काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आउँदो जेठमा हुने भएको छ । ३ देखि ७ जेठ २०८१ सालमा महाधिवेशन गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ ।
सोमबार र मंगलबार दुई दिनसम्म बसेको सचिवालय बैठकले आउँदो जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि एकीकृत समाजवादीले १४–१८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकका विस्तृत छलफल गर्दै महाधिवेशन मिति तय भएको बताए । माघमै राष्ट्रिय सभाको निर्वाचन, जाजरकोटमा भूकम्पलगायतका विभिन्न कारणले तयारी नपुगेकाले महाधिवेशन मिति जेठमा तय गरिएको उनले बताए ।
बैठकले महाधिवेशन अघि १४ र १५ माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि २८ र २९ मंसिरमा सचिवालय बैठक, ९ पुसमा स्थायी कमिटीको बैठक, १० पुसमा पोलिटब्युरो कमिटीको बैठक तथा ११ र १२ पुसमा केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।
यस्तै, बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताको जिम्मेवारी हेरफेर, कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्ने विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ । पछिल्लो केन्द्रीय कमिटीको बैठकपश्चात् जारी अपानीका कारण पार्टीभित्र नेताको असन्तुष्टि रहँदै आएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खतिवडाले केपी ओलीकै कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको बताए । ‘यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको, राजनीति, यहाँको स्थिरता खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ,’ प्रवक्ता खतिवडाले भने ।
ओलीले झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा नेकपा एकीकृत समाजवादीप्रति गरेको कटाक्षका सन्दर्भमा जवाफ दिँदै उनले त्यसबाट आफ्नो पार्टी नसकिने बताए । ‘आफ्ना गल्तीहरू ढाकछोप गर्नका निम्ति नेकपा एकीकृत समाजवादीलाई जति धेरैसम्म उहाँले गाली र श्राप गर्न सक्नुहुन्छ, गर्नुभए हुन्छ । गाली, आलोचना, श्रापले नेकपा एकीकृत समाजवादी सकिँदैन । बरु यहाँकै व्यक्तित्व समाप्त हुँदै जान्छ भन्ने हामीलाई लाग्छ,’ उनले भने ।






