मुलुक र जननेताको पूरक सम्बन्ध

राज्यसत्ता जननेताले सञ्चालन गरे जनताको हित र मुलुकको विकास हुन्छ । तर, समूह विशेषको नेता, स्वार्थी र स्वेच्छाचारी नेता, संकुचित मानसिकताका नेता तथा केवल दलीय नेताले नै राज्य सञ्चालन गरे व्यक्ति, समूह र दल विशेषकै हित र भलाइ हुन्छ । सर्वसाधारण नागरिकको हित र मुलुकको विकास हुँदैन । यो नितान्त राज्यसत्ता सम्बद्ध नेताको कार्यशैली र व्यवहारसँग सम्बन्धित टिप्णी हो । नेता त अनेकौं प्रकारका हुन्छन् । सामाजिक जीवनयापनका क्रममा मानिसले सञ्चालन गर्ने हरेक क्रियाकलाप र गतिविधि सम्बद्ध नेता अलगअलगै हुनसक्छन् । जस्तो मजदुर किसानको नेता, ठेकेदारको नेता, तस्करको नेता, लुटेराको नेता, गुन्डाको नेता, भ्रष्टाचारीको नेता, समाजसेवी नेता, अपराधीको नेता तथा व्यावसायीको नेता आदि । नेतामध्ये जिम्मेवारी र दायित्वका आधारमा सबैभन्दा उच्च, लोकप्रिय, सम्मानित एवं श्रेयस्कर नेता जननेता हो ।

जननेता नै आदर्श राजनेता मानिन्छ । जननेताले पेसा, व्यवसाय र सामाजिक गतिविधि सम्बद्ध अन्य सयौं नेतालाई नै व्यवस्थापन एवं नियन्त्रण गर्नसक्छ । नेतामा हुनुपर्ने आदर्श नमुना आफैं प्रदर्शित गर्छ । जननेताका निम्ति सर्वपक्षीय जनहित नै सर्वोपरी हुन्छ । जनताको हित र भलाइ तथा मुलुकको विकास जननेताको आधारभूत लक्ष्य हुन्छ । सिद्धान्ततः जनप्रतिनिधि छनोट गर्ने आधारभूत मान्यता नै यही हो । तर, विशिष्ट गुण एवं उदार मानसिकताकै दक्ष, योग्य र इमानदार व्यक्तिलाई नेता छान्ने जनमानसिकता नै पछिल्लो समयमा स्वार्थ र प्रभावका कारण विकृत बन्दै छ । यसैको परिणाम आदर्श जननेता नै विलिन हुनथालेका छन् । भएका सीमित जननेता सत्तामा पुग्न पाएका छैनन् । जननेतालाई छायामा पार्नुको तात्पर्य मुलुक र मुलुकवासीलाई नै छायामा राख्नु हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

सत्ता परिवर्तन हुँदा जनतामा उत्साह आउनुपर्छ । उत्साहको तात्पर्य वर्तमानभन्दा भावी सरकार मुलुक र मुलुकवासीको सेवामा सक्रिय बनोस् भन्ने जनविश्वास नै हो । तर, पछिल्लो समयमा हुने गरेको सत्ता परिवर्तन निराशाको कारण बन्ने गरेको छ । जनतालाई जागरूक गराउने, सत्तामा पुगे केही गर्छ भन्ने, जनसेवामा निरन्तर लागिपर्ने, उदार मानसिकताको दक्ष र इमानदार व्यक्तिको सट्टा जनताको नजरबाट गिरिसकेका केही स्वार्थी र अवसरवादी व्यक्ति नै पालोफेरोमा सत्तामा पुग्नेक्रम बराबर दोहरिरहेकाले सत्ता परिवर्तन अहिले निराशाको क्षण बन्दै आएको हो । जनहितलाई सर्वोपरी ठान्ने लोकप्रिय इमानदार व्यक्ति सत्तामा पुगे सत्ता परिवर्तनको औचित्य हुन्छ । आशा राखौं भावी सत्ता परिवर्तन आमनेपालीका निम्ति उत्साहजनक बनोस् । मुलुकले अहिले यस्तै उदारवादी जननेता खोज्दै छ भन्ने संकेत जनताले दिन थालेका छन् । यसको पछिल्लो दृष्टान्त दुर्गा प्रसाईको नेतृत्वमा गत ७ मंसिरमा काठमाडौंमा भएको विरोध कार्यक्रमलाई लिन सकिन्छ ।

