकलन भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे