जंगलमा बस्ने मांसहारी जनावरमा सबैभन्दा शक्तिशाली जनावर सिंहलाई मानिन्छ । सिंह बथानमा बस्छ । सिंहले मासु आहार मात्र गर्दैन, बरू निश्चित जंगली चरनभरि शासन पनि गरिहेको हुन्छ ।
सिंहको एक बथान रहेको जंगलमा अर्को बथान सिंह रहन सक्दैन । यसको अर्थ हो सो जंगलमा उनीहरूको शासन हुन्छ । त्यसैले पनि आमजनतामा कहावत रहेको हुन्छ, ‘एउटा जंगलमा दुईवटा बाघ र एउटा म्यानमा दुई तरबार रहन सक्दैन ।’
बथानमा रहने प्राणी भएकाले सिंहको परिवारमा भने यो कुरा अपवाद भएको पनि देखिन्छ । सिंहको एक परिवारमा ३ या ४ वटासम्म शेर रहेको र ५ देखि १० वटासम्म पोथी सिंह रहेको पाइन्छ । सिंहको डमरूसहित यो संख्या कहिलेकाहीं धेरै पनि देख्न सकिन्छ । बथानमा एउटा सिंह नाइकेका रूपमा शासन गरिरहेको हुन्छ ।
यसको गर्जन अनौठो र डरलाग्दो हुन्छ । आफंैमा शक्तिशाली जनावर मानिने सिंहको गर्जन पनि उत्तिकै शक्तिशाली हुन्छ । सिंहले आप्mनो गर्जनबाट आफूले राज गरिरहेको क्षेत्रको सिमाना कायम गरिराख्छ । सिंहको यस्तो शाक्तिशाली आवाज १० किलोमिटर वरिपरि क्षेत्रको इलाकासम्म कायम रहन्छ । यो सिमाना कायम गर्न नसक्दाको दिन सो सिंह नाइके हुन सक्दैन ।
त्यसो त सिंह आप्mनो बथान लिएर आफूले राज गरेको इलाकाको सिमानामा गोलाकारमा चक्कर मारिरहन्छ । त्यतिबेला अरू सिंह आफ्नो सीमा इलाकामा घुसेको छ कि छैन भनी निकै गहिरो खोज र अनुसन्धान गर्छन् । घुसेको थाह पाएमा खोजी खोजी मार्ने वा लखेट्ने गर्दछन् । निश्चित परिधिभित्र एकछत्र राज गर्नु र आफ्नो बथानको रक्षा गर्नु नाइके सिंहको कर्तव्य हुन्छ ।
सिंह जति शक्तिशाली देखिन्छ, यसका चुनौती पनि ठुलाठुला र घातक हुन्छन् । नाइके सिंहले आन्तरिक बाह्य चुनौती सामना गर्नु परिरहन्छ । बेलाबेलामा सामना गरिने यस्ता चुनौती नाइके सिंहका लागि अग्निपरीक्षासरह हुन्छन् । यी परीक्षामा नाइके सिंह विफल भएमा उसलले बाँकी जीवनभर एक्लो भएर बाँच्नुपर्छ ।
आन्तरिक रूपमा बथानमा रहेका वयस्क सिंहबाट नाइके सिंहमाथि चुनौती खडा भइरहन्छ । वयस्क सिंह आफू नाइके हुने इच्छा प्रकट गर्दा नाइके सिंहसँग जितहार नहुँदासम्म अनगिन्ती जीवनमरणको लडाइँ गरिरहन्छन् । त्यसैगरी, बेलाबेलामा बाह्य रूपमा बलशाली अन्य नाइके सिंह कुनै बथानमा पसी त्यहाँको नाइके सिंहलाई जीवन–मरणको लडाइँ गर्न चुनौती दिइरहन्छ ।
यो लडाइँमा हारखाने सिंहले सो बथान सदाका लागि छोड्नुपर्छ । यति मात्र होइन, घाइते भएर जीवन बिताउनु र मर्नु पनि पर्छ । कहिलेकाहीं एकल भालेसिंह जंगलमा विचरण गरिरहेको दृष्टान्त यति बेलाको हो । पोथी सिंह भने विरलै एकल अवस्थामा पाइने वा भेटिने गर्दछन् । भाले सिंहजस्तो डरलाग्दो चुनौती उनीहरूले बेहोर्नु पर्दैन ।
अपवादमा कुनै निश्चित समयसम्म एक बथानमा दुई या तीनवटासम्म भाले सिंहले संयुक्तरूपमा शासन गरिरहेको पनि देख्न सकिन्छ । तर, पोथी सिंहको मुख्य काम सिकार गर्नु र डमरु हुर्काउनु नै रहने गर्दछ । भाले सिंहले विरलै सिकार गरेको देखिन्छ । यी प्रायः पोथी सिंहले गरेको सिकार नै खान्छन् ।
पशुविद् तथा अनुसन्धानकर्ताका अनुसार सिंहको बथानमा वंशज हाडनाता बर्जित हुन्छ भनिन्छ । वा, हाडनाता करणी जोगिएको हुन्छ । उनीहरूका अनुसार सिंहको बथानमा जब भाले डमरु वयस्क हुन थाल्छन्, तब नाइके सिंहले यिनीहरूलाई आफ्ना प्रतिद्वन्द्वीका रूपमा देख्न थाल्ने भएकाले या त यिनलाई मार्छ वा यिनीहरू ज्यान जोगाएर अन्य बथानमा प्रवेश गर्छन् । पोथी सिंहले यी वयस्क डमरुलाई नाइकेबाट मार्न बचाएर अन्य बथानमा जान प्रेरित गरिरहेका हुन्छन् ।
अन्य बथानमा यी वयस्क डमरु पुगेर त्यहाँको नाइके सिंहसँग आत्मसमपर्पण गरी बसेमा त्यो नाइके सिंहले यिनलाई शरण प्रदान गर्दछ । सिंहको बथानमा चल्दै आएको यो अनौठो प्रवृत्ति हो । पोथी सिंह भने बाहिरबाट आएका यस्ता वयस्क सिंहप्रति त्यति आक्रामक हुँदैनन् । त्यसैले पनि भिन्न परिवार सदस्यबीच छोटो समयमै घुलमिल हुन जान्छ र एकै परिवार भएर बस्न थालिहाल्छ ।