दलीय नेताको गैरलोकतान्त्रिक कार्यशैली र व्यवहारबाट आमनागरिकहरू कति प्रताडित रहेछन् भन्ने कुरा ७ मंसिरमा दुर्गा प्रसाईको अगुवाइमा भएको जनसमूह गतिविधिले प्रमाणित गरिदिएको छ । परिवर्तनको मागसहित भएको आन्दोलन कार्यक्रममा क्रमशः सत्ता, शक्ति र दलीय नेताबाटै पीडित भएका सचेत सर्वसाधारण नागरिकको समूह विरोधमा उत्रियो । सो उपस्थितिले सशक्त प्रतिपक्षी दलकै भातृ गठनलाई मात्र होइन प्रभावशाली प्रतिपक्षी दल नेकपा एमालेलाई नै चुनौती दियो ।

विरोधका क्रममा व्यक्त भएको जनआवाजले मुलुकमा जननेता नभएको बतायो । जननेताको खोजीमा जनता जुटेको संकेत दियो । यति मात्र होइन मुलुक अहिले नकावधारी नेताले चलाइरहेको आभास दिलायो । यसक्रममा आन्दोलनले विद्यमान राष्ट्रिय राजनीतिको स्वरूप उजागर गरायो । नेताकै गैरलोकतान्त्रिक कार्यशैलीले लोकतन्त्रउपरकै प्रश्न उठायो । जुन स्वाभाविक हो । लोकतन्त्रले नागरिक हक अधिकारलाई सीमांकन गर्न सकेन । कुन हदसम्मको कार्य लोकतान्त्रिक ? कुन हद नाघेको कार्य गैरकलोकतान्त्रिक ? भन्ने सीमा सरकारको कार्य सम्पादन व्यवहारबाटै प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । यति मात्र होइन न त विधिसम्मत नै राज्य चलाइयो न नेताले नै विधिको कदर गरे । लोकतन्त्रको नाममा सत्ता सञ्चालकले स्वेच्छाचारी हुकुमीतन्त्र लाद्न थालेपछि त्यो आमनागरिकका निम्ति स्वीकार्य नहुनु स्वाभाविक हो । दलीय नेताको हुकुमीशैली नै अन्ततः अराजकताको कारक, अपराधको स्रोत, भ्रष्टाचारको जड, सार्वजनिक प्रशासनलाई दलीय प्रशासन बनाउने माध्यम तथा जनविश्वास ह्रास गर्ने साधनमा परिणत हुँदै आयो ।

प्रभावशाली मानिएका तीन–चार दलकै शीर्ष नेताले जनस्थापित लोकतान्त्रिक अधिकारलाई कुण्ठित गराउँदै ल्याए

वास्तवमा यो लोकतन्त्रको दोष होइन नेताको कार्यशैली र व्यवहारको दोष हो । व्यक्ति स्वयंको, परिवारका सदस्यको, नजिकका आफन्तको, समृद्धि विस्तारका निम्ति लोकतान्त्रिक सत्ता शक्तिको दुरूपयोग गर्ने अहमतावादी नेताकै दोष हो । व्यवस्था आफैंमा दोषी हुँदैन । सत्तालाई ‘लुटको धन फुपूको श्राद्ध’ ठान्ने स्वार्थी नेताका कारण लोकतन्त्रलाई हेर्ने जनदृष्टिकोण परिवर्तन भएको मात्र हो । जंगबहादुरले स्थापित गरेको जहाँनिया राणा शासन पनि उनीपछिकै उत्तराधिकारीको व्यवहार र कार्यशैलीले जनप्रतिकूल बनाएको थियो । राजा महेन्द्रले ल्याएको पञ्चायती व्यवस्था पनि आफैंमा गलत थिएन । सञ्चालककै कारण गलत सावित भयो । यही प्रवृत्ति २१औं शताब्दीको लोकतन्त्रमा देखिनु दुःखद हो ।

