हरवा चरवा आन्दोलित

राजविराज । पुस्तौदेखि अरुको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सप्तरीका हरवा चरवाहरुले विभिन्न पाँच बुंदे माँग अघि सार्दै आईतवार राजविराजमा प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर जिल्ला हरवा चरवा अधिकार मञ्चको अगुवाइमा प्रर्दशन तथा ज्ञापन पत्र बुझाइएको हो ।

मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाइएको ज्ञापन पत्रमा हरवा चरवाको लगत, प्रमाणिकरण र परिचय पत्र वितरण प्रकृया अविलम्ब थालनी गर्न, सरकारद्वारा बजेट तय गरिएको हरवा चरवा लक्षित कार्यक्रममा हरवा चरवाको पहुँचको सुनिश्चितता गर्न तथा हरवा चरवाको यकिन तथ्याङ्कको आधारमा भुमि, आवास, शिक्षा, सिप, विकास र स्वास्थ्यमा पहुँचको वातावरण सुनिश्चित गर्न माँग गरिएको छ ।

यस्तै प्रदेश र स्थानीयतहबाट संंचालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवा चरवालाई प्राथमिक्ता र विगतमा हरवा चरवा संग सरकारद्वारा गरिएको सहमती प्रभावकारी कार्यान्वयनको समेत ज्ञापन पत्र मार्फत माँग गरिएको छ ।

ज्ञापन पत्र बुझाउनु अघि आइतवार नै गरिएको पत्रकार सम्मेलनमा हरवा चरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवा चरवा लक्षित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि वास्तविक हरवा चरवाको पहिचान, लगत, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य अविलम्ब सूरु गर्न माँग गरे ।

पत्रकार सम्मेलनमा हरवा चरवा मञ्चका केन्द्रीय महासचिव लागेन्द्र राम, केन्द्रीय सदस्य सुमित्रा देवी खंग, श्रीर्पुराज सामुदायीक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरी, टीम लिडर विनोदानन्द चौधरी, दलित चेतना संगमका अध्यक्ष राम लखन राम, कार्यक्रम संयोजक प्रेम कुमार विश्वकर्मा लगायतले पनि बोल्दै हरवा चरवालाई थातथलो सहित उत्थान र स्वरोजगारको व्यवस्था गर्न सरकार संग माग गरे ।

हरवा चरवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागी बास्तबिक हरवा चरवाको पहिचान आवश्यक रहेकोमा जोड दिदै उनीहरुले यसो नभए लक्षित कार्यक्रममा हरवा चरवाको पहुँच नहुने र टाठाबाठाहरुले मात्र लाभ लिन सक्ने अवस्था आउने समेत जनाएका छन् ।

सन २०१३ मा आइएलओले गरेको अध्ययन अनुसार मुलुकका विभिन्न जिल्लामा गरी झण्डै १ लाख ५० हजार हरवा चरवा रहेका छन् । साहु महाजनको खेतवारीमा काम गर्ने र वस्तुभाऊ चराएपछि पाईने न्यून मजदुरीले आफुसहित जहान वालबच्चालाई एक पेट खुवाउन समेत कस्ट झेलिरहेको हरवा चरवाको भनाई छ ।

उठीवास हुने अवस्था तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पुर्ण ऋण खारेज, श्रम अनुसारको ज्याला निर्धारण, सुरक्षित वास र परिवार जनसंंख्याका आधारमा जग्गा सहित पुनः स्थापित गराईनु पर्ने माँग उनीहरुले गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)