काठमाडौं । ‘११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३’ शनिबारबाट सुरु हुने भएको छ । बिहिबार पत्रकार भेटघाट आयोजना गर्दै आयोजक पक्षले सो महोत्सबको तयारी पुरा भएको जनाएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनाले यो महोत्सब आयोजना गर्न लागेको हो । महोत्सब २३ मंसिरबाट २६ मंसिरसम्म काठमाडौंका प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजना हुने महोत्सब निर्देशक पाण्डब खत्रीले जनाएका छन् ।
यो महोत्सबमा विभिन्न २६ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिने आयोजक पक्षले जनाएको छ । निर्देशक खत्रीको अनुसार महोत्सवको उद्घाटन समारोहमा वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिने भएको छ ।यो चलचित्रलाई सुभांगी खड्काले बनाएकी हुन् ।
‘विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरु महोत्सवका लागि छानिएका छिन् । तिनै सिनेमाहरु महोत्सबमा प्रदर्शन हुने छन् ।’ महोत्सव निर्देशक पाण्डव खत्रीले भने । मानव अधिकारका विषयमा निर्माण भएका फिचर÷सर्ट फिल्म तथा वृत्तचित्रहरु मात्र महोत्सवमा प्रदर्शन गरिने पनि उनले बताए ।
खत्रीका अनुसार महोत्सवले नेपाली फिल्म र फिल्मकर्मीलाई ‘एक्सपोजर’को अवसरसँगै मानव अधिकारको विषयलाई सशक्त बनाउने कार्य पनि गर्नेछ । उनका अनुसार, यस वर्ष महोत्सवका लागि ८७ देशबाट ९ सय ज्यादा फिल्मको आवेदन परेको थियो ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । जुरीबाट छानिएका उत्कृष्ट पाँच फिल्महरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित महोत्सवमा पुरस्कार प्रदान गरिनेछ भने एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवमा फिल्म प्रदर्शनका साथै फिल्मकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस पनि हुनेछ ।