जननेताको अभाव हुनु हाम्रो राजनीतिक दुर्भाग्य हो । राणा शासनको अन्त्य गर्न लागिपर्ने बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र पछिका नेता मदन भण्डारी आदर्श जनेता थिए । यसमध्येका केहीको शासनकाल जनताले अनुभूति गर्न पाए, केही सत्तामा नपुग्दै अलप भए । त्यसपछि अहिलेसम्म धेरै दलीय नेताले सत्ता सम्हाले तर जननेताद्वारा राज्य सञ्चालित हुन पाएन । कुन नेता कस्तो हो भन्ने कुरा उसको नामले होइन, कार्यशैली र व्यवहारले नै बताउँछ । जननेताको विशेषता भएका उदाहरणीय व्यक्ति राजनीतिबाटै अलप भए पनि उनीहरूको कार्यशैली सहकर्मीले नै अनुसरण गरेनन् । अहिले त केन्द्रदेखि स्थानीय तहसम्म मात्र होइन हरेक गाउँ बस्तीमा नकावधारी स्वार्थी नेताको उदय भएको छ । तर, जननेताको उदय हुन सकेको छैन ।

हजरौं नेताबीच जननेताको उदय हुन नसक्नु तथा दलीय नेता जननेता बन्न नसक्नुको दोष कसको ? यसको दोषी राष्ट्रिय राजनीति नै हो वा नेता विशेष ? यो प्रश्न संवेदनशील छ । दलीय शीर्षस्थ नेतालाई जननेतामा परिणत हुन नदिने व्यक्ति स्वयंकै राजनीतिक व्यवहार र कार्यशैली’boutमा पनि संक्षिप्त चर्चा नगरिए यो आलेख अधुरो बन्नेछ । यसैले यस’boutमा पनि संक्षिप्त चर्चा गरौं ।

राष्ट्रिय राजनीतिलाई दूषित बनाउने प्रमुख कारक तत्व दलीय शीर्षस्थ नेताको स्वार्थ हो । लोकतन्त्रलाई स्वेच्छाचारी तन्त्र ठान्ने नेताको दृष्टिकोण हो । इच्छा लागेको जे पनि गर्न सकिन्छ, आफूलाई यस्तो गर्ने मेन्डेट जनमतले दिएको छ भन्ने ठान्ने अनुदार मानसिकताको हो । यस पृष्ठभूमिमा हुने हरेक गतिविधि र काम कार्य दल, आफन्त र निकटतम् व्यक्तिहरूकै हितमा केन्द्रित हुँदै आयो । सत्तामा रहँदाको काम कार्य यही प्रवृत्तिको हुँदा दलीय शीर्षस्थ नेताहरू नै दल र समूह विशेषका नेता मात्रै बने, राष्ट्रिय नेता बन्न सकेनन् । मुलुकको राजनीतिक वातावरण स्वच्छ, पारदर्शी तथा लोकप्रिय हुन राजनीतिक वातावरणले साथ दिनुपर्छ । विपन्नता र बेरोजगारी हाम्रो मुख्य सामाजिक चुनौती हो । खानाकै समस्या हुनेलाई एकै छाक पेटभर खान दियो भने उसले दातालाई कहिल्यै बिर्संदैन । नेताको स्वार्थपूर्ण व्यवहार र कार्यशैली त अहिले विपन्न नागरिकका लागि ललिपप बनेको छ ।

हाम्रो राजनीति सेवाबाट आर्जनको पेसामा परिणत भएको दशक बितिसकेको छ । राजनीतिमा लाग्दा शीर्षस्थ नेताको आशीर्वाद पाइने, छोटो समयमै सम्भ्रान्त बन्न सकिने, नेताकै चाकडी गर्दा चाहना पूरा हुने, मानसम्मान पनि पाइने, कडा परिश्रम गर्नै नपर्ने, जनतालाई भ्रमित बनाउन पाइने, पद र प्रतिष्ठा बढ्ने, राजनीतिक छहारीभित्रै आपराधिक कार्य गर्न सकिने, कानुनको दायरामा पर्नु नपर्ने, तथा बजेट दुरूपयोग गरेर लाभान्वित बन्न सकिने, दण्ड सजायबाट उन्मुक्ति मिल्ने मानसिकताले राजनीतिमा लाग्नेक्रम बढिरहेको छ । उद्योगपति र धनाढ्य व्यक्ति नै आर्थिक अपराधबाट मुक्ति पाउन राजनीतिमा लाग्दै आएका छन् । सम्भ्रान्त व्यक्तिले नै विपन्नलाई सहयोग पु¥याउन सक्छन् । मक्ख बनाएर जनमत खरिद गरेरै भए पनि सत्तामा पुग्छन् । धनाढ्य व्यक्ति त अहिले राजनीतिक व्यक्तिको दुहुनो गाई बन्दै आएका छन् ।

