डडेल्धुरा मेडिकल कलेजमा स्वास्थ्य समितिको अनुगमन

डडेल्धुरा । अध्यापन अनुमति पाएर कक्षा सञ्चालनको तयारीमा जुटेको डडेल्धुरा मेडिकल कलेजमा छ जना सांसदसहितको टोली पुगेको छ । छ जना सांसद सम्मिलित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेज पुगेर अनुगमन गरेको ।

समितिका सभापति प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीको नेतृत्वमा सांसद अरुणकुमारी चौधरी, दिपा शर्मा, बद्री पाण्डे, विनिताकुमारी सिंह, ज्ञानु बस्नेत लगायतको टोलीले डडेल्धुरा मेडिकल कलेजको अनुगमन गरेको हो । अनुगमनमा उपसचिव पुष्पप्रकाश खनाल, प्रदेशसभा सदस्य ताराप्रसाद जोशी, अमरगढी नगरपालिका मेयर डिल्लीराज जोशी र उपमेयर पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र डडेल्धुरा अस्पतालका निमित्त मेसु नविनकुमार खड्काको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा समितिले हाल भौतिक संरचना निर्माणको प्रगति र कक्षा सञ्चालनका लागि भइरहेको तयारीका विषयमा जानकारी लिएको अस्पतालका निमित्त मेसु खड्काले जानकारी दिए । उनका अनुसार समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डडेल्धुरा अस्पतालका पदाधिकारीसँग पनि छलफल पनि गरेको थियो ।

डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमित पाएसंगै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाइसकेको छ । चिकित्सा शिक्षा आयोगले डडेल्धुरा मेडिकल कलेजका लागि १० जनाको कोटा निर्धारण गरेकोमा सात जना छात्रवृत्तिमा अध्ययनका लागि छनोट गरेको छ । उनिहरुको नाम नै सार्वजनिक गरेर सुदूरपश्चिम विश्वविद्यालयमा भर्ना हुन आग्रह पनि गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार बाँकी तीन जना भने शुल्क तिरेर अध्ययन गर्न पाउने भएका छन् । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढाएकोमा चिकित्सा शिक्षा आयोगले असोज दोस्रो साता कक्षा सञ्चालनका लागि अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीका स्तरीय होटल राति १२ बजेसम्म सञ्चालन गर्न पाइने