यसविपरीत सिद्धान्तको राजनीति गर्ने दक्ष र इमानदार व्यक्तिले फजुल खर्च गर्दैन, न त जनमत नै खरिद गर्नसक्छ । यसैको परिणाम ऊ सधैं पछि परिरहन्छ । अहिलेका दलीय शीर्षस्थ नेताले यही पृष्ठभूमिमा निर्वाचन क्षेत्र विशेषलाई राजनीतिक अखडा बनाएका हुन् । यस्तो प्रवृत्तिका नेता मुलुकको शीर्षस्थ नेता हुँदैनन्, न त जननेता नै हुन्छन् । मुलुकले जननेता खोजी गरिरहेको छ भन्ने आभास दुर्गा प्रसाईको ७ मंसिरको आन्दोलनले दिलाएको छ । अहिलेका दलीय शीर्षस्थ नेताले यसलाई गम्भीर रूपमा लिएनन् भने अहिलेको यही विरोधी गतिविधि उनीहरूकै विनासको कारण बन्नसक्छ । किनकि, आगाको सानो झिल्कोले नै घनाजंगल क्षणभरमै सखाप पार्छ । कोठे छलफल र परामर्शबाट प्रारम्भ भएको राणाविरोधी गतिविधिले करिब एकै दशकमा राणाहरूको जहाँनिया शासन ढाल्यो । नेकपा माओवादीले भूमिगत रूपबाटै प्रारम्भ गरेको आन्दोलनले १० वर्षमै मुलुकमा राजनीतिक परिवर्तन गरायो । यसको तुलनामा प्रारम्भमै राज्य शक्तिलाई खुलेयाम रूपमै चुनौती दिने दुर्गा प्रसाईको अभियानलाई राज्य सत्ताले सामान्य ठान्नुहुँदैन ।

स्तम्भकारको बुझाइमा दुर्गा प्रसाईको यो अभियान, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ भनिएको भए पनि यो सत्ता एवं व्यवस्था परिवर्तनभन्दा राजनीतिक संस्कार, व्यवहार, कार्यशैली र प्रवृत्ति परिवर्तनका लागि हो भन्ने लागेको छ । नेताको राजनीतिक व्यवहार र कार्यशैली मात्रै सुध्रिए वा लोकप्रिय भए दुर्गा प्रसाईले उठाएको हिन्दू राज्य कायम, राजसंस्था पुनस्र्थापना, संघीयता खारेज, आर्थिक विकृतिको अन्त्यजस्ता अन्य सबै मुद्दा क्रमशः समाधान हुँदै जानेछन् । यसका निम्ति केन्द्रदेखि स्थानीय तहसममकै राजनीतिक विकृति निर्मूल हुन जरुरी छ । यसको थालनी पनि दलीय शीर्षस्थ नेताबाटै हुनुपर्छ ।

नेतापीडित, समाजको सबै क्षेत्र र समूहका प्रवुद्धदेखि सर्वसाधारण नागरिकसम्मले छोटो समयमै दुर्गा प्रसाईलाई साथ दिएको अवस्थाले आन्दोलन चुनौतीपूर्ण बन्ने संकेत गर्छ । नेपाली जनता अहिले नेतापीडित बन्दै आएका छन् । नेताको फोस्रो आश्वासनले आजित भएका छन् । महँगीको मारमा परेका छन् । नेताबाटै शोषित बन्दै आएका छन् । मातृभूमि छोड्न बाध्य बनाइएका छन्, तथापि स्वेच्छाचारी नेताविरूद्ध जनता बोल्न सकेका थिएनन् । यस्तै उकुसमुकुस अवस्थाका जनताको सामूहिक आवाज दुर्गा प्रसाईले व्यक्त गरेका हुन् । शान्तपूर्ण विरोध गर्ने अधिकार जनतालाई उनीहरूले नै स्थापित गरेको लोकतन्त्रले दिएको हो । तर, जनस्थापित लोकतान्त्रिक अधिकारलाई प्रभावशाली मानिएका तीन–चारवटा दलकै शीर्षस्थ नेताले कुण्ठित गराउँदै ल्याए ।

यसर्थ, जनआवाजलाई सत्ताले अन्यथा ठान्नुहुँदैन । व्यवस्था र प्रवृत्ति अपरिवर्तनीय हुँदैन । जनता एकत्रित भए अकल्पनीय परिवर्तन ल्याउन सक्छन् । परिवर्तनकारी स्वच्छ छविकै धेरै राजनेताले नै अभियानलाई साथ दिएका छन्, जुन सकारात्मक हो ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